२०८३ साउन ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य

जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य


विराटनगर—मोरङको कटहरी गाउँपालिका–२ स्थित हल्दिवारीमा सञ्चालित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको छ। आइतबार अस्पतालले एक विशेष समारोहबीच पहिलो वार्षिकोत्सव मनाउँदै दोस्रो वर्षमा प्रवेश गरेको हो।

२०० शय्या क्षमताको यस अस्पतालले एक वर्षको छोटो अवधिमै पूर्वी नेपाल र छिमेकी मुलुक भारतका बिरामीहरूलाई गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। मोरङ— ५ का निवर्तमान प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलको पहलमा स्थापना भएको यो अस्पताल मुनाफारहित संस्थाको रूपमा सञ्चालित छ।

वार्षिकोत्सवलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष एवं संस्थापक मण्डलले अस्पताललाई विश्वस्तरीय बनाउने संकल्प व्यक्त गरे । ‘हाम्रो लक्ष्य ग्रामीण क्षेत्रका विपन्न नागरिकले बिना झन्झट उच्चस्तरीय उपचार पाउन सकून् भन्ने हो,’ उनले भने ।

अस्पतालका संयोजक तेजस्वी मण्डलका अनुसार अस्पतालले पहिलो वर्षमै सिटीस्क्यान र एमआरआईजस्ता अत्याधुनिक सेवा सुरु गरिसकेको छ भने निकट भविष्यमै मुटु रोगको उपचारका लागि क्याथ ल्याब सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ।

कार्यक्रममा जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डल, अस्पतालका सञ्चालक सञ्जयकुमार मण्डल र मेडिकल डाइरेक्टर डा. आरके मण्डलले अस्पतालको प्रगति र आगामी कार्ययोजनाबारे चर्चा गरे ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ