विराटनगर—मोरङको कटहरी गाउँपालिका–२ हल्दीवारीमा दुई अर्बको लागतमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेसन संचालनमा आएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आएको उक्त अस्पतालमा पूर्ण रुपमा सञ्चालनमा आउँदा ११६ जना चिकित्सकसहित ५१६ जनाले रोजगारी पाउने आँकलन गरिएको छ ।
२० बिगाहा क्षेत्रफल फैलिएको उक्त अस्पतालको संरचना भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्यका साथ बनाइएको छ । ५०० शैय्याको अस्पताल निर्माण गरेर एमबीबीएसलगायतका पाठ्यक्रम सञ्चालन गर्ने योजना फाउण्डेसनको छ ।
हाल २०० शैय्या सञ्चालनमा आएको उक्त अस्पतालमा दुई दर्जन बढी विशेषज्ञ चिकित्सकसहित २०० जनाको स्वास्थ्यकर्मी टिम कार्यरत छ । भविष्यमा ३ सय शैय्यामा विस्तार हुँदा ४४ जना विशेषज्ञ चिकित्सक, ७२ जना मेडिकल अधिकृत, १२० जना नर्स, ३६ जना पारामेडिकल, ६ जना फार्मेसी अधिकृतलगायत गरी करिब ५१६ जनासम्म जनशक्ति आवश्यक पर्ने अस्पतालको वातावरणी प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए)मा आँकलन गरिएको छ ।
शनिबार अस्पताल उद्घाटन समारोहमा बोल्दैं प्रधानमन्त्री ओलीले समाज परिवर्तनका लागि ठूला सपना देख्नुपर्ने र ती सपना व्यवहारमा उतार्न सकिने बताए । ‘केही नभएको ठाउँमा दुई सय शैय्याको अस्पताल खोल्नु ठूलो उपलब्धि हो। सम्मानपूर्वक ढंगले गरिबले उपचार पाउने छन् तसर्थ म अत्यन्त खुसी छु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले तीन सय शैय्यामा विस्तार गरी अस्पताललाई भविष्यमा मेडिकल कलेजमा रूपान्तरण गर्ने योजना रहेको उल्लेख गर्दै थपे, ‘तीन सय बेड पुर्याएपछि मेडिकल कलेज पनि पुर्याउन सकिन्छ । सरकारले तपाईंहरूलाई प्रोत्साहन र आत्मविश्वास बढाउन जे आवश्यक सहयोग हो, गर्न तत्पर छ ।’
उनले प्रतिनिधिसभा सदस्य तथा अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलको प्रशंसा गर्दै भने, ‘आज धेरैलाई सम्मान गर्नुपर्ने थियो । तर, छुट भयो। म स्पष्ट भन्न चाहन्छु आज सम्मान योगेन्द्र मण्डललाई दिनुपर्ने हो । त्यो सम्मान अर्को दिन दिनुपर्छ ।’
उनले उद्यमशीलता केवल कुरा गरेर नभई काम गरेर देखाउन सकिने धारणा व्यक्त गरे । ‘उद्यमशीलताको कुरा गरेर हुँदैन, कामले हुन्छ,’ उनले भने । प्रधानमन्त्रीले अस्पतालमार्फत समाजमा परिवर्तन ल्याउने अभियानको खुलेर प्रशंसा गरे ।
ग्रामीण तथा मध्यम वर्गीय जनतालाई लक्षित गर्दै सेवा सुरु गर्न लागिएको उक्त अस्पतालको मुख्य उद्देश्य सबै नागरिकको स्वास्थ्य सेवामा सहज र समान पहुँच सुनिश्चित गर्नु रहेको फाउण्डेसनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार अस्पतालमा अत्याधुनिक उपकरण, अनुभवी चिकित्सक र दक्ष स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय सेवा प्रदान गरिनेछ ।
अस्पतालमा आकस्मिक सेवा, विशेषज्ञ ओपीडी, गाइनो, बालरोग उपचार, डायलासिस, जनरल तथा लेप्रोस्कोपिक सर्जरीलगायतका सेवा उपलब्ध हुनेछन् । साथै, हृदय रोग तथा न्यूरो सर्जरी सेवा पनि सुरु गर्ने तयारी गरिएको छ । ‘हामीले क्याथ ल्याब, सिटी स्क्यान, एमआरआईजस्ता उपकरण ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘हृदय तथा मस्तिष्क सम्बन्धी जटिल शल्यक्रियाका लागि आवश्यक पूर्वाधार पनि तयार पारिएका छन् ।’