विराटनगर –विराटनगरस्थित कोशी अस्पतालमा विगत ६ महिनादेखि ठप्प रहेको इन्डोस्कोपी सेवा पुनः सुचारु भएको छ। बुधबारदेखि उपकरण बिग्रिएका कारण लामो समयदेखि बन्द रहेको सेवा नयाँ मेसिन जडान भएसँगै सञ्चालनमा आएको हो।
अस्पतालमा नयाँ इन्डोस्कोपी मेसिन चार दिनअघि नै आइपुगेको थियो। तर, दक्ष कर्मचारी व्यवस्थापनमा अस्पताल प्रशासन अल्झिँदा मेसिन आएको चार दिनसम्म पनि बिरामीले सेवा पाउन सकेका थिएनन्। बुधबारदेखि अस्पतालमा भर्ना भएका बिरामीहरूको इन्डोस्कोपी गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।
कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि सेवा सुचारु
इन्डोस्कोपी विभागमा कर्मचारी व्यवस्थापनको समस्या हुँदा उपकरण आइसकेपछि पनि सेवा सुरु हुन ढिलाइ भएको थियो। यसअघि विभागमा कार्यरत आमोद कुमार सिंहलाई अस्पतालले आकस्मिक (इमर्जेन्सी) कक्षमा सरुवा गरेको थियो।
इन्डोस्कोपी सेवामा दक्ष जनशक्ति मानिएका सिंह आकस्मिक कक्षमा खटाइएपछि नयाँ उपकरण सञ्चालन गर्ने कर्मचारीको अभाव देखिएको थियो।
अस्पताल प्रशासनले बुधबार सिंहलाई पुनः इन्डोस्कोपी विभागकै जिम्मेवारी दिएपछि सेवा सञ्चालनमा आएको हो। कर्मचारी अभावका कारण उपकरण थन्किएको विषय सार्वजनिक भएपछि प्रशासनले सिंहलाई पुरानै जिम्मेवारीमा फर्काएको बताइएको छ।
सरकारी अस्पतालमा ६ महिनादेखि इन्डोस्कोपी सेवा बन्द हुँदा सर्वसाधारण बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल तथा क्लिनिक जान बाध्य थिए। कोशी अस्पतालमा न्यून शुल्कमै उपलब्ध हुने यो सेवा पुनः सञ्चालनमा आएपछि विशेषगरी न्यून आय भएका बिरामीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
हाल अस्पतालमा भर्ना भएका बिरामीहरूको परीक्षण सुरु गरिएको र आगामी दिनमा ओपीडीका बिरामीहरूका लागि पनि सेवा सहज बनाइने अस्पताल प्रशासनले जनाएको छ।