२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टहटस्पटका कुशल व्यवस्थापक : जसको नेतृत्वमा फेरिदैंछ सरकारी अस्पतालको मुहार

हटस्पटका कुशल व्यवस्थापक : जसको नेतृत्वमा फेरिदैंछ सरकारी अस्पतालको मुहार


काठमाडौं–राजनीतिक खिचातानी, दैनिक विवादको अखडा, अव्यवस्थाको पर्याय, चिकित्सकहरु क्लिनिक चलाउने लाइसेन्स उपलब्ध गराउने अस्पताल । यस्तै—यस्तै उपनामले चिनिएको थियो—वीरगन्जस्थित नारायणी अस्पताल । तर, कोभिड—१९ महामारी आएसँगै सो अस्पतालको परिचय एकाएक परिर्वतन भएको छ । बिरामी भएपछि सकेसम्म निजी अस्पतालमै जान रुचाउने त्यस क्षेत्रका जनतामा सरकारी अस्पतालप्रति आशा जाग्न थालेको छ ।

‘कोभिड—१९ को समयमा अस्पतालले दिएको सेवा यस क्षेत्रका जनताको मन जित्न थालेको छ,’ वीरगञ्जमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार तुलसी भण्डारी भन्छन्, ‘अहिलेको कोभिड—१९ मा सबैभन्दा सक्रिय नारायणी अस्पताल र नेपाली सेना देखिएको छ । वीरगञ्जमा कोभिड—१९ सुरु हुँदै गर्दा यी दुई संस्थाले सक्रियता नदेखाएको भए अहिले वीरगञ्ज यति शान्त हुने थिएन ।’ उनी अस्पतालको पछिल्लो नेतृत्वबाट नारायणी अस्पताल सुधार हुनेमा आशावादी पनि छन् ।

संकटको समयमा निकास दिन सक्ने खुवी नेतृत्वमा हुनुपर्छ । कोरोना संकटको समयमा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्यायले आफ्नो खुबीलाई प्रमाणित गरेको उनको बुझाइ छ ।

कोरोना कहर सुरु भएको ६ महिना लाग्यो । नेपालमा पहिलो कोरोना पोजेटिभ देखिएको पनि ५ महिना कट्यो, दोस्रो केस देखिएपछि सरकार तात्यो । सरकारले नारायणी अस्पताललाइ लेभल—२ को कोरोना संक्रमितको उपचार गर्ने अस्पतालको रुपमा तोक्यो ।

अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल तोक्दै गर्दा सो अस्पतालमा ६० प्रतिशत जनशक्ति खाली थियो । अहिलेसम्म पनि खाली नै छ । संक्रमितको व्यवस्थापनमा क्रमसः सुधार गर्दै पछिल्लो समय अब्बल नै देखिएको संक्रमित भएर निको भएका वीरगन्जका अर्का पत्रकार सुरेश विडारीको ठम्याइ छ । उनकै हेराइमा पनि पछिल्लो समय नारायणी अस्पतालमा केही सुधारका संकेत देखिएका छन् । ‘सुरुका दिनबाट सिक्दै कोरोना संक्रमितको जुन किसिमले व्यवस्थापन गरिरहेको छ, त्यसले अस्पतालमा परिर्वतन आएको संकेतको रुपमा हेर्नुपर्छ,’ उनी भन्छन्, ‘राजनीतिक दलदलमा फसेको संस्थाले अहिलेको अवस्थामा यति व्यस्थित काम गर्न सक्नु नै ठूलो कुरा हो ।’

विडारीको बुझाइमा कोभिडबाट सिक्दै र अस्पताल सुधार गर्दै गएको अवस्था छ । ‘पछि फेरि कस्तो हुन्छ भन्न नसकेपनि कोभिड—१९ पछिको सिकाइलाई अवसरको रुमपा लिएको भनेर बुझ्न सकिन्छ ।

६० प्रतिशत जनशक्ति खाली


जनशक्तिको हिसाबमा हेर्ने हो भने अहिले नेपाल सरकारतर्फका झण्डै ६० प्रतिशत दरबन्दी खाली छ भने विकास समितितर्फको २० प्रतिशत खाली छ । नेपाल सरकारतर्फ ११ जना ११ औं तहका विशेषज्ञको दरबन्दीमा १० वटा खाली छन् । ११ औं तहको नर्सिङ मेट्रोन पनि खाली अवस्थामा छ । ९ औं तहका ३८ विशेषज्ञ चिकित्सकको दरबन्दीमा २१ वटा पद खाली रहेको छ । ८ औं तहका १३ जना मेडिकल अधिकृतको दरबन्दीमा ८ वटा सिट खाली छ ।

४० जनाको नर्सिङ स्टाफ पदमा खाली र विदामा बसेकाबाहेक १० जनामात्र हाजिरमा छन् । ३ पद रहेको नर्सिङ अधिकृतमा १ वटा खाली छ । ६ जना अनमीमध्ये ४ जना खाली छ । ५ जना पारामेडिक्सतर्फका कर्मचारी पनि खाली रहेका छन् । अन्य विधाका पनि खाली रहेका छन् । मेसु उपाध्याय ११ औं तह बाहेक अन्य खाली रहेका पदमा करारबाट लिने गरी सूचना प्रकाशित गरिएको बताउँछन् ।

यति धेरै स्टाफ नहुँदा पनि कसरी अस्पतालले कोभिड—१९ महामारीसँग जुधिरहेको छ त ? ‘लेभल २ अस्पतालको रुपमा तोक्नसाथ मेडिकल सुपरिटेण्डेन्टले विभिन्न खालका टिम बनाउनुभयो,’ कोभिड—१९ संक्रमितको उपचारको संयोजन गरिरहेका अस्पतालका चिकित्सक डा. उदय सिंह भन्छन्, ‘टिम बनाएपछि उहाँले मानसिक रुपमा सबैलाई यस्तो मोटिभेसन गर्नुभयो, जसले गर्दा सबैजनाले आफ्नो दायित्व अनुसारको काम गरिरहेका छौं ।’

सरकारले केन्द्र माताहतमा नारायणी अस्पताललाई राखेको छ । व्यवस्थापकीय पक्ष केन्द्र सरकारले हेर्छ । तर, अस्पतालले प्रदेश र स्थानीयस्तरमा काम गर्नुपर्छ । केन्द्र, प्रदेश र स्थानीय तह तीन वटा निकायसँग सहकार्य गर्ने अवस्थामा भने कहिलेकाही कठिनाइ आउने गरेको अस्पतालका हाँकिरहेका मेसु डा. मदन उपाध्ययको अनुभव छ । तर, कोभिड—१९ को समयमा भने सबैबाट सहयोग भइरहेको उनी बताउँछन् । ‘केन्द्रीय अस्पताल भनेपनि सेवाग्राही त आम जनता हुन्, धेरै यही क्षेत्रका हुन्छन्,’ उनी भन्छन्, ‘कहिलेकाही तीन तहका सरकारलाई चित्त बुझाउन चाहिँ गाह्रो हुन्छ ।’

पछिल्लो समय अस्पतालमा देखिएको सुधारको संकेतलाई सिधै प्रशंसा गर्न नसके पनि अस्पतालमा आफ्नो पनि प्रभाव होस् भन्ने चाहना स्थानीय सरकारले राखेको वीरगन्ज महानगरका प्रमुख विजयकुमार सरावगीकोे भनाइबाट पनि थाहा हुन्छ । ‘कोरोना व्यवस्थापनको पाटोमा नारायणी अस्पतालले गरेको काम सह्रानीय नै छ,’ उनी भन्छन्, ‘तर, केन्द्रिय अस्पताल भन्दैमा समस्या परेको बेला मात्र हामीलाई सम्झिएर त भएन नि ।’

अस्पताल प्रसाशकीय अधिकृत मुकुन्द पौडेलका अनुसार अस्पतालले कोरोना सुरु भएसँगै अस्पतालको कोभिड—१९ गाइडलाइन, पीपीई व्यवस्थापन, छुट्टै आइसोलेसन वार्ड तय गरेको थियो । संक्रमित बढ्दै जाँदा आफ्नै पिसिआर ल्याव स्थापना गर्‍यो भने भर्खरै महानगरले थप अर्को पिसिआर मेसिन पनि दिएको छ । त्यसो त नारायणी अस्पतालमा क्याथ ल्याव संचालन गर्नको लागि प्रक्रिया पनि सुरु भइसकेको छ । सो ल्याव संचालनमा ल्याएपछि सो क्षेत्रमा भएका हृदयघात तथा मुटुका बिरामीले तत्काल उपचार सेवा पाउनेछन् ।

डा मदन मेसु नभएको भए पर्सामा कोरोनाको विस्फोट हुन्थ्यो

डा उदय सिंह, कोभिड—१९ संक्रमित व्यवस्थापन संयोजक

डा. मदन सही समयमा सही निर्णय लिन सक्ने नेतृत्वकर्ता हो । एक स्थानीय र एक चिकित्सक भएको नाताले मलाई यति भन्न हिचकिचाहट छैन कि डा. मदनबाहेक जो कोही अहिलेको अवस्थामा मेसु भएको भए पर्सामा कोरोना विष्फोट हुन्थ्यो । उहाँको काम गराइ एकदमै फरक खालको छ । सबैलाई जिम्मेवारी दिनुहुन्छ, काम गरे/नगरेको अनुगमन गर्नुहुन्छ । सँगै आफू पनि खट्नुहुन्छ । सुरुमा त्यत्रो त्रासका बीच नारायणीले सही तरिकाले संक्रमित व्यवस्थापन गर्न सक्नुको प्रमुख कारण भनेको उहाँले तय गरेको सही प्लान र प्रिपरेसन नै हो ।

हामीले सुरुमै टिम बनाएर जिम्मेवारी बाँडफाँड गरी काम गरियो । अस्पताल र क्लिनिकल जिम्मा विभागीय प्रमुखलाई दिएर आफूले ओभरअलमा हेर्नुभयो । पब्लिक हेल्थबाट आएकोले होला कन्ट्रयाक ट्रेसिङमा आफै खट्नुभयो । जसले ठूलो संख्यामा संक्रमण आउँदा पनि हाम्रोमा समस्या भएन । उहाँको सबैभन्दा राम्रो पक्ष कसैलाई पनि कहिल्यै राजनीतिक र व्यक्तिगत पूर्वाग्रहले भेदभाव गर्नुहुन्न ।

कर्मचारी बीच दूरी घट्दै गएको छ

प्रल्हाद साह, इमर्जेन्सी इन्चार्ज
कोभिड—१९ आउनु अगाडिबाटै हामी तयारीमा थियौ । मेसुले पहिलै मिटिङ गरी टिम छुट्याएर जिम्मेवारी दिनुभएको थियो । त्यही मिटिङअनुसार ज्वरो क्लिनिक सुरु गरियो । हामी व्यवस्थापनमा लाग्यौ, उहाँले मनिटरिङ गर्नुभयो । सुरुमा हामीले कोभिड—१९ का मात्र बिरामी हेरेर अन्य बिरामीलाई नेसनलमा सिफ्ट गर्यौ, सामान्य हुँदै गएपछि पुनः कोभिड—१९का बिरामीलाई गण्डक अस्पताल सिफ्ट गरी अन्य सेवाहरु पनि सुरु गरियो ।

म यहाँ काम गर्न थालेको ५ वर्ष भयो तर अहिले जसरी सरसल्लाह भएर काम भएको मलाई थाहा छैन । सबैले सल्लाह गरेर काम गर्दा सहज हुने रहेछ । मेसुको सबैभन्दा राम्रो कुरा भनेको उहाँ सबैलाई राखेर योजना बनाउनुहुन्छ । जसले बनाएका योजनालाई कार्यन्वयन गर्न अपनत्व आउदो रहेछ । अर्को कुरा मेसु समस्या परेको स्थानमा जुनसुकै समयमा पनि आफै उपस्थित भएर त्यसलाई निराकरण गर्नुहुन्छ ।

जुनसुकै विभागमा समस्या आएपनि सबै विभागका मानिसहरुलाई बोलाएर मिटिङ गर्नुहुन्छ । जसले केही न केही नयाँ सोच आउँछ । उहाँ कुन सही र कुन गलत भन्ने कुरा तत्काल थाहा पाउन सक्ने खुबी भएको मान्छे हो । सल्लाहले काम गर्दा कर्मचारी बीच दूरी पनि कम हुने रहेछ ।

उहाँमा कामप्रति लगाव छ

मुकुन्द पौडेल, प्रशासकीय अधिकृत

म यहाँ बसेको धेरै वर्ष भयो, ठ्याक्कै वर्ष त याद छैन । तर, उहाँमा कामप्रति यति लगाव छ, खट्न सक्नुहुन्छ । उहाँ कोभिड—१९ मा मात्र होइन अन्य नियमित व्यवस्थापनमा पनि फरक पर्न गएको छ । झण्डै वेथितीको अन्तिम चरणमा पुगिसकेको यो अस्पताल स्वास्थ्य संकटका बेलामा पनि यो अवस्थामा ल्याइपु¥याउनु उहाँकै मेहनत र काम गर्ने शैली हो ।

को हुन डा. मदन ?

नारायणी अस्पतालका मेसु डा. उपाध्यायको स्थायी घर जनकपुर हो । ४५ वर्षीय उनी विराटनगरमा जन्मिएका हुन् । जनकपुरको मिथिला इंग्लिस स्कुलबाट उनले २०४८ सालमा पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् । रामस्वरूप रामसागर बहुमुखी क्याम्पसबाट ०५१ सालमा आईएस्सी उत्तीर्ण गरेका उनले काठमाडौं युनिभर्सिटीबाट सम्बन्धन प्राप्त नेपाल मेडिकल कलेजबाट सन् २००२ मा एमबीबीएसको अध्ययन पूरा गरेका हुन् ।

डा. मदनसँग नेपाल मेडिकल कलेज, जनकपुर अस्पताल, जानकी मेडिकल कलेज, विराट नर्सिङ होमलगायतका संस्थामा काम गरेको अनुभव छ । विं.सं. २०७० सालमा नवौ तहमा नाम निकालेर उनी सरकारी सेवामा प्रवेश गरेका हुन् । त्यसपछि उनले स्वास्थ्य मन्त्रालय, संखुवासभा अस्पताल र धनकुटा अस्पतालको नेतृत्व गरे ।

विं.सं. ०७४ सालमा ११ औं तह (सहसचिवस्तर)मा लोकसेवामा नाम निकालेपछि उनी स्वास्थ्य मन्त्रालय, मध्यमाञ्चल स्वास्थ्य निर्देशनालय हेटौडामा काम गरे । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पनि भए । संघीयतामा कर्मचारी समायोजन भएपनि राष्ट्रिय ट्रमा सेन्टरमा पदस्थापन भयो । तर, गत साउनदेखि उनी नारायणी अस्पतालको मेसुका रुपमा क्रियाशील छन् ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ