२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १लाइफगार्डमा चिकित्सकको ठगी: बीमाबाट भुक्तानी लिएपछि पनि बिरामीसँग ४० हजारसम्म असुली

लाइफगार्डमा चिकित्सकको ठगी: बीमाबाट भुक्तानी लिएपछि पनि बिरामीसँग ४० हजारसम्म असुली

‘टिम’ चार्ज भन्दैं डा. इकबाल अहमदले १५ देखि ४० हजारसम्म असुली गरेको बिरामीको गुनासो


घटना १
मोरङको पथरीशनिश्चरे नगरपालिका–२ नेवार टोलका ६५ वर्षीय लोकबहादुर श्रेष्ठ पेट दुखेर असह्यै पिडा भएपछि विराटनगरस्थित लाइफगार्ड हस्पिटल गए । ४ फागुनमा अस्पताल भर्ना भएपछि उनको किड्नी छेउमा पानीको फोका (सिस्ट) भएपछि अस्पतालका यूरोलोजिष्ट डा. इकवाल अहमदले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए । स्वास्थ्य बीमामार्फत उनले उपचार गरे र तत्काल ल्याप्रोस्कोपी सर्जरी भयो ।
`
बिमामार्फत शल्यक्रिया गरिएको ४६ हजार २ सय ८४ रुपैयाँ हस्पिटलले भुक्तानीको लागि दाबी गर्‍यो । हस्पिटलले स्वास्थ्य बीमामार्फत भुक्तानी दाबी गरेपछि उपचारमा लाग्ने इम्प्लान्ट खरिद गरिनुपर्ने र टिम व्यवस्थापनको लागि भन्दै बिरामीसँग उपचारमा संलग्न चिकित्सक इकवालले ४० हजार रुपैयाँ थप लाग्ने बताए ।

लोकबहादुरका कान्छा छोरा भुपाल श्रेष्ठले बावुलाई अप्रेसन थियटरभित्र छिराएपछि उपचारमा संलग्न चिकित्सक मागेको थप रकम दिने वचन दिए । ‘बुवाको शल्यक्रिया त भयो । तर, सफल भएन । फेरि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले भनेका छन् । त्यसको लागि आउँदो असारको पहिलो हप्ता चिकित्सकलाई देखाउन विराटनगरमा आउँदैछु,’ छोरा भुपालले भने, ‘बीमाबाट ४६ हजार रुपैयाँ लिएपछि पनि चिकित्सकले ४० हजार रुपैयाँ मागेका थिए । चिकित्सकको लापरवाहीले बावुको सफल शल्यक्रिया नभएपछि चिकित्सकले माग गरेको थप रकम दिएनौं । तर, अरु बिरामीका आफन्तबाट डा. इकवाल अहमदले मनपरी तरिकाले रकम असुली गरेका छन् ।’

पथरीशनिश्चरे नगरपालिका–२ नेवार टोलका ६५ वर्षीय लोकबहादुर श्रेष्ठले लाइफगार्ड हस्पिटलमा ४ फागुनमा अप्रेसन गरेको घाउँ देखाउँदैं ।

घटना २
पथरीशनिश्चरे–२ कै २९ वर्षीया निहा साम्बाको पनि पेट दुखेपछि श्रीमान सचित गुरूङले स्वास्थ्य बीमा भएकाले घर नजिकको पथरी नगर अस्पतालमा लिएर गए । नगर अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि बीमा चल्ने हस्पिटल भनेर लाइफगार्डमा रेफर गरिदिए । सचितले श्रीमती निहालाई लिएर ४ फागुनमा लाइफगार्ड लिएर आए । हस्पिटल आएपछि युरोलोजिष्ट डा. इकवाल अहमदलाई देखाए । उनले किड्नीमा पत्थरी भएको बताएपछि शल्यक्रिया गर्न सुझाए । ६ फागुनमा शल्यक्रिया भयो । डा. इकवालले चिरेर अप्रेसन गरेका थिए ।

तर, बीमा भुक्तानी दाबी गर्दा ल्याप्रोसकोपी सर्जरी गराएको कागजपत्र जुटाए । त्यो कुरा सचितले थाहा पाए । त्यसपछि हस्पिटलले प्राविधिक मिस्टेक भएको भन्दै हातले चिरेको अप्रेसन बनाइदिए । चिरेर गर्दाको भन्दा ल्याप्रोस्कोपीबाट गर्दा १८ हजार रुपैयाँ बढी रकम लाग्छ । त्यसैले चिकित्सकले ल्याप्रोस्कोपीको कागजपत्र जुटाएर बढी बिमाको भुक्तानी दाबी गर्न लागेका थिए । १५ फागुनमा निहाको शल्यक्रिया गरेबापत बीमाबाट २८ हजार २८४ रुपैयाँ भुक्तानी हस्पिटलले लिएको छ ।

स्वास्थ्य बीमाबाट अप्रेसनको दाबी भुक्तानी गरेको अभिलेख ।

स्वास्थ्य बीमाबाट २८ हजार रुपैयाँ लिएपछि पनि डा. इकवालले निहाका श्रीमान सचितसँग १५ हजार रुपैयाँ लिएका छन् । ‘बीमाबाट अप्रेसनको रकम लिएपछि पनि थप ३० हजार रुपैयाँ सुरुमा टिम चार्ज भन्दै मागेको थियो । पछि अप्रेसन हुँदा मैले विभिन्न चार वटा सामाग्री लिएर गएपछि १५ हजार रुपैयाँ फिर्ता गरिदियो,’ सचितले भने, ‘बीमाबाट पनि अप्रेसनको चार्ज लिने र बिरामीबाट रकम असुली लाइफगार्डका चिकित्सक इकवालले गर्दै आएका छन् । हामीले अप्रेसन थियटरमा माग गरिएको रकमको बिल माग्दा पनि दिने गरेको छैन । त्यो बिल हुँदैन भन्दै रकम लिने गरेका छन् ।’

घटना ३
पथरीशनिश्चरे—२ की ४० वर्षीया धनेश्वरी लिम्बुको समस्या पनि निहा साम्बाको जस्तै हो । किड्नीमा पत्थरी भएपछि गत साउन १२ मा लाइफगार्ड हस्पिटलमा गइन् । दुरबिनबाट उनको शल्यक्रिया गरेर पत्थरी डा. इकबालले झिके । उनले स्वास्थ्य बीमाबाट स्वास्थ्य उपचारको रकम दिएपछि पनि बिरामीसँग थप ३० हजार रुपैयाँ लिएको धनेश्वरीका श्रीमान मानबहादुर गुरुङले बताए ।

धनेश्वरी लिम्बु

‘सुरुमा ३६ हजार भन्यो । त्यसपछि आफू अपाङगता भएको व्यक्ति भनेपछि ६ हजार रुपैयाँ छुट गरेपछि ३० हजार रुपैयाँ डाक्टरलाई बुझाएको हुँ,’ उनले भने, ‘चिकित्सकले भने जति पैसा दिएन भने उपचार हुँदैन भन्दै पठाउने डरको कारणले बाध्य भएर थप पैसा दिनुपर्‍यो ।

माथि उल्लेखित तीन घटना प्रतिनिधीमूलक मात्रै हुन् । लाइफगार्ड हस्पिटलका संचालकसमेत रहेका युरोलोजिष्ट डा. इकवाल अहमदले अप्रेसनको नाममा बीमाबाट र बिरामीसँग मनलाग्दी रुपमा रकम लिएर ठगी गरेको प्रमाण हेल्थआवाजले भेटेको छ ।

स्वास्थ्य बीमाबाट अप्रेसनको भुक्तानी लिएपछि पनि डा. अहमदले बिरामीसँग अप्रेसन थिएटरभित्र सहयोगी राखेर थप मनलाग्दी रुपमा रकम असुली गर्ने गरेको पाइएको हो । ‘बिरामीलाई अप्रेसन थियटरमा पसाएपछि बिरामीका आफन्तलाई चिकित्सक इकबालको टिमले कुनै पनि अप्रेसनको नाममा ४० हजारबाट डिल गर्न सुरू गर्दछन् । त्यसपछि बिरामीको आर्थिक अवस्था हेरेर रकम वार्गेनिङ गर्दै थोरैमा १५ हजार रुपैयाँसम्म लिएको हामीले देखेका छौं,’ बिरामीका आफन्त भुपाल श्रेष्ठले भने, ‘उता बीमाबाट पनि भुक्तानी दाबी गरेर लिन्छन् । यता बिरामीबाट पनि असुली धन्दा गर्दछन् । यसरी बिरामीलाई लुट्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।’ अस्पताल प्रशासनमा पनि बिरामीहरुले डा. इकबालले अतिरिक्त शुल्क लिने गरेको गुनासो पुग्ने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डित स्वास्थ्य उपचारको नाममा दोहोरो रुपमा शुल्क लिन नमिल्ने बताउँछन् । स्वास्थ्य बीमाबाट पनि भुक्तानी लिने र बिरामीको आफन्तबाट पनि त्यही नाममा रकम लिने परिपाटी गलत भएको उनले बताए । कुनै पनि बिमितले लिखित उजुरी वा गुनासो गरे छानविन गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।

‘उजुरी आएको खण्डमा हामीले छानविन गर्नेछौं र कारवाही गर्नेछौं । स्वास्थ्य नियमावलीमा २४ घण्टाभित्र सम्बन्धित अस्पताललाई पत्र काटेर कारवाहीको प्रक्रिया अगाडि बढाउने अधिकार स्वास्थ्य बीमा बोर्डलाई रहेको छ,’ उनले भने, ‘हामीले त्यस विषयमा प्रक्रिया अगाडि बढाउनेछौं ।’

१ बैशाखबाट सरकारी अस्पतालले १० प्रतिशत र निजीमा २० प्रतिशत बिमितले भुक्तानी गरिनुपर्ने नियम बनाएको छ । यता लाइफ गार्ड अस्पतालका युरोलोजिष्ट डा. इकबाल अहमदले बिरामीसँग इक्वीमेन्ट र इम्प्लान्टबाहेक अरु कुनै पनि नाममा रकम नलिएको दाबी गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ