२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उपचारको पर्खाइमा रहेकी बालिकालाई मनकारी डेजीले दिइन नयाँ जीवन

उपचारको पर्खाइमा रहेकी बालिकालाई मनकारी डेजीले दिइन नयाँ जीवन


विराटनगर – कार्तिक ७ गते विराटनगरकी मनकारी तरन्मुम अल्भी (डेजी) ससुरा बुबाको एमआरआइ गराउन न्यूरो अस्पतालमा पुगेकी थिइन् । उनले अस्पताल परिसरमा एक परिवार आर्थिक अवस्था नाजुक भएको कारण आफ्ना १० वर्षीया छोरीको उपचारका लागि सहयोगको पर्खाइमा भएको देखिन् ।

बिरामीको अवस्था देखेर डेजिको मन भतभत्ती पोल्यो र उनले श्रीमानसँग सल्लाह गरेर ती विपन्न परिवारमा रहेकी बालिकाको उपचार खर्च व्योहर्ने निर्णय लिइन् । डेजीले बालिका रूक्सार खातुनको उपचार खर्च व्योहर्ने जिम्मा लिएपछि उनको उपचारको प्रक्रिया अगाडी बढ्यो । भारतको अररिया मिर्जापुर घर भएकी खातुन अचानक बेहोस भएर लडेको कारणले उनको मस्तिष्क रगत जमेको थियो । त्यही भएर उनको मस्तिष्कको शल्यक्रिया गरिनुपर्ने थियो । उनको अवस्था नाजुक थियो ।

न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. याम बहादुर रोकाका अगाडी प्रश्न खडा भए पनि उनले जोखिम लिएर उपचार प्रक्रिया अगाडी बढाए । यसो हेरे, बिरामी १० वर्षको कलिलो उमेरकी । उनले सोचे्, ‘कसरी यतिकै छोड्नु ? मैले रिस्क लिए भने त एउटा जीवन जोगाउन सकिन्छ । रिस्क नै नलिए भने त निश्चित छ एउटा जीवन सकिन्छ ।’ उनले बिरामी पक्षलाई बिरामीको अवस्थाका बारेमा ब्रिफिङ गरेपछि शल्यक्रिया सुरु गरे ।

बिरामी पक्षसँग उपचारका लागि आवश्यक पर्ने खर्च नभएको कारणले मनकारी डेजिले ८० हजार रुपैयाँ दिएकी थिइन् । डेजिले सहयोग गरेको डा. रोकाले जानकारी पाएपछि उनले पनि शल्यक्रियामा लाग्ने ५० हजार रुपैयाँ छुट गरेका थिए । ८ कार्तिकमा डा. रोकाले गरिएको शल्यक्रिया सफल भयो । शल्यक्रियापछि खातुनको स्वास्थ्यमा सुधारका संकेतहरु देखिन् थाले । खातुनको स्वास्थ्यमा सुधार आएपछि शल्यक्रिया गरेको २४ दिनपछि २ मंसिरमा अस्पतालबाट डिस्चार्ज भइन् ।

खातुनको उपचार गरिरहेका चिकित्सक डा. रोकाका अनुसार अहिले रुक्सारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । डेजिले बिरामीलाई ८० हजार रुपैयाँ सहयोग र डाक्टर रोकाले पनि शल्यक्रियामा छुट दिएपछि अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले पनि १ लाख रुपैयाँ छुट गरिदिएकी थिइन् । खातुन तीन साता बढी अस्पतालमा भर्ना भएर बसेकी थिइन् । ‘बिरामीको अवस्था नाजुक भएर र उनको दुःख देखेर मैले पनि १ लाख बराबर अस्पतालमा छुट दिएर सहयोग गरको हो,’ उनले भनिन् । अस्पतालमा आएका विरामीले अर्का विरामीको दुःख देखेर सहयोग गरेको अस्पतलाले जनाएको छ ।

‘बिरामीको अवस्था देखेर सहयोग गर्ने इच्छा जाग्यो’ 

पैसा अभावमा जीवन मरणको दोसाँधमा देखेपछि रुक्सार खातुनको उपचारमा सहयोग गरेको तरन्मुम अल्भी (डेजी)ले बताइन् । ‘आर्थिक अवस्था नाजुक भएपछि १० वर्षिय बालिकाको मलाई साह्रै दया लागेर आयो । श्रीमानसँग सल्लाह गरेपछि आर्थिक अवस्था नाजुक भएको बालिकाको उपचारमा सहयोग गरेको हो,’ उनले भनिन् ।

खतुनका बावु महम्मद अन्सारीले उपचारमा सहयोग गरेर डेजीले छोरीलाई नयाँ जीवन दिएको बताए । ‘छोरीलाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन,’ छोरीको डिस्चार्जपछि अन्सारीले भने, ‘उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । सहयोग गर्ने डेजिदेखि उपचारमा खटिनुहुने डाक्टरले मेरो छोरीलाई बचाउनुभयो,’ उनले भने, ‘बाँच्दैन जस्तो लागेको थियो । छोरीले नयाँ जीवन पाइन् ।’ खातुनका परिवार मनकारी डेजिदेखि चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ