२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टखोप लगाउँदा मृत्यु भएका ४ बालवालिकाका परिवार : ६ वर्षमा फैसला, ७ वर्षमा क्षतिपूर्ति

खोप लगाउँदा मृत्यु भएका ४ बालवालिकाका परिवार : ६ वर्षमा फैसला, ७ वर्षमा क्षतिपूर्ति


काठमाडौं—दादुराको खोप लगाउँदा मृत्यु भएका डोटीको पूर्वी चौकी गाउँपालिका—५ का ४ बालवालिकाको परिवारले ७ वर्षपछि क्षतिपूर्ति पाएका छन् । चारै बालवालिकाका परिवारले जनही १० लाखका दरले ४० लाख सरकारबाट क्षतिपूर्ति पाएका हुन् ।

डोटी जिल्ला साविक काठमाडौं गाविसका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको प्रदुषित खोपका कारण मृत्यु भएको सर्वोच्च अदालतले १४ असार ०७५ फैसला गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीसद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

फैसला भएको १ वर्षपछि चारै परिवारलाई जनही १० लाखका दरले क्षतिपूर्ति जिल्ला प्रशासन कार्यलय डोटीमार्फत पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आर्थिक ब्यवस्थापन शाखाका प्रमुख मुक्तिनाथ न्यौपानेले बताए ।

मृतकका परिवारका पक्षमा अदालती लडाइ लडेका अधिवक्ता समेत रहेका लक्ष्मण मलासी सर्वोच्चले फैसला गरेको तीन महिनामा क्षतिपूर्ति उपलब्ध गराउन भनेपछि सरकारले एक वर्ष ढिला गरेको बताए । ‘सर्वोच्चले तीन महिनामा पीडितलाई क्षतिपूर्ति दिलाउन भनेको थियो । तर, बल्लबल्ल एक वर्षमा पाए,’ उनले भने, ‘सरकारी संयन्त्रमा हराइसकेको फाइल खोजतलास गरेर प्रक्रिया पूरा गर्नै एक वर्ष लाग्यो । यस विषयमा स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिवहरुसँग त मेरो भनाभन नै प¥यो ।’

के छ फैसलामा ?

सर्वोच्चको फैसलामा भनिएको छ, ‘राज्यका अधिकारीहरुको असावधानी र गैरजिम्मेवारी कार्यका कारण निर्दोष बालबालिकाको ज्यान गएको देखिएकाले तीन महिनाभित्र मृतक बालबालिकाहरुको अभिभावकलार्इृ जनही १० लाख रुपैयाँ क्षतिपूर्ति जिल्ला प्रशासन कार्यलय डोटीमार्फत दिलाई सो प्रदुषित भायलको प्रयोगबाट बिरामी भएका अन्य बालबालिकाको हकमा निःशुल्क उपचार तथा उनीहरुको ब्यवहोर्नु परेको हैरानीका लागि उचित क्षतिपूर्ति समेतका लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा परमादेश जारी हुने ठहर छ ।’

अनुसन्धान समितिले के भनेको थियो ?

खोपका कारण चार बालवालिकाको मृत्यु भएपछि नेपाल सरकारले अनुसन्धानका लागि डा. जगतनारायण गिरी, डा. अजित रायमाझी, डा. सिर्जना श्रेष्ठ र तत्कालीन खोप शाखाका अधिकृत प्रेम श्रेष्ठ सम्मिलित स्थलगत अनुसन्धान समिति बनाएको थियो । सो समितिले ६ भदौं २०६९ देखि १० भदौं २०६९ सम्म स्थलगत अनुगमन गरी अवाञ्छित घटनाको अनुसन्धानको केन्द्रीय समितिलाई प्रतिवेदन बुझाएको थियो । ११ भदौं २०६९ मा बसेको अनुसन्धान केन्द्रीय समितिको बैठकले भ्याक्सिनकै कारण बालवालिकाको मृत्यु भएको निष्कर्ष निकालेको थियो ।

अनुसन्धान टोलीको रिपोर्टका आधारमा बालवालिकाको सम्पूर्ण लक्षण हेर्दा ‘टक्सीस सक सिन्ड्रोम’ भएको ठहर निष्कर्ष निकालेको थियो । स्थानीय रुपमा उक्त भ्याक्सिन भायल प्रदुषित भएको कारण हुन सक्ने र उक्त भायल प्रयोग भैसकेपछि नष्ट गरिएकाले प्रयोगशालामा थप परीक्षण गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ । साथै, समितिले प्रतिवेदन थप अनुसन्धान गर्न आवश्यक नरहने समेत निर्णय गरेको थियो । सो घटनापछि समितिले नेपाल सरकारलाई चार बुँदे सुझाव समेत दिएको थियो ।

के भएको थियो घटना ?

२०६९ भदौं ३ गते काठमाडौं गाविसको सानागाउँ इलाका स्वास्थ्य चौकीले १९ जनालाई खोप लगाएको थियो । जसमध्ये ६ जनामा दादुराको खोप लगाइएकोमा ४ जनाको मृत्यु भएको थियो । खोप लगाइएको भोलिपल्टै १२ वर्षीय मिलन नेपाली, ८ महिनाकी सुजाता नेपाली, १९ महिनाकी गौरी चिराल, ९ महिनाकी अन्जु विकको मृत्यु भएको थियो । त्यसपछि, बिरामीका आफन्तका जिल्ला अदालत र पुनरावेदन अदालतले फैसला गर्न नसकेपछि सर्वोच्च अदातल पुगेका थिए । सर्वोच्च उक्त मुद्धामाथि १४ असार २०७५ मा फैसला सुनाएको थियो ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ