२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १खुट्टा भाँचिएको बिरामीको मृत्यु भएपछि गोल्डेन अस्पताल तनावग्रस्त

खुट्टा भाँचिएको बिरामीको मृत्यु भएपछि गोल्डेन अस्पताल तनावग्रस्त


विराटनगर – दुर्घटनामा परी देब्रे खुट्टा बाचिएको एक बिरामीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । विराटनगर ७ मिलन चोकका ५२  वर्षीय जनक सिंह बस्नेतको बिहीबार ७ बजे मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।

बिहीबार दिउँसो १ बजेतिर मिलन चोकबाट पैदल हिँडेर घर जाँदै गरेका बस्नेतलाई ना ७ छ ३१३ नं. को ग्याँस बोक्ने कन्टेनरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका बस्नेतलाई उपचारका लागि गोल्डेन अस्पतालको आकस्मिक कक्षमा राखियोे । पछि थप उपचारको लागि आईसियूमा भर्ना गरियो ।

दिउँसो सामान्य अवस्था रहेपनि साँझ सिकिस्त भएकाले अस्पतालले तत्काल रगत लिएर आउन भनेको र रगत लिएर आइपुगदा मृत्यु भइसकेको चिकित्सकले बताएको मृतकका दाजु पुष्पराज बस्नेतले जानकारी दिए ।

‘दिउँसोसम्म राम्रो भएको र चिकित्सकले हप्तादेखि १० दिनभित्रमा विरामीलाई डिस्चार्ज दिने भनेको थियो । बिहीबार साझतिर एक्कासी मलाई दुई पाउन्ट रगत आवश्यक प¥यो भनेर जानकारी आएपछि मैले रगत बोकेर अस्पताल पुग्दा विरामीको मृत्यु भएको जानकारी आयो,’ मृतकका दाजु बस्नेतले भने, ‘दिउँसोसम्म ठिक भएको भाइको साझतिर मृत्यु भयो भन्दा पत्याउन गाह्रो भयो ।’

उनले हस्पिटल र चिकित्सकको लापरवाहीले भाइको मृत्यु भएको आरोप लगाए । ‘अहिले रगत समयमै ल्याउन नसक्दा बिरामीको मृत्यु भएको भनिएको छ। दिउँसो दुर्घटना हुने बित्तिकै हामीलाई चिकित्सकले केही भनेनन् ,’ उनले भने, ‘बेलैमा रगतको व्यवस्था गर्नु भनेको भए हामीले रगतको जोहो गर्ने थियौं । यो सरासर अस्पताल र चिकित्सकको लापरवाहीले भाइको मत्यु भयो ।’

उनले भाइको दुर्घटनामा परेर देब्रे खुट्टा भाँचिएको र हातमा थोरै चोट लागेकाले सँझसम्म अवस्था सामान्य रहेपनि अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘दिउँसो एक्सिडेन्ट भएपनि मैले नै अस्पताल लगेर एडमिट गरेको हुँ । अस्पताल पुर्याएपछि डाक्टरले देब्रे खुट्टा भाँचिएको छ, एडमिट गर्नुपर्छ भनेर आईसियुमा राख्नुभयो ।’

बस्नेतले अस्पतालको लापरवाहीका कारण मृत्यु भएकाले उपचारमा लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कारवाही गरिनुपर्ने माग राखेका छन् । लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कारवाही नभएसम्म शव नलाग्ने पक्षमा बिरामीका आफन्त रहेका छन् । ‘उपचारमा लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कारवाहीको लागि स्थानीय प्रशासनले छानविन टोली गठन गरिनु पर्दछ,’ मृतकका दाजु पुष्पराजले भने ।

उनीहरूले भाइलाई ठक्कर दिने गाडीको साहु र अस्पताल प्रशासनको मिलेमतो गरेर मारेको गम्भिर आरोप पनि लगाएका छन । ‘त्यसैले यस घटनामा छानविन टोली गठन गरि छानविन हुनुपर्दछ,’ उनले भने ।

‘समयमै रगत नहुँदा बिरामी बचाउँन सकिएन’

यता, गोल्डेन अस्पतालका प्रशासकिय अधिकृत सन्तोष मेहताले दुर्घटना भएकोले बिरामीको रगत बढी नै खेर गएको र समयमै रगत पाउन नसक्दा बिरामीको मृत्यु भएको बताए ।

‘दुर्घटनामा गम्भिर चोट लागेका कारण बढी रगत गएको रहेछ,’उनले भने, ‘बिरामीका आफन्तले समयमै रगत उपलब्ध गराउन सक्नु भएको रहेनछ । त्यसैले रगत अभाव भएको कारण बिरामीलाई बचाउन सकिएन ।’

बिरामीको स्वास्थ्य उपचार अस्पतालका वरिष्ठ हाड्डी तथा नशा रोग विशेषज्ञ डा. शिव अधिकारीले गरेका थिए ।

तोडफोड हुन नदिन ठूलो संख्यामा प्रहरी

बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोडको प्रयास गरेका थिए ।  तनावग्रस्त बनेको अस्पताल तोडफोड हुन नदिन मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । मोरङ प्रहरीले वान टन ठूलो गाडी र तीन वटा प्रहरीको भेनमा प्रहरी परिचालन गरेको थियो ।

यसअघि गत साउन १८ गते मोरङको धनपालथान गाउँपालिका–६ का अमहद हुसेनको उपचारका क्रममा मृत्यु भएको थियो । हुसेनको उपचार गर्दा चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै कर्मचारीहरुलाई कुटपिटसमेत गरेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ