२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्यमा विराटनगर महानगरको १३ करोड रुपैयाँ बजेट

स्वास्थ्यमा विराटनगर महानगरको १३ करोड रुपैयाँ बजेट

बजेटमा स्वास्थ्यका के-के कार्यक्रम समेटिए ?


विराटनगर—विराटनगर महानगरले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा बजेटमा स्वास्थ्यमा अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिएको पाइएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षमा स्वास्थ्यमा १३ करोड ६७ लाख बजेट विनायोजन गरेको छ ।

महानगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा दोस्रो छोरी जन्माउने आमाहरूलाई प्रोत्साहन गर्ने पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

आइतबार महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले १२ औं नगरसभामा प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेट वक्तव्यमा महानगरले गर्भवती महिलाका अतिरिक्त आगामी आर्थिक वर्षबाट अपाङ्गता भएका व्यक्ति र ८० वर्षभन्दा माथिका नागरिकको उपचारमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा संचालित निःशुल्क रक्तसेवालाई निरन्तरता दिइने भएको छ । यो कार्यक्रम तत्कालीन नगर प्रमुख भीम पराजुको पालाको कार्यक्रम हो । यसैगरी, रानी तथा बैजनाथपुर अस्पताललाई सुविधा सम्पन्न बनाई विशेषज्ञमार्फत सेवा उपलब्ध गराउने बजेटमा छ ।

साथै, फार्मेसी सेवाको विस्तार गरी प्रयोगशाला सेवाको सुदृढीकरण गरिदैं लगिने भएको छ । विराटनगरको १९ वटै वडाबाट प्रयोगशाला सेवा जाँचको लागि नमुना संकलनको व्यवस्था मिलाउनुको साथै युरिन प्रेगनेन्सी परीक्षण र गर्भवती महिलाहरुको लागि चेक जाँचको निःशुल्क रुपमा व्यवस्था मिलाइने भएको छ ।

८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुका लागि विशेष स्वास्थ्य सेवा कार्यक्रमहरु ल्याइने, सबै वडाहरुमा एकीकृत स्वास्थ्य शिविर संचालन गरिने, स्तनपान गराइरहेका आमाहरुको सहजताको लागि महानगरका उपयुक्त स्थानहरुमा स्तनपान कक्षको निर्माण गरिने नीति कार्यक्रम तथा बजेटमा उल्लेख छ ।

यसैगरी, नियमित रुपमा आँखा जाँच क्लिनिकको व्यवस्थापन गरिदैं लगिने, डेंङ्गीलगायत महामारीजन्य सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी समुदायस्तरमा विभिन्न कार्यक्रमहरु संचालन गरिने भएको छ । महानगरवासीहरुको स्वास्थ्य सुधारका निमित्त वैकल्पिक चिकित्साको रुपमा आयुर्वेद सेवाको विकास, विस्तार र सुदृढीकरण गर्दै लैजाने बजेटमा छ ।

आम नागरिकहरुको आधारभूत स्वास्थ्य सेवाको सहज पहुँचका लागि सम्पूर्ण वडामा संचालनमा रहेका आभारभूत स्वास्थ्य केन्द्रहरुको सुदृढीकरण तथा सेवा विस्तार गर्दै लगिने भएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ