२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १गुमेको दृष्टि फर्किदाको खुसी…

गुमेको दृष्टि फर्किदाको खुसी…


विराटनगर – भोजपुर घर भएका ८० वर्षीय वृद्ध भगवाननाथ सुवेदी चार वर्षदेखि विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा छन् । सुवेदी शारीरिक रूपमा अशक्त भएकाले राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । तर, उमेर ढल्कँदै जाँदा श्रवणशक्ति पनि कमजोर भएको छ । त्यसमाथि आँखाको दृष्टि क्षमता कमजोर हुँदा वृद्धावस्थामा उनको दिन निकै कष्टपूर्ण बन्दै गएको थियो ।

असाध्यै अप्ठ्यारोमा परेपनि उनको अस्पतालसम्म पुग्ने र उपचार गराउन सक्ने अवस्था थिएन । निःशुल्क रुपमा आँखाको सफल शल्यक्रिया भएपछि सोमबार डिस्चार्ज भएर आश्रम जाने तयारीमा रहेका सुवेदी गुमेको दृष्टि फर्किएपछि खुसी देखिन्थे ।

शल्यक्रियासहितको उपचारपछि मधुरो देख्ने आँखाहरु जवान हुँदाका जस्तै तेज भएपछि अहिले भगवानाथसहित १४ जना ज्येष्ठ नागरिकहरु खुसी छन् । शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएर घर जाने तयारीमा रहेकी ७७ वर्षीया सीता पराजुली पनि आँखामा ज्योति पाएकामा नयाँ जीवन पाएजस्तो अनुभूति गरिरहेकी छिन् । वरपरका दृश्य हेर्दै आफ्ना अनुभव सुनाउँदै उनले भनिन्, ‘आश्रममा आफूसँगै रहेका साथीहरु चिन्न पनि गाह्रो थियो । अहिले निःशुल्क आँखाको शल्यक्रिया भएपछि राम्रोसँग देख्ने भएको छु ।’

गुमेको दृष्टि फर्किँदा शरीरमा ऊर्जा थपिएको र हल्का महसुस भएको अनुभव उनले साटिन् । ज्येष्ठ नागरिकहरु बसोवास गर्ने वृद्धाश्रममा सञ्चालित आँखा शिविरमा सेवा लिएर खुसी हुने सुवेदी र पराजुली प्रतिनिधि पात्रहरु मात्रै हुन् ।

विराटनगर–८ अशोकचोकमा रहेको विराटेश्वर आश्रममा विराटनगर १४ मलायरोडमा रहेको दिब्य ज्योती अस्पतालले शनिबार निःशुल्क आँखा शिविर राखेको थियो । शिविरमा जाँच गरिएको ज्येष्ठ नागरिकहरुमध्ये कसैको शल्यक्रिया गरिनुपर्ने भयो भने दिब्य ज्योती अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेको थियो ।

६५ जना ज्येष्ठ नागरिकहरुको आँखा जाँच गरेको मध्ये १४ जना ज्येष्ठ नागरिहरुमा आँखामा जलबिन्दु र मोतियाबिन्दु देखा परेपछि शल्यक्रिया गरिनुपर्ने भएको थियो । अस्पतालले १४ जना ज्येष्ठ नागरिकहरुलाई आइतबार अस्पतालमा लिएर आयो । अस्पतालका जलबिन्दु रोग विशेषज्ञ डा. प्रमोद शर्मा गौतमसहित आँखा रोग विशेषज्ञ डा. हरिस यादव र डा. उदयचन्द्र प्रकाशको टिमले १४ जना ज्येष्ठ नागरिकहरुको आँखाको सफल शल्यक्रिया गरेका थिए ।

आँखाको शल्यक्रिया भएपछि डिस्चार्ज गरिएको ७८ वर्षीय सन्तोष भट्टराई आँखाको शल्यक्रियापछि अब राम्रोसँग देख्न सक्ने भएको बताए । ‘शल्यक्रिया गरिनुभन्दा अगाडि आश्रममा बस्दा आँखाले धमिलो देख्ने गरेको थियो । अहिले शल्यक्रिया गरेपछि वरपरको दृष्य राम्रोसँग देख्नसक्ने भएको छु,’ उनले भने, ‘राम्रोसँग आँखा देख्न सक्ने भएपछि आश्रममा वरपर हिडडुल गर्न सहज हुनेछ ।’

आश्रममा रहेका ६० देखि १ सय २ वर्षका १४ जना ज्येष्ठ नागरिकहरुको आँखाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक देवा यादवले बताए । जलबिन्दु सचेतना सप्ताहको अवसर पारेर अस्पतालले विभिन्न कार्यक्रम गरी मनाएको उनले बताए । शल्यक्रिया गरिएका १४ जना ज्येष्ठ नागरिक र विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई अस्पतालले सम्मान पनि गरेको थियो ।

अस्पतालले शल्यक्रिया गरेका ज्येष्ठ नागरिकहरुलाई चश्मा, औषधि र खान र बस्ने पनि निःशुल्क गरेको अस्पतालले जनाएको छ । शल्यक्रिया गरिएको ज्येष्ठ नागरिकहरुको आँखामा औषधी हाल्न अस्पतालबाट एक जना स्वास्थ्यकर्मी पनि परिचालन गरिने निर्देशक यादवले बताए ।

अस्पतालले सामाजिक उतरदायित्वअन्तर्गत आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष कमलेशकुमार कर्णले बताए । यस्ता सामाजिक कार्य आगमी दिनमा पनि गर्ने उनले बताए ।

विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद आर्यालले विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर आयोजनाले रोग पालेर बसेकालाई समेत उपचारमा जान प्रोत्साहित गरेर अस्पतालले पुन्यको काम गरेको बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ