२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ ले स्वास्थ्यमा परिणाममुखी बजेट ल्याएको छ : स्वास्थ्यमन्त्री यादव

प्रदेश १ ले स्वास्थ्यमा परिणाममुखी बजेट ल्याएको छ : स्वास्थ्यमन्त्री यादव


विराटनगर—प्रदेश १ स्वास्थ्य तथा जनसंख्यामन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा ४ अर्ब बजेट बिनियोजन गरेको बताएका छन् । उनले प्रदेश १ सरकारको कुल बजेटको ९ प्रतिशत वजेट स्वास्थ्य क्षेत्रलाई छुट्याएको जानकारी दिए ।

‘स्वास्थ्यमा भण्डै ४ अर्ब बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यो प्रदेश १ सरकारको कुल बजेटको ९ प्रतिशत हो ।’ केन्द्रीय सरकारले यस वर्ष ५ दशमलव ५ प्रतिशत मात्र बजेट स्वास्थ्यमा विनियोजन गरेको छ ।

उनले प्रदेश सरकारले जथाभावी बजेट छर्ने काम नगरेको उल्लेख गर्दै आवश्यक ठाउँका लागि परिणाममुखी बजेट ल्याएको दावी गरे । प्रदेश १ स्वास्थ्य निर्देशनालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समिक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

प्रदेश १ को स्वास्थ्य सेवा सुधार गर्न स्थानीय तहका हरेक वडामा स्वास्थ्य चौकीदेखि आवश्यक स्थानमा वर्थिङ सेन्टर स्थापना भइरहेको मन्त्री यादवले जानकारी दिए । उनले सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवा जनतालाई थाहा नै नभएको र त्यस विषयमा जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव डा. अनुज भट्टचनले प्रदेश १ सरकारले जनशक्ति व्यवस्थापनमा चुनौती भोगिरहेको बताए । जनशक्ति व्यवस्थापनका लागि संगठन व्यवस्थापन सर्भेक्षण गरी अगाडि बढ्ने उनको भनाइ थियो ।

प्रदेश १ स्वास्थ्य नीति, ७ वर्षे रणनीतिलगायतका कानुन बनाउने चरणमा रहेको समेत जानकारी दिए । ‘प्रदेश स्वास्थ्य मन्त्रालय नया संरचना हो,’ उनले भने, ‘हामी मन्त्री सचिव नै पहिलो नेतृत्व हो, ऐन, नियम, कानुन नै छैनन्, त्यसमा काम गरिरहेका छौं ।’ नीतिगत कामसँगै सेवा प्रवाहको काममा अगाडि बढिरहेको उनले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश सरकारले गरेका काम र बन्ने नीतिगत सुधारका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

प्रदेश स्वास्थ्य मन्त्रालय निति योजना महाशाखा प्रमुख डा. सुरेश मेहताले नीति तथा कार्यक्रमहरु जनमुखी र जनतालाई केन्द्रमा राखेर बनाइने बताए ।

पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले पछिल्लो समय विट पत्रकारिताले व्यवसायिक पत्रकारितालाई जोगाइरहेको बताए । उनले बिट पत्रकारितालाई प्रोत्साहन गर्न सरकारले क्षमता अभिवृद्धिमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारिता प्रविधिक विषय बढी भएको हुँदा हतारको समचार सम्प्रेषण गर्न नहुने बताए । स्थानीयदेखि केन्द्रीय सरकारको प्राथमिकता स्वास्थ्य पर्दै गएको उनको भनाइ थियो ।

मञ्चका महासचिव भिषा काफ्लेले स्वास्थ्य क्षेत्रका नीति, नियम बन्दादेखि नै स्वार्थ समूह हावी हुने गरेको बताए । उनले प्रदेश १ सरकारका स्वास्थ्यका नीति, रणनीति, कानुन बन्ने चरणमा रहेको हुँदा सञ्चारकर्मीले विशेष चासो दिएर समाचार सम्प्रेषण गर्ने समय भएको बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ