२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य

कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य


विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले कोभिड-१९ रोकथाम र नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारी समक्ष बिहीबार दिउँसो सपथ लिएपछि संचारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलो प्राथामिकता के रहन्छ ? भनेर संचारकर्मीले सोधिएको प्रश्नमा उनले भने, ‘कोभिड १९ नियन्त्रण मेरो प्रथामिकता हो ।’ उनले महामारीको रूपमा फैलिएको कोभिड-१९ लाई रोकथाम र नियन्त्रणमा लागि पर्ने बताए ।

‘संक्रमणको तेस्रो लहर पनि आउन सक्ने सम्झवना विज्ञहरूले बताउँदै आएका छन्,’उनले भने, ‘ कोभिड रोकथाम र नियन्त्रणमा लागि पर्नेछु ।’ आचार्यलाई निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो । आचार्य दलको नेता चयन भएपछि राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ मुख्यमन्त्रीबाट आजै राजीनामा बुझाएका छन् ।

आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन् । बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाइ भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर, एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन । यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतर्फ गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् ।

प्रदेश संसदमा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १-१ जना सांसद छन् । यसअघि माओवादी केन्द्र संसदीय दलका नेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि उनी कारबाहीमा परेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ