२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पाठेघरबाट २ किलोको ट्युमर निकालेपछि चन्द्रकुमारीः ‘पेटबाट काँडा निकालेजस्तो भयो’

पाठेघरबाट २ किलोको ट्युमर निकालेपछि चन्द्रकुमारीः ‘पेटबाट काँडा निकालेजस्तो भयो’


विराटनगर—खोटाङको रावाबेसी गाउँपालिका—६ हंसुको ३८ वर्षीया चन्द्रकुमारी श्रेष्ठले एक महिनादेखि पिसाबको पाइप लगाएर हिडडुल गर्दै आएकी थिइन् । असह्यै पीडा हुने भएकोले उनले शौचका लागि पिसाब पाइप लगाएकी हुन् ।

त्यही पाइपसहित १४ जेठमा विराटनगर २ सोमबारे हाटमा रहेको मोरङ सहकारी हस्पिटलमा आइन् । हस्पिटल आउँदा चन्द्रकुमारीको पेट फुलेको थियो । जब मोरङ सहकारी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साहले चन्द्रकुमारीको स्वास्थ्य परीक्षण गरे उनको पाटेघरमा मासु पलाएको ट्युमर भएको पत्ता लाग्यो ।

आर्थिक अवस्था नाजुक भएको श्रेष्ठ परिवार स्वास्थ्य बिमा कार्यक्रम रहेको र भरपर्दो चिकित्सक भएका अस्पतालको खोजीमा थियो । आफन्तले मोरङ सहकारी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमबाट उपचार हुने थाहा पाइन् ।

त्यसपछि अस्पताल भर्ना भएकी उनको पाठेघरको शल्यक्रिया गरेर सोमबार डा. साहले दुई किलोको ट्युमर फालेका छन् । पाठेघरमा भएको ट्युमर निकालेर सफल शल्यक्रिया गरिएको डा. साहले बताए ।

उपचार संलग्न चिकित्सक डा. साह

सफल उपचारपछि अहिले विरामीले मज्जाले हिडडुल गर्न सक्ने भएकी छिन् । ‘पाठेघरमा मासु पलाएकोलाई अ‍ैजुरु भनिन्छ । ट्युमर हुँदा धेरै रगत जाने र महिनावारीमा गडबडी हुने गर्दछ । सर्वाइकल रिजनमा ठूलो ट्युमर भएकाले पिसाब नलीलाई थिचेको थियो,’ उपचारमा संलग्न डा. साहले भने, ‘त्यसैले पिसाब रोकिएको थियो । शल्यक्रिया गरेर ट्युमर झिकेपछि अहिले बिरामीको स्वास्थ्य अवस्था सुधार भएको छ ।’

बिरामीलाई केही दिनपछि डिस्चार्ज गरिने उनले बताए । ‘अ‍ैजारु यही कारणले पलाउँछ भन्न सक्ने अवस्था छैन,’ डा. साहले थपे, ‘अहिले हामीले शल्यक्रिया गरी निकालेको ट्युमरले क्यान्सर हुने सम्भवना कम थियो । यो विस्तारै बढ्छ । कसैको चाँडै बढ्ने गर्दछ । जसले गर्दा ढाड दुख्ने र महिनावारी गडबड हुने गर्दछ ।’ कसैमा चाँडै ट्युमर बढ्ने गरेको उनले सुनाए । ‘चाडै बढ्ने ट्युमरमा क्यान्सर हुनसक्ने सम्भावना धेरै हुन्छ,’ डा. साहले भने ।

पाठेघरबाट ट्युमर निकालेपछि बिरामी चन्द्रकुमारीले शरीर चङ्गा भएको बताइन् । ‘अहिले शरीरबाट काडा झिकेर फालेजस्तो भएको छ,’ दुःखाइको पीडा भुलेर हर्षित मुद्रामा रहेकी चन्द्रकुमारीले भनिन्, ‘शरीर नै अहिले हल्का र फूर्तिलो भएको छ । त्यो पीडा सम्झिँदा यस्तो समस्या त कसैलाई पनि नहोस् ।’

महिनौदेखि आफुले खेपेको पीडा सुनाउँदै उनले थपिन््, ‘पहाडको कति धेरै हस्पिटल गए । तर, पनि पिसाब हुँदैन थियो । दुखाइ खपिनसक्नु हुने गरेको थियो । अहिले उपचारपछि पुनः जीवन पाएको महसुस गरेको छु ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ