२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा स्वास्थ्यमा विचौलियाको बिगबिगी, नोबेल र कोशी अगाडिबाट १० जना पक्राउ

विराटनगरमा स्वास्थ्यमा विचौलियाको बिगबिगी, नोबेल र कोशी अगाडिबाट १० जना पक्राउ


विराटनगर—विराटनगरको दुई ठूला हस्पिटल अगाडिबाट १० जना स्वास्थ्य बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिबाट १० जना बिचौलियालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।

नोबेल अगाडिबाट ७ र कोशी अस्पताल अगाडिबाट ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । नोबेल अगाडिबाट पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समीर, सुजित यादव, युनि केयर फार्मेसीका रोशन गुप्ता, दाजुभाइ फार्मेसी अमित यादव, क्याटलाइसेस फार्मेसी मोहमद सिराद, एपी फर्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल रहेका छन् । नोबेल अगाडिबाट पक्राउ परेका सबै फार्मेसीमा काम गर्ने हुन् ।

यस्तै कोशी अस्पताल अगाडिबाट श्रीराम चौधरी, सुर्यनारायण यादव र मो. जली रहेको प्रहरीले जनाएको छ । उनीहरू कुन फार्मेसीमा काम गर्छन् भन्ने खुलेको छैन । ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाइने निजी क्लिनिक र अस्पतालमा बिरामी लैजाने गर्छन् । ‘उनीहरुले कमिसनको लोभमा बिरामीलाई अन्य अस्पताल र क्लिनिकमा लैजाने गरेका थिए,’ एसपी जिसीले भने, ‘पक्राउ परेकाहरूले अस्पताल अगाडि बसेर विभिन्न बहाना बनाएर आफू अनुकूलको अस्पतालमा पु¥याउने र औषधी किन्न पनि फार्मेसी लैजाने गरेको देखिएको छ ।’

प्रहरीले यसअघि पनि अस्पताल अगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाइ पक्राउ गरेको थियो । पक्राउ परेका राय र साह विराटनगरस्थित न्यूरो हस्पिटल अगाडिको ज्ञानु फार्मेसीमा काम गर्दैै आएका थिए । उनीहरूले ठूला अस्पताल आएका बिरामीलाई विभिन्न प्रलोभन देखाएर आफू अनुकूलको अस्पताल लैजाने गरेको प्रहरीले जनाएको छ ।

‘पक्राउ परेका बिचौलियाले अस्पताल आएका बिरामी र आफन्तलाई यो अस्पताल राम्रो छैन । यहाँ कोभिड फैलिएको छ । राम्रो चिकित्सक अन्यन्त्र रहेको भन्दै क्लिनिकमा लैजान खोज्दा प्रहरीले पक्राउ गरेको हो,’ मोरङ प्ररीका प्रवक्ता डिएपी दिपक श्रेष्ठले भने, ‘यो गिरोहले कति बिरामीलाई ठगी गरेर क्लिनिक र सेटिङ रहेका अस्पताल लग्ने रहेछ । अन्य थप विषय अनुसन्धानपछि प्रष्ट हुनेछ ।’

मंगलबार राती पक्राउ परेका १० जनालाई मोरङ प्रहरीले म्याद थप गर्न लैजाने तयारी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार प्रहरीले पक्राउ परेका १० जनालाई अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ ।

यता नोबल अगाडिका फार्मेसीहरूले औषधी पसलमा काम गर्नेहरूलाई के आरोपमा पक्राउ परेको प्रहरीले जानकारी नदिएको भन्दै विरोध जनाएका छन् । उनीहरू नोबेल बाहिर फार्मेसी र मोरङ प्रहरी कार्यालय बाहिर भेला भएर फार्मेसीमा काम गर्नेहरूलाई के कारणले पक्राउ गरेको प्रष्ट पार्न माग राखेका छन् ।

यता नोबल अगाडिको आरके क्यापिटल फार्मेसीका संचालक शम्भु मेहताले के कारणले पक्राउ गरेको अहिलेसम्म आफूहरुलाई प्रहरीले कुनै जानकारी नदिएको बताए । ‘पक्राउ गरेको विषयमा जानकारी लिन जाँदा पनि हामीलाई प्रहरीले भन्न मानेको छैन । मंगलबार राति सादा पोशाकमा एक्कासी प्रहरी आएर नोबेल अस्पताल अगाडि काम गरेर बसेका फार्मेसीका कर्मचारीलाई प्रहरीको गाडीमा हालेर लगियो,’ उनले भने, ‘अहिलेसम्म के गरेको विषयमा पक्राउ गरियो त्यो हामीलाई जानकारी दिएकै छैन ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ