२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १शल्यक्रियापछि आङ खस्ने समस्या भएका महिला भन्छन्, ‘नयाँ जीवन पाएका छौं’

शल्यक्रियापछि आङ खस्ने समस्या भएका महिला भन्छन्, ‘नयाँ जीवन पाएका छौं’


विराटनगर—भोजपुरको अरुण गाउँपािलका–६ की ६२ वर्षीया फुलमाया श्रेष्ठले जिल्ला अस्पताल भोजपुरमा पाठेघरको शल्यक्रिया गरेपछि स्वास्थ्य हलुङ्गो भएको महसुस गरेकी छिन् । ‘पाठेघर फ्याँकेपछि बोझ हलुको भो । रोगले पाँच वर्र्ष थला पा¥यो,’ शल्यक्रियापछि उनले आफ्नो पीडा अनुभव बाँडिन्, निःशुल्क शल्यक्रियापछि अहिले स्वास्थ्य हलुका भएको महसुस गरेको छु ।’

फुलमाया त प्रतिनिधी पात्र मात्रै हुन्, उनीजस्ता थुप्रै ग्रामीण महिलाहरु आङ खस्ने समस्याबाट पीडित छन् । चिकित्सककाअनुसार ‘आङ खस्ने’ रोग सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी अवस्थामा गाह्रो भारी बोक्ने, राम्रो हेरचार नगर्ने कारणले देखा पर्छ । पडाडी जिल्लाको ग्रामीण क्षेत्रका धेरै महिला यस्तै अवस्थाबाट गुज्रने गर्छन् । त्यही भएर भोजपुर जिल्ला अस्पताल र ७ स्थानीय तहको आर्थिक सहयोगमा भएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा २५ जना महिलाको पाठेघरको शल्यक्रिया भएको छ । जिल्लाका आर्थिक अभाव तथा लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाको निःशुल्क उपचार भएको छ ।

भोजपुरका अरुण गाउँपालिका स्वास्थ्य संयोजक रुपक मगरकाअनुसार पाठेघर खस्ने महिलाको संख्या धेरै रहेकोले बर्सेनी यस्ता कार्यक्रम भोजपुरमा गरिएको बताए । ‘महिलाका समस्या कसैले बुझ्दैनन् । आङ खस्ने महिलाहरुको समस्यालाई ध्यान राख्दै जिल्लामा यस्ता खालका निःशुल्क कार्यक्रम गरिएको हो,’ उनले भने । तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया सेवा सञ्चालन गरिएको थियो ।

‘एक महिलाको पाठेघरको शल्यक्रिया गर्न मात्रै ४५ देखि ६० हजारसम्म लाग्छ । भोजपुर जिल्लाबाहिर जान खर्चिलो रहेको छ । स्थानीयस्तरमै निःशुल्क शल्यक्रिया भएपछि खर्च पनि जोगिएको छ’, उनले भने, ‘भोजपुरका स्थानीय पालिकाहरूको आर्थिक सहयोगमा यस्तो कार्यक्रम राखिएको हो ।’

स्वास्थ्य शिविरमा ३५ वर्षदेखि ६५ वर्ष उमेरसम्मका महिलाको शल्यक्रिया गरिएको छ । ‘पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित थिएँ । लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेकी थिएँ न पटक–पटक गाउँघरमै पुग्ने स्वास्थ्यकर्मीलाई यस्ता समस्याले ग्रसित पार्दै गएपछि थला परेकी हुँ, यसपटक जिल्लामै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि शल्यक्रिया भएको छ’, अरुण गाउँपालिका ५ की ५६ वर्षीया देवीमाया श्रेष्ठले भनिन्, ‘शल्यक्रियापछि स्वास्थ्य सहज अनुभव भएको छ । पाठेघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो, अब सहज छ ।’ उनले आफूलाई नयाँ जीवन दिएकोमा उपचारमा संलग्न चिकित्सक टोलीलाई धन्यवाद पनि दिइन् । यहाँका २५ महिलाहरू चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।

शनिबारमा मोरङ सहकारीका प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण साह, जिल्ला अस्पतालमा चिकित्सकहरू डा. राजकुमार गजमेर, डा. रोजिना श्रेष्ठ, डा. सन्जय रानामगर, एनेस्थेस्टि दुर्गा चौधरी, आन्नद मण्डल, नर्सद्वय अन्जुला सुनार र सुमित्रा शिवाले उपचार गरेका थिए ।
आत्मबल, आत्मविश्वास, दक्षता र राम्रो टिमवर्कले गर्दा तीन दिनमा दुई दर्जन बढी बिरामीको सफल शल्यक्रिया गर्न सम्भव भएको डा. साहले बताए । अगामी दिनमा पनि यस किसिमका सेवालाई निरन्तरा दिने उनले बताए ।

गर्भवती अवस्थामा आराम नगर्ने, प्रसूतिपछि उचित स्याहार तथा आराम नगर्ने, कडा परिश्रम गर्ने, गह्रौं भारी बोक्ने र धुम्रपानलगायतका कारण पाठेघर खस्ने डा. साहको भनाइ छ । दुर्गम क्षेत्रका महिला योे समस्याबाट धेरै पीडित रहेको उनले बताए ।

‘पीडित महिला पति, सासु,ससुराको डर तथा छिमेकीको लाजले यति ठूलो समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ । आफ्नो समस्या पतिलाई समेत व्यक्त गर्न नसक्ने कस्तो लाज, डर होला ?’, डा. साहले भने । पीडित महिला कतिले लाज र अवहेलना, पतिले दोस्रो विवाह गर्ने चिन्ता, घरायसी काम गर्न नसकिएलाकी भन्ने सोचाइ, चेतनाको कमी, बच्चाको स्याहारसुसार गर्न अप्ठ्यारो हुन्छ कि भन्ने डरलगायत कारणले यो समस्या लुकाउने गरेको पाइएको छ । कति थाहा पाएर शल्यक्रिया गर्न डराएर पनि पीडित बनेको चिकित्सकहरुले बताएका छन् ।

पाठेघर खस्ने समस्याका तीन चरणमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो शल्यक्रिया गर्नुपर्ने डा. साहले बताए । अंग बाहिर निस्केपछि फोहर तथा घर्षणले फुल्न गई संक्रमण हुँदा शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

शिविरमा भोजपुर नगरपालिका, अरुण, आमचौक, हथुवागढी, पौवादुङमा, रामप्रसादराई र टैम्केमैयुङ गाउँपालिकाका विरामीहरु आएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ