२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा ‘फिजिसियन स्याम्पल’ औषधीको चरम दुरूपयोग, ४६ कार्टुन औषधीसहित फार्मेसी संचालक पक्राउ

विराटनगरमा ‘फिजिसियन स्याम्पल’ औषधीको चरम दुरूपयोग, ४६ कार्टुन औषधीसहित फार्मेसी संचालक पक्राउ


विराटनगर – प्रदेश १ को रजाधानी विराटनगरमा रहेका केही फार्मेसी संचालकले चिकित्सकलाई स्याम्पलको रूपमा दिने ‘फिजिसियन स्याम्पल’ औषधीको अनुचित रूपमा दुरूपयोग गर्ने गरेको पाइएको छ ।

विराटनगर – १५ भट्टीचौकमा रहेको जनता मेडिकल स्टोरका संचालक ३५ वर्षीय रवि कुमार रजकले फिजिसियन स्याम्पल औषधीको चरम दुरूपयोग गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङ र औषधी व्यवस्था विभाग विराटनगरले संयुक्त रूपमा छापा हानेर रजकको घरमा भण्डारण गरिएको ४६ कार्टुन औषधी र लेबल आइतबार बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको छ । रजकको घरभित्र तीनवटा कोठामा भण्डारण गरिएको फिजिसियन स्याम्पल औषधी र विभिन्न कम्पनीको लेबल पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले मुटुसम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, इन्जेक्सन, बच्चाको कफसम्बन्धि औषधी र स्यानिटाइजरलगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरी राखिएको अवस्थामा बरामद गरेको हो । औषधी उत्पादन गर्ने कम्पनीले एमआरमार्फत फिजिसियन औषधी स्याम्पलको रूपमा चिकित्सकहरूलाई दिने गर्दछ ।

तर, फार्मेसी संचालक रजकले ठूलो परिमाणमा अनुचित रूपमा फिजिसियन औषधी संचय गरेर राखेको पाइएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए । ‘रजकको घरदेखि बरामद गरिएको औषधीको बिलबिजक पनि छैन । यसरी ठूलो परिमाणमा बिलबिजक बिना फिजिसियन औषधी संचय गरेर राखिनु गैरकानुनी हो,’ विभागका प्रमुख कट्टेलले भने ।

पक्राउ परेका रजकको विराटनगरमा थुप्रै फार्मेसीहरू छन् । फार्मेसीमार्फत फिसिजियन स्याम्पल औषधी नयाँ लेबल टाँस गरेर बिक्री वितरण गर्ने गरेको सूचना मोरङ प्रहरीमा पुगेपछि छापा मारेको हो । प्रहरीले सुरूमा जितु मेडिको र शिव मेडिकोमा छापा हानेको थियो । फार्मेसीमा उक्त औषधी फेला नपरेपछि घरमा छापा हानेर बरामद गरेको हो ।

प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट पक्राउ परेका रजकले फिजिसयन स्याम्पल औषधीमा अर्को कम्पनीको लेबल राखेर पनि बिक्री वितरण गर्ने गरेको खुलेको छ । ‘रजकको घरदेखि फिजिसियन स्याम्पल औषधीदेखि विभिन्न कम्पनीको स्टीगर र लेबल पनि बरामद भएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘यसरी अनुचित रूपमा औषधीको संचय गरेर राख्नुको विषयमा हामीले गहन अनुसन्धान सुरू गरेका छौं ।’

प्रहरीले रजकको घरदेखि पाँच कार्टुन स्टीगर र लेबल पनि बरामद गरेको छ । यसरी स्टीगर र लेबल राख्नुले अन्य कुनै कम्पनीको औषधीमा नयाँ लेबल राखेर औषधी विक्री वितरण गरेको हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धानको अगाडि बढाएको छ । ‘यतिका परिमाणमा लेबल पनि बरामद हुनुले फार्मेसी संचालक रजकले अन्य कुनै महंगो औषधीमा नयाँ लेबल टास गरेर मुनाफा आर्जन गर्न बिक्री वितरण पनि गरेको हुन सक्दछ । हामी सबै कोणदेखि अनुसन्धानको दायरालाई फराकिलो बनाएका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

प्रहरीले रजकको घरबाट विभिन्न बैंकको १ सय ७० वटा एटीएम पनि बरामद गरेको छ । पक्राउ परेका रजकलाई प्रहरी र औषधी व्यवस्था विभागले छुट्टा–छुट्टै मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीले रजकलाई कालोबजारी, केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान गर्ने एसपी खड्काले जानकारी दिए । विभागले पनि औषधीको अनुचित प्रयोग गरेको भन्दै औषधी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको बुझिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ