२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मानव अंगको भारत तस्करी, एमबीबीएसको इन्टर्नसीप गर्दै गरेका एक पक्राउ

मानव अंगको भारत तस्करी, एमबीबीएसको इन्टर्नसीप गर्दै गरेका एक पक्राउ


विराटनगर—नेपालबाट भारततर्फ तस्करी हुन लागेको मानव अंगसहित प्रहरीले एक जना भारतीय नागरिक पक्राउ गरेको छ । मंगलबार विराटनगर—१५ रानी नाकाबाट भारततर्फ तस्करी हुन लागेको मानव अंगसहित भारत बिहार प्रदेश पूर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) रानीका सशस्त्र प्रहरी निरीक्षक प्रभात गौतम नेतृत्वको प्रहरी टोलीले उनको साथबाट मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुरकुच्चाको हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको छ ।

सिन्हाले कार्टुनमा राखेको मानव अंग प्रहरीले बरामद गरेको थियो । उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमामा बुझाउने सशस्त्र प्रहरी बल मोरङ प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । नेपाल प्रहरीको अनुसन्धानपछि थप विषय खुल्ने उनले बताए ।

सशस्त्र प्रहरीले यसअघि पनि भारतबाट नेपालतर्फ मानव अंग तस्करी गरेर ल्याउने क्रममा विराटनगर—१५ रानीबाट बरामद गरेको थियो । प्रहरीले विराटनगरको ढाँटबाट गत असोज १८ गते मारुती भ्यानमा हालेर भारत लैजाने तयारी गरेको अवस्थामा मानव खप्पर २८ वटा र मानव हातखुट्टा १० वटा बरामद गरेको थियो । प्रहरीले त्यसेबला गाडीका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई पक्राउ गरेको थियो ।

यस घटनाले भारतबाट नेपाल र नेपालबाट भारततिर मानव अगंको तस्करी भइरहेको पुष्टि गर्दछ । अवैध धन्दा नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्रको विशेष टोली परिचालित रहेको उनले बताए । उनका अनुसार सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिस र सवारी साधनमाथिको चेकजाँच तीव्र बनाइएको छ । ‘सीमा क्षेत्रबाट यस्ता वस्तु बरामद हुनु निक्कै गम्भीर विषय हो,’ उनले भने, ‘त्यही भएकाले निगरानी बढाएर उच्च सतर्कता अपनाउँदै कडाइ गर्न थालिएको छ ।’ प्रहरीले उक्त वस्तु परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी गरेको छ ।

प्रहरीले सोधपुछ गर्दा उनीहरुले उक्त वस्तु कहाँबाट ल्याएको र कसको हो भनेर नबताएको एसपी लामिछानेले बताए । बरामद गरिएको मानव अंग कति पूरानो हो भन्ने पनि खुल्न बाँकी छ । तर, विगतका केही घटनाबाट भने मानव खप्पर र हड्डीको तस्करी हुने गरेको पुष्टि भइसकेको छ । मान्छे मरेपछि जातीय परम्परा अनुसार दाहसंस्कार गरिन्छ । कतिपय जातजातिले शवलाई आगोमा जलाएर नष्ट गर्छन् भने कतिपयको जमिनमा गाडेर अन्त्येष्टि गर्ने परम्परा छ ।

शव गाडेको ठाउँबाट भने खोतलेर मानव अंगहरु निकाल्ने गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ । तर, केका लागि हो भन्ने अहिलेसम्म यकिन हुन सकिरहेको छैन । ‘पैसा कमाउने ध्याउन्नमा रहेका तस्करहरुले चिहान खनेर मानव खप्परलगायतका अंग संकलन गर्छन् । कतिपय घटनाले काठमाडौंमा मानव खप्पर र हाडखोर किनबेच भइरहको देखाएको थियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

मानव खप्पर र नली हड्डीको प्रयोगको कुनै वैज्ञानिक आधार भने भेटिएको छैन । तर, अपराध मानेर यसको उत्खनन, ओसारपसार र कारोबारमा प्रतिबन्ध लगाइएको छ । प्रहरीका अनुसार तान्त्रिक विद्या, धन प्राप्तिलगायतका लागि भनेर भ्रम छरिएका कारण तस्करी हुने गरेको पाइन्छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनले भारतमा बिक्रीका लागि लान लागेको आशंका गरेको छ । पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसार—पसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताएको प्रहरी स्रोतले बताएको छ । उनले आफू हाल एमबीबीएसको अन्तिम परीक्षा दिएर इन्टर्नसीपमा रहेको बयान प्रहरीलाई दिएका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ