२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा रेबिज विरुद्धको खोप सेवा ठप्प

कोशी अस्पतालमा रेबिज विरुद्धको खोप सेवा ठप्प

निजी संस्थामा दश हजार रुपैयाँसम्म शुल्क तिर्न बिरामी बाध्य


विराटनगर– मोरङको मिक्लाजुङ्ग गाउँपालिका घर भई सुनसरीको इटहरीमा बस्दै आएकी दीपा राईलाई कुकुरले खुट्टामा टोक्यो । बुधवार बिहान पाँच बजे मर्निङवाकमा निस्किएकी उनको सोही क्रममा दायाँ खुट्टाको तिघ्रामा कुकुरले टोकेपछि खुट्टा रगताम्मे भयो । लगतै उनी इटहरीस्थित सामुदायिक अस्पतालमा उपचारको लागि गइन् ।

उक्त अस्पतालमा उपचार नहुने भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विराटनगरस्थित कोशी अस्पताल जान चिकित्सकले सुझाव दिए । यसअघि पनि विराटनगर बस्दै आएकोले उनी कोशी अस्पतालमा उपचारको लागि आइन् ।

कुकुर, बाँदरलगायत जनावरले टोकेपछि इम्युनोग्लोबिन र  रेबिज विरुद्धको खोप लगाइन्छ । चिकित्सकका अनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ भन्ने कुरा दीपाले सुनेकी थिइन् । त्यही भएर जतिसक्दो चाँडो उनी कोशी अस्पताल आइपुगेकी थिइन् । तर सरकारी अस्पतालमा खोप नभएको भन्दै उनले त्यहाँबाट खोप पाइनन् । त्यसपछि निजी क्लिनिकबाट २ हजार रुपैयाँ तिरेर रेबिजको भ्याक्सिन लगाएको उनले बताइन् । ‘कुकुरले टोकेर रगताम्मे भएको छु । चिकित्सकले पनि चाँडै भ्याक्सिन लगाउनुपर्ने सुझाव दिनुभयो । तर, सरकारी हस्पिटलमा खोप नभएपछि महँगो शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएँ ।’ उनले भनिन् ।
स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खोप उपलब्ध नगराएको महिनौँ भइसकेको भन्दै अस्पतालले दुई हप्तादेखि सेवा बन्द गरेको छ ।

सरकारले निःशुल्क उपलब्ध गराउने रेबिज विरुद्धको खोप उपलब्ध नगराएको भन्दै पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोशीमा असोज १४ गते  सूचना दिँदै  उक्त सेवा बन्द गरिएको जनाएको छ ।

चिकित्सककाअनुसार बिरामीले रेबिज विरुद्धको खोप लक्षण अनुसार दुईदेखि ५ डोजसम्म लगाउनुपर्छ । घाँटीभन्दा माथि, हातका औँला वा शरीरको अन्य कुनै भागमा टोकाइले ठुलो घाउ बनेको छ भने, शरीरका धेरै ठाउँमा टोकेको भए वा छातीभन्दा माथि टोकेको भए इम्युनोग्लोबिन भ्याक्सिन लगाउनुपर्ने हुन्छ । यो भ्याक्सिन टोकाइलगत्तै वा त्यसको ७२ घण्टाभित्र लगाउनुपर्छ । ह्युमन रेबिज इम्युनोग्लोबिन (एचआरआईजी) र इक्विन रेबिज इम्युनोग्लोबिन (ईआरआईजी) गरी यी सुई दुई थरीका हुन्छन् । तर, कोशीमा इम्युनोग्लोबिन भ्याक्सिन सकिएको हो ।

अस्पतालले उक्त सेवा बन्द गरेर बसिरहँदा दैनिक १० देखि २० जनासम्म बिरामीहरू अहिले रित्तै घर फर्किरहेका छन् । अस्पताल प्रशासनले भ्याक्सिन माग गर्नुको साटो सेवा बन्द गरेर बिरामीलाई सास्तीसँगै चर्को शुल्क तिरेर उपचार गर्न बाध्यकारी बनाएको छ ।

रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाउने हो । सरकारले २७० रुपैयाँमा खरिद गरेको रेबिजविरुद्धको भ्याक्सिन दिने गरेको छ । तर, कोशीमा भ्याक्सिन नभएको भन्दै बिरामीहरू निजी संस्थाबाट महँगोमा पनि किनेर लगाउन बाध्य छन् ।

निजी पसल तथा क्लिनिकले एउटा भ्याक्सिनको २ हजार देखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् । आर्थिक अवस्था नाजुक भएका परिवारलाई रेबिज विरुद्धको भ्याक्सिन खरिद गर्न गाह्रो भएको छ । सम्पन्न परिवारले खरिद गरेर पनि लगाउँछन् । तर, विपन्न परिवारले यत्ति खर्चिलो भ्याक्सिन कहाँबाट ल्याउने ?  राज्यले भ्याक्सिन चाँडै खरिद गरेर हस्पिटलमा पठाएन भने र यदि विपन्न नागरिकलाई टोक्यो भने रोग पालेर बस्नुपर्ने अवस्था रहेको अस्पताल आउने बिरामीहरू बताउँछन् ।

यता, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले स्वास्थ्य मन्त्रालयबाट खोप आपूर्ति हुन नसक्दा समस्या भएको बताए । ‘दैनिक रूपमा १५÷२० जना बिरामी आउँछ । भ्याक्सिन छैन । के गर्नु ? आफैले खरिद गर्न मिल्दैन केन्द्रीय सरकारको स्वास्थ्य आपूर्ति केन्द्रसँग माग गरेका छौँ,’उनले भने–‘आएपछि बिरामीलाई उपलब्ध गराउँछौँ ।’ केन्द्रबाट चाँडै औषधि पठाउने आश्वासन दिएको र आएपछि भ्याक्सिन लगाउन सुरु गरिने उनले सुनाए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ