२०८२ पुस ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’

हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’


विराटनगर—हेल्थआवाज डटकम कोशी प्रदेशका संयोजक अनिल श्रेष्ठलाई यस वर्षको ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ जिल्ला शाखाले स्वास्थ्य क्षेत्रका विकृति र विसंगतिविरुद्ध कलम चलाउँदै सुधारमा योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मान गरेको हो ।

संघको कोशी अञ्चल शाखाका संस्थापक अध्यक्ष स्व. लक्ष्मीनाथ उप्रेतीको स्मृतिमा स्थापित उक्त सम्मानको राशी १० हजार १ सय रुपैयाँ रहेको छ । बुधबार विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रममा आयोजित एक कार्यक्रमकाबीच पत्रकार श्रेष्ठलाई दोसल्ला, सम्मान–पत्र र नगद राशीसहित पुरस्कृत गरियो ।

विराटनगरका सक्रिय पत्रकार उनलाई संघका केन्द्रीय सदस्य प्रदीपकुमार दास, कोशी प्रदेश अध्यक्ष धनराज काफ्ले, मोरङ जिल्ला अध्यक्ष देशबन्धु ढकाल र पूर्वाञ्चल बाल सेवा आश्रमकी संस्थापक सीता पोखरेलले संयुक्त रूपमा सम्मान गरे ।

सोही अवसरमा आश्रममा आश्रितहरूका लागि निःशुल्क आँखा शिविर तथा औषधी वितरण कार्यक्रमसमेत आयोजना गरिएको थियो । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आश्रमका ज्येष्ठ नागरिक र बालबालिकाहरूको आँखा परीक्षण गरिएको थियो ।

कार्यक्रममा बोल्दै संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले स्वास्थ्य शिविरमा परीक्षण गराएका बिरामीलाई आवश्यक पर्ने औषधी निःशुल्क वितरण गरिएको जानकारी दिए । अध्यक्ष ढकालले औषधी व्यवसायीहरू पेसागत हकहितसँगै सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै सक्रिय रहेको बताए ।

संघका महासचिव अरुण ब्राम्हण ठाकुरले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा व्यवसायी शेखरनाथ उप्रेतीलगायतले स्वास्थ्य क्षेत्रको सम्बन्धबारे चर्चा गरेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ