२०८३ साउन ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा ३६ करोडको लगानीमा ‘इफराह आँखा अस्पताल’ सञ्चालनमा

विराटनगरमा ३६ करोडको लगानीमा ‘इफराह आँखा अस्पताल’ सञ्चालनमा


विराटनगर – विराटनगरमा ३६ करोड रुपैयाँको लगानीमा आधुनिक सुविधासम्पन्न ‘इफराह आँखा अस्पताल’ सञ्चालनमा आएको छ ।सोमबार एक विशेष समारोहबीच विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा निर्माण गरिएको सो अस्पतालको उद्घाटन गरिएको हो ।

कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र अस्पतालका अध्यक्ष मोहम्मद जाकिर हुसेनले संयुक्त रूपमा अस्पतालको उद्घाटन गरे ।

अस्पतालका अध्यक्ष हुसेनका अनुसार पहिलो चरणमा अस्पतालले दैनिक कम्तीमा ५० जना बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य राखेको छ । ‘हामीले अत्याधुनिक प्रविधिसहितको सेवा सुरु गरेका छौँ,’ उनले भने, ‘यस अस्पतालले ५० भन्दा बढी स्थानीयलाई रोजगारी समेत प्रदान गरेको छ ।’

अस्पतालका निर्देशक एवं वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. जितेन्द्रकुमार झाले अस्पतालमा आँखासम्बन्धी सम्पूर्ण जटिल रोगहरूको उपचार उपलब्ध हुने जानकारी दिए । डा. झाका अनुसार अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, अकुलोप्लास्टी सर्जरी आँखाको प्लास्टिक सर्जरी तथा आँखाको पर्दा रेटिना सम्बन्धी रोगहरूको विशेषज्ञ सेवा उपलब्ध हुनेछ ।

‘आँखाका बिरामीले अब सानो कामका लागि पनि बाहिर धाउनुपर्ने अवस्था रहने छैन,’ डा. झाले भने, ‘आगामी दिनमा हामी थप अत्याधुनिक सेवाहरू विस्तार गर्दै लैजाने योजनामा छौँ ।’

यस अस्पतालको सञ्चालनसँगै कोशी प्रदेश र छिमेकी भारतीय सहरका बिरामीहरू समेत लाभान्वित हुने विश्वास लिइएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ