२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशमायादेवीमा खोप लगाउनु पूर्व स्वास्थ्य जाँच अनिवार्य

मायादेवीमा खोप लगाउनु पूर्व स्वास्थ्य जाँच अनिवार्य


बुटवल-रुपन्देहीको मायादेवी गाउँपालिकाले खोप लगाउनुपूर्व स्वास्थ्य जाँच गर्ने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले खोप लगाउन आउने बालवालिकाको स्वास्थ्य परिक्षण गरेर मात्र खोप लगाउने गरी निर्देशिका बनाएको हो ।

गाउँपालिकामा रहेका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीलाई खोप लगाउनु पूर्व बालवालिकाको स्वास्थ्य परिक्षण अनिवार्य गर्ने गरी प्रशिक्षणात्मक तालिमसमेत प्रदान गरिसकेको छ । ‘तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले बालवालिकाहरुलाई खोप लगाउनु पूर्व विभिन्न जाँचहरु गर्ने छन्,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले भने, ‘त्यसपछि मात्र खोप लागाउने छन् ।’

नेपाल सरकारले १५ महिना मुनीका बालवालिकालाई निःशुल्क रुपमा विभिन्न ११ प्रकारका रोग विरुद्धको खोप लगाउने प्रबन्ध गरेको छ । सोही अनुरुप विभिन्न स्वास्थ्य संस्थाहरुबाट खोप लगाइदै आएको छ । सरकारले १५ महिना मुनिका बालवालिकालाई क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टकार, हेपाटाईटिस बी, होम फिलोस ईन्फून्जा टाईव बी, पोलियो, दादुरा, रुवेला, जापानिज ईन्सेप्लाईटिस र निमोनिया रोग विरुद्ध खोप लगाउने व्यवस्था गरेको छ ।

गाउँपालिका भित्र आगामी पुसको दोस्रो हप्तादेखि खोप लगाउनुपूर्व स्वास्थ्य जाँच गर्ने कार्यको सुरुवात हुने आत्रेयले बताए । ‘अभियानले खोपका कारण बालवालिकाको मृत्यु भएको भनेर हामीलाई आरोप पनि आउने गरेको छ । त्यस्ता आरोप र गुनासाहरुको अन्त्य हुनेछ,’ उनले भने ।

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा खोप लगाउन आउने बालवालिकालाई उनीहरुको रोगको अवस्थाका बारेमा परीक्षण गरिनेछ । खोप लगाउनुपूर्व बालवालिकालाई ज्वरो आए नआएको, निमोनिया, पखाला, रक्तश्राव, तौल कुपोषणलगायतका बारेमा परिक्षण गरिनेछ ।
अभियानका क्रममा बालबालिकालाई मात्र होइन आमाको अवस्थाका बारेमा पनि परीक्षण गर्ने तयारी रहेको छ । आमालाई स्वास्थ्य शिक्षाका वारेमा जानकारी गराउने र बालबालिकाको हेरचाहका बारेमा पनि सचेत गराइने छ ।

मायादेवी गाउँपालिकामा १७ वटा खोप क्लिनिकमार्फत करिव १ हजार १ सय बालवालिकाहरुलाई खोप सेवा प्रदान गरिँदै आइएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ