२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा ‘अप्टिक केबल’ बिग्रिदा बिरामीलाई थपियो आर्थिक भार

कोशी अस्पतालमा ‘अप्टिक केबल’ बिग्रिदा बिरामीलाई थपियो आर्थिक भार

महिनौदेखि ल्याप्रोस्कोपीक सेवा ठप्प


विराटनगर—कोशी प्रदेशकोे सबैभन्दा ठूलो सरकारी हस्पिटल कोशीको शल्यक्रिया कक्ष (ओटी)मा फाइबर अप्टिक केबल बिग्रिदा ल्याप्रोस्कोपीक विधिबाट गरिने शल्यक्रिया ठप्प भएको छ । अस्पताल प्रशासनले अप्टिकल केबल बेलैमा ल्याएर जडान नगर्दा झण्डै एक महिनादेखि अस्पतालमा ल्याप्रोस्कोपीक विधिबाट गरिने शल्यक्रिया सेवा ठप्प भएको हो ।

ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया कोशीमा नहुने भएपछि विरामीले चर्को शुल्क तिरेर निजी हस्पिटलमा उपचार गर्न बाध्य भएका छन् । जसले गर्दा बिरामीलाई थप आर्थिक भार व्यहोर्नु परेको छ ।

पछिल्लो समय संसारभरि नै ल्याप्रोस्कोपीक विधीबाट पेट तथा पाठेघरको शल्यक्रियाको लोकप्रियता बढ्दै गएको छ । यसको प्रमुख कारण यसबाट बिरामीलाई हुने फाइदाहरु नै हुन् । जसले गर्दा पछिल्लो समय यो विधिबाट शल्यक्रिया गर्न चाहने बिरामीको संख्या बढेको छ ।
परम्परागत रूपमा पेटमा ठाडो वा तेर्सो लामो चिरा पारेर गरिने अपरेसनको साटो पेटमा स—साना प्वाल बनाएर पेटको भित्री अंगमा भएको समस्या हेर्ने तथा उपचार गर्ने प्रविधी नै ल्याप्रोस्कोपीक सर्जरी हो ।

यो सर्जरी गर्दा पेटमा एक सेन्टीमिटरसम्मको प्वाँल पारेर त्यहाँबाट क्यामेरा पठाएर उच्च प्रकाश र क्यामेराको सहायताले पेटको शल्यक्रिया गरिन्छ । पेटको कुन भागको शल्यक्रिया गर्ने हो, त्यहीअनुसार पेटमा अन्य दुई वा तीन ०.५ सेन्टीमिटरसम्मको वटा प्वाँल पारेर प्रविधीको माध्यमले जुन अंगमा रोग छ, त्यस अंगको रोग पत्ता लगाउन तथा उपचार गर्न यो प्रविधिको उपयोग गरिन्छ ।

कोशीमा यो सेवा सुरु भएको वर्षौ भएको थियो । दशैं अगाडि अप्टिक केबल बिग्रिएर ल्याप्रोस्कोपीक सर्जरी सेवा बन्द भएको उपचारमा संलग्न चिकित्सकहरुले अस्पताल प्रशासनलाई जानकारी गराएका हुन् । तर, अस्पताल प्रशासनले चासो नदेखाउँदा ल्यप्रोस्कोपीक प्रविधिबाट गरिने सर्जरी बन्द भएका कारण यहाँ आउने बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य भएका छन् । कोशीमा दैनिक २ देखि ३ वटासम्म ल्याप्रोस्कोपीक प्रविधिबाट शल्यक्रिया हुने गरेको छ । यसअघि समय दिएका बिरामीले पनि शल्यक्रिया नभएपछि निजीमा गएर उपचार गर्नुपरेको छ । कोशीमा शल्यक्रिया गर्न आर्थिक अवस्था नाजुक भएका बिरामीहरु आउने गर्दछन् ।

फाइबर अप्टिक केबल बिग्रिएपछि त्यसको ‘लोड’ बिरामीलाई परेको छ । अहिले बिरामी निजी अस्पताल जानुपर्ने बाध्यतामा छन् । कोशीमा ल्याप्रोस्कोपीक प्रविधिबाट ८ देखि १२ हजार रुपैयाँमा हुने शल्यक्रिया निजीमा २५ देखि ४० हजार रुपैयाँसम्म तिनुपर्छ । पछिल्लो वर्ष कोशीमा अस्पतालमा नयाँ–नयाँ उपकरण भित्र्याइए पनि बिरामीको भारलाई धान्ने क्षमता भने नरहेको बताइन्छ । सरकारीमा भन्दा अगाडि भित्र्याइएको निजी अस्पतालमा उपकरण बिग्रिएको खासै सुनिदैन् । तर, सरकारीमा नयाँ होस् वा पुरानो, साना होस् ठूला उपकरण महिनैपिच्छे बिग्रिन्छन् । नयाँ किन्दा वा मर्मत गर्दा पाइने कमिसनले पनि सरकारी अस्पतालका उपकरण धेरै बिग्रनुमा ‘नियत’लाई समेत दोष दिने गरिएको छ ।

कोशीको सर्जरीमा बुधबार र बिहीबार युरोलोजीको सेवाहरु सुचारु रहेको छ । त्यसबाहेक चिरेर गरिने अप्रेसनहरु भने भइरहेको अस्पतालले जनाएको छ । महिला रोगबाहेक ल्याप्रोस्कोपीक प्रविधिबाट पित्तथैली, अपेन्डिक्स, मुत्रनली, आन्द्रा आदि अंगको पनि अपरेसन गरिन्छ । ल्योप्रोस्कोपीको मद्दतबाट कुनै पनि प्रकारको अण्डासयको सिस्ट, ट्युमर, संक्रमणको बारेमा पत्ता लगाउन सकिने चिकित्सक बताउँछन् ।

सर्जरी ओटीमा स्ट्राइकर कम्पनीको फाइबर अप्टिकल केबल मगाएकोले एक हप्ता भित्रमा आउने कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले बताए । ‘भारतबाट मगाएकोले केही समय लागेको हो । यसअघि पनि मगाएका थियौं । फाइबर अप्टिकल केबल फिट नभएपछि अर्को स्ट्राइकर कम्पनीको मगाएको हो,’ उनले भने, ‘आएपछि ल्याप्रोस्कोपीक प्रविधिबाट शल्यक्रिया सुचारु हुनेछ ।’

अस्पतालले कार्तिक १७ गते स्ट्राइकर कम्पनीको फाइबर अप्टिकल केबल मगाएको जनाएको छ । तर, अहिलेसम्म आएको भने छैन ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ