२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एनपीए कोशी प्रदेशको निर्वाचन : शम्भु र विवेकको समूह चुनावी मैदानमा

एनपीए कोशी प्रदेशको निर्वाचन : शम्भु र विवेकको समूह चुनावी मैदानमा


विराटनगर—नेपाल फर्मास्युटिकल्स एशोसिएसन (एनपीए) कोशी प्रदेशको निर्वाचनको मिति नजिकिएसँगै फर्मासिस्टहरुको चुनावी माहोल तातेको छ । ९ असार ९ मा हुने एनपीए कोशी प्रदेशको निर्वाचनमा दुई वटा छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा होमिएपछि फर्मासिस्टहरुको चुनावी माहोल गर्माएको हो ।

एनपीए कोशी प्रदेशको अध्यक्षमा शम्भु साह र विवेक दाहालले समूह बनाएर निर्वाचनको मैदानमा उत्रिएका छन् ।

अध्यक्षका उम्मेदवार साह प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको वरिष्ठ फार्मेसी अधिकृत रुपमा कार्यरत रहेका छन् भने दाहाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फर्मास्टिको रुपमा कार्यरत छन् ।

दुवै समूहले प्रतिवद्धता—पत्र सार्वजनिक गरीसकेका छन् । साह नेतृत्वको समूहले १३ बुँदे र दाहाल नेतृत्वको समूहले १७ बुँदे घोषणापत्र सार्वजनिक गरेर अहिले चुनावी प्रचार—प्रसारमा जुटेका छन् ।

अध्यक्षका उम्मेद्वार साहले पेशागत हकहित, नीतिगत सुधार र प्राविधिक पक्षलाई जोड दिने मुख्य एजेण्डा रहेको बताए । उनले फर्मासिष्टको सरकारी दरबन्दी बढाउन पहल गर्ने बताए । फार्मेसी परिषदको लाइसेन्स परीक्षा तथा नवीकरण प्रदेशबाट गर्ने गराउने व्यवस्था मिलाउन पहल गर्ने उनले बताएका छन् ।

साह नेतृत्वको समूहले अस्पताल फार्मेसी निर्देशिका, २०७२ पूर्ण रुपमा कार्यन्वयन गराउन पहल गर्ने, प्रदेश तथा स्थानीय मातहतमा कार्यरत फार्मेसी जनशक्तिका पारिश्रमिक नेपाल सरकारले तोके बमोजिमको स्केलमा खुवाउन सम्बन्धित निकायमा पहल गर्ने, संस्थाको विकास गर्दै कार्यलय व्यवस्थित गर्ने तथा संस्थाको जग्गा प्राप्तिको लागि पहल गर्ने, निजी तथा सामुदायिक फार्मेसीमा कार्यरत जनशक्तिहरुको व्यवसायिक हकहितको लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्ने घोषणा पत्रमा उल्लेख छ ।

यता, दाहाल समूहले फार्मेसी पेशाका सबै विधाहरूलाई एकीकृत गरी विधाअनुरूपको विषय समिति निर्माण गरेर हरेक विधाहरूको समस्या पहिचान एवं समाधानको पहल गर्ने, डि फार्मेसी सदस्यहरूलाई पनि निर्णायक पदमा पुग्न दिने गरी आवश्यक विधान संसोधन गर्न पहल गर्ने, फार्मेसी पेशाको सम्मानजनक पारिश्रमिकको लागि वकालत गर्ने मुद्दा अघि सारेका छन् ।

साह र दाहालका समूहका उम्मेदवार

एनपीए कोशी प्रदेशको अध्यक्षका उम्मेद्वार शम्भु साहको समूहबाट उपाध्यक्षमा विश्वनारयण चौधरी, सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा संजीप खड्का, सदस्यहरुमा विजय कार्की, रश्मी अधिकारी र संगीनाकुमारी चौधरी छन् ।

विवेक दाहालको समूहबाट उपाध्यक्षमा प्रदीप थापा, सचिवमा कृष्णप्रसाद बजगाई, कोषाध्यक्ष यामप्रसाद चौलागाई, सदस्य सुरक्षा भण्डारी, सुवास गच्छदार र सरोज चौधरी रहेका छन् ।

एनपीए कोशी प्रदेशमा करिब सात सय मतदाता रहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ