२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा चार अर्बको लगानीमा १० तलाको भवन बन्ने

कोशी अस्पतालमा चार अर्बको लगानीमा १० तलाको भवन बन्ने


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालभित्र अत्याधुनिक सुविधा सम्पन्न संरचनाहरू निर्माण हुने क्रम जारी रहेको छ । अस्पतालभित्र चार सय करोड लगानीमा १० तलाको अत्याधुनिक सुविधासम्पन्न भवन बन्ने भएको हो ।

अहिले कोशीभित्र ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ बजेटमा अन्डरग्राउण्डसहित पाँच तलाको सुविधा सम्पन्न भवन निर्माणको काम धमाधम भइरहेको छ । अहिले बन्दै गरेको पाँच तलाको भवनको उत्तर पूर्वपट्टी १० तलाको भवन बनाउने प्रक्रिया अगाडि बढेको हो ।

अस्पतालको अहिले रहेको प्रसुती, सर्जरी र रेडियोलोजी रहेको भवनमा नयाँ दश तलाको सुविधा सम्पन्न भवन बनाउने तयारी गरिएको कोशी अस्पतालका सुपरिटेन्डडेन्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए । ‘नयाँ बन्ने भवनको डिपीआर तयार भइसकेको छ,’ उनले भने, ‘अब टेण्डर प्रक्रियाको चरणमा रहेको छ ।’

नयाँ बन्ने भवनमा रहेको प्रसुती वार्ड ७१ शैय्याको नयाँ बनेको बर्थिङ सेन्टरमा सरेको छ भने सर्जरी र रेडियोलोजी अहिलेको ओपीडिको तेस्रो तलामा लैजाने तयारी गरिएको मेसु दासलले जानकारी दिए ।

सहकारी विकास तथा भवन निर्माण विभागले विनियोजन गर्ने बजेटबाट निर्माण हुन लागेको दश तले भवन बहुवर्षीय योजना अनुसारको रहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । नयाँ बन्ने भवनको डिपीआर तयार भएकोले आगामी फागुनदेखि चैतसम्ममा टेन्डर निकाल्ने उनले बताए । ‘टेन्डर निकालेपछि अस्पतालको नयाँ बन्ने भवनको निर्माणको प्रक्रिया अगाडी बढनेछ,’ उनले भने ।

नयाँ बन्ने दश तलाको भवनमा दुई तलाको अन्टरग्राउण्ड हुनेछ । जहाँ अस्पताल आउने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र सर्वसाधारणले पार्किङ गर्नेछन् । दश तलामा ल्याब, रेडियोलजी, मेडिसिन, सम्पूर्ण प्रकारको सर्जरी, अर्थोपेडिक, कार्डियो, पेडियाटिक वार्ड र ब्लड बैंक पनि रहने मेसु दासले जानकारी दिए ।

‘दश तलाको भवनमा मेजर केश हर्ने वार्डहरु यहाँ रहन्छ,’ मेसु दासले भने, ‘बिरामीलाई सहजता प्रदान गराउन तीन ठाउँमा लिफ्ट पनि हुनेछ ।’ नयाँ बन्ने भवनमा रहेको लिफ्टमा विरामी र कुरुवाको लागि छुटाछुट्टै हुने उनले बताए । ‘बिरामीको लागि ट्रलीसहितको लिफ्ट हुनेछ,’ उनले भने ।

अस्पतालमा अहिले बन्दै गरेको पाँच तलाको भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ । साइट क्लियर भएपछि निर्माणको कामले गति लिएको छ । चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । दोस्रो तलामा एचडियुसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछ । यस्तै, तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ ।

तेस्रो तला ५० शैय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तला ५० शैय्याको हुनेछ । सो भवन निर्माण रमनभूमीले ठेक्का पाएपछि निर्माणको काम हुँदै आएको छ । पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ ।

मास्टरप्लानअनुसार ७ तलाको बनाउने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैटौ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शैय्याको हुनेछ ।

१० तलाको भवन निर्माण भएर संचालनमा आएपछि कोशीमा १ हजार शैय्या पु¥याउने योजना रहेको अस्पतालका मेसु दासले जानकारी दिए । पाँच तलाको भवन बनाउने सम्झौता २०७८ असार २३ गते गरिएको छ भने निर्माण सकिने अवधि २०८० पुस २३ गते रहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ