२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सबै अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरिने, कोभिड खोप अभियानलाई प्रभावकारी बनाइने

सबै अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरिने, कोभिड खोप अभियानलाई प्रभावकारी बनाइने


विराटनगर—प्रदेश १ की नवनियुक्त सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश मातहतका सबै अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने बताएकी छिन् । मन्त्री राईले सार्वजनिक गरेको प्रथामिकतामा प्रदेश सरकारले झापाको मेची अस्पताललाई २ सय शैय्याको अस्पतालमा स्तरोन्नती गरी प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने उल्लेख छ ।

मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि बुधबार पत्रकार सम्मेलनमा मन्त्री राईले मन्त्रालयका सबै कार्यक्षेत्रलाई समेटेर आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी हुन् । यस्तै, धनकुटा अस्पताललाई १ सय शैय्याको अस्पतालको रूपमा स्तरोन्नती गर्ने मन्त्रालयको योजना रहेको छ ।

यस्तै, विराटनगरमा रहेको कोशी कोभिड—१९ उपचार केन्द्रलाई पुनः संचानमा ल्याउने मन्त्री राईले जानकारी दिइन् । प्रदेशभित्रका विगतमा कोरोना उपचारमा संलग्न अस्पतालहरुलाई तयारी अवस्थामा राख्न मन्त्री राईले निर्देशन दिएकी छिन् ।

‘एक स्थानीय तह, एक अस्पताल’को अवधारणाअनुसार प्रदेश १ भित्र ४५ वटा १५ वेडको अस्पताल शिलान्यास भएर निर्माणको क्रममा रहेकोले स्तरोन्नती गर्न समन्वय र सहकार्यमा प्रदेश सरकारले पहल गर्ने भएको छ । महिलाहरुमा देखिने प्रजनन स्वास्थ्य समस्या आङ खस्ने, पाठेघरको क्यान्सर, स्तन क्यान्सरको रोगथाम तथा निःशुल्क उपचारको व्यवस्थालाई सहज बनाउने मन्त्रालयको योजना रहेको छ ।

संघीय सरकारबाट प्राप्त कोभिड—१९ को खोप प्राथामिकताको आधारमा लगाउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । मेडिकल शिक्षालाई सर्वसुलभ बनाउन नेपाल सरकारसँग समन्वय गरेर आवश्यक नीति तथा कार्यक्रम बनाएर लागु गरिने मन्त्री राईले बताइन् । संघीय सरकारको ‘एक प्रदेश, एक मेडिकल कलेज’को अवधारणअनुसार प्रदेश १ स्तरीय मेडिकल कलेज सम्भाव्यता अध्ययन गरी कार्यक्रम लागु गरिने प्रदेश सरकारको लक्ष्य रहेको छ ।

हरेक अस्पतालहरुमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन र समग्र सरसफाइलाई प्राथामिकतामा राख्ने मन्त्री राईले बताइन् । यस्तै, स्वास्थ्य बिमा कार्यक्रमले नसमेटेका र पैसाको अभावमा उपचार गर्न नसक्ने गरिब जनतालाई उपचारको व्यवस्था मिलाउन आवश्यक कार्यविधि र मापदण्ड बनाइ लागु गर्ने मन्त्रालयको योजना छ ।

यस्तै जनस्वास्थ्यलाई दुरगामी असर पार्ने बाह्य वायु प्रदूषण, घरभित्रको वायु प्रदूषण र पेशागत स्वास्थ्यलाई प्राथामिकतामा राख्दै कार्यक्रमहरु संचालन गरिनेछ । दिगो विकास लक्ष्य निर्धारण गरेका स्वास्थ्यका सूचकहरु प्राप्त गर्न समुदायबाटै स्वास्थ्य सेवाको माग वृद्धि गर्दै उपयोगिता बढाउन स्वास्थ्य साक्षरता संचालन गरिनेछ ।

यसैगरी, ‘विद्यालय नर्सिङ सेवा कार्यक्रम’ १४५ विद्यालयहरुमा लागु भइसकेको छ । आगामी वर्षमा यो कार्यक्रम प्राथमिकताको आधारमा थप माध्यमिक विद्यालयहरुको छनोट गरी विस्तार गर्दै लगिने मन्त्री राईले बताइन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ