२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टवीरको बेवारिसे भिभिआईपी कक्ष : पहिले राजा वीरमा जान्थे, अहिलेका नेता निजीमा धाउँछन्

वीरको बेवारिसे भिभिआईपी कक्ष : पहिले राजा वीरमा जान्थे, अहिलेका नेता निजीमा धाउँछन्


काठमाडौं—वीर अस्पतालको अति विशिष्ट क्याविन २९ वर्षदेखि खाली छ । राजा महाराजाका परिवाले उपचार गर्न बनाएको सो कक्ष २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापनासँगै ताला लागेको छ ।

वीर अस्पतालका पूर्व निर्देशक प्रा.डा. स्वयंम प्रकाश पण्डितकाअनुसार सो क्याबिनमा बिरामी र कुरुवा सुत्ने कोठा, बिरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठ वटा कोठा छन् । कुनै पनि सुविधाको कमी नहुने गरी अस्पतालले क्याबिनमा मर्मत गरेपनि २९ वर्षदेखि अति विशिष्ट क्याबिन खाली छ ।

अस्पतालका अनुसार पूर्व राष्ट्रपति डा. रामवरण यादव, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आकल—झुक्कल वीर अस्पतालको बहिंरग सेवा लिन पुग्ने गरेका छन् । विशेषगरी उनीहरु दाँतको उपचार गर्न वीर अस्पताल जाने गर्छन् । अधिकारीहरुकाअनुसार नेपालमा दाँतको सबैभन्दा राम्रो उपचार वीर अस्पतालमा छ ।

तर, अति विशिष्ट कक्षमा भर्ना भएर उपचार गर्न कुनै पनि व्यक्ति पुगेका छैनन् । सरकारले अन्तर्राष्ट्रिय सभा समारोहमा तयारी राख्न ठूलो रकम खर्च गरेपनि सेवा लिन भिभिआईपी र भिआईपी निजी स्वास्थ्य संस्थामा जाने गरेको छन् ।

भिआईपीको उपचार बेला बखत

वीर अस्पतालमा एकै रुपैयाँ नहुनेको समेत उपचार हुन्छ । अस्पतालका अनुसार पछिल्ला दिनमा भिआईपीहरु भने उपचारका लागि जान थालेका छन् । बितेका पाँच वर्षमा वीर अस्पतालमा १२ जना भिआईपीले उपचार सेवा लिएको भिभिआईपी तथा भिआईपी इन्चार्ज सीता अर्यालले बताइन् ।

भिआईपी उपचारमा नआउने देखेपछि अस्पतालले क्याबिनलाई तयारी अवस्थामा राख्न छाडेको थियो । तर, दुई वर्षअघि काठमाडौंमा सम्पन्न सार्क सम्मेलनलाई लक्षित गरी पुनः ५० लाख रुपैयाँ लगानीमा क्याबिनलाई मर्मत सम्भार गरी तयारी अवस्थामा राखेको छ । त्यस अगाडि १३ लाखमा सो कक्ष संचालनमा ल्याइएको हो ।

रानी ऐश्वर्याको क्याबिनमा उपचार

विगतमा तत्कालीन रानी ऐश्वर्यले वीरको भिभिआईपी क्याबिनमै बसेर उपचार गराएकी थिइन् । ‘रानी ऐश्वर्य, राजा वीरेन्द्रका बहिनी ज्वाइँ र सौतेनी आमापट्टीका छोराले पनि यही क्याबिनमा बसेर उपचार गराएको पुराना चिकित्सकहरु बताउँछन् ।

पञ्चायती व्यवस्था अन्त्यसँगै यो क्याबिनमा भिभिआईपी आउन छोडेका हुन । राजा महाराजा वीरमा उपचार गराउँन जान्थे । तर, अहिलेका नेताहरु नीजि अस्पताल जान्छन् ।

पाँच वर्षमा वीरमा उपचार सेवा लिने भिआईपी

नाम पद उपचार   भर्ना मिति बसाइँ
अम्बिका खवास सभासद्  गलस्टोनको अप्रेशन  २०७१/११/१७ ७ दिन
कमला शर्मा सभासद्  न्युरो, मुटुको समस्या २०७२/१०/०१ १० दिन
कमलादेवी महतो सभासद गलस्टोनको अप्रेशन २०७२/१२/११ ५ दिन
गोविन्द शर्मा न्यायाधीश हाइड्रोसिलको अप्रेशन   २०७३/०४/१९ १ दिन
प्रभादेवी बज्राचार्य  सभासद् गलस्टोनको अप्रेशन २०७३/०८/३० ७ दिन
कृष्ण धिताल सभासद्  पिसाव थैलीको अप्रेशन २०७४/०४/३२ ३ दिन
गिरिराजमणी पोखरेल  स्वास्थ्यमन्त्री  स्वाइन फ्लु  २०७४/०५/११ ७ दिन
तारानाथ रानाभाट  पूर्व सभामुख  प्रोस्टेटको अप्रेशन  २०७४/०८/१५ २१ दिन
कमला शर्मा सभासद् न्युरो, मुटुको समस्या २०७४/११/२२ ७ दिन
रामकुमारी चौधरी  कृषि राज्यमन्त्री अर्थोपेडिक्स अप्रेशन २०७५/०८/०३ ५ दिन
भरत कुमार शाह लेखा समिति सभापति किड्नीमा रहेको स्टोन झिकेको  २०७५/०९/२९
चन्द्रकुमार घिमिरे स्वास्थ्य सचिव पित्तथैलीको स्टोन झिकेको २०७५/१०/१७  ४ दिन

यस्तो छ भिभिआइपी र भिआइपी कक्ष

भिभिआईपी र भिआईपी कक्षमा सुविधायुक्त बेड, सोफा, एयरकन्डिसन, एटेज बाथरुम, राम्रा बत्ती तथा पर्दाहरू छन् । बिरामीको स्वास्थ्य अवस्था देखाउने ‘बेडसाइड मनिटर’ छ । बिरामीको हृद्धय गति, श्वास–प्रश्वास, रक्तचाप, शरीरको तापक्रमको अवस्थाबारे जानकारी दिने गर्छ ।

कोठामा सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन, डिफिब्रिलेटरलगायत आपत्कालीन उपचारका निम्ति आवश्यक सम्पूर्ण औषधि तथा सामग्री छन् । नजिकैको कोठामा इसिजी मेसिन छ । यसका साथै भेन्टिलेटर, अक्सिजनलगायत रहेको छ ।

कुनै सुविधामा कमी छैन

वीर अस्पतालमा भिभिआईपी उपचार गराउन नआएको भन्ने हैन । बेला बखत दाँतको उपचार गराउन अहिले पनि पुर्व राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्या देवि भण्डारी आउँछन् । भिभिआईपी क्याबिनमा भर्ना हुने गरी मात्रै नआएका हुन । सायद भर्ना हुनेगरी बिरामी नभएकाले पनि नआएको हुन सक्छ ।

वीरमा सुविधा सम्पन्न उपकरणहरु रहेका छन् । सोही अनुसारका विशेषज्ञ चिकित्सकहरु छन् । ‘जस्तोसुकै समस्यालाई समाधान गर्ने जनशक्ति हामीसँग छन् । त्यसैले वीरमा उपचार कस्तो होला भन्ने भ्रम कसैले पनि पाल्नुपर्ने अवस्था छैन । कुनै सुविधाको कमी छैन्,’ अस्पतालका निर्देशक डा केदार सेन्चुरी भन्छन् ।

दैनिक बिरामी २५ सय, शैय्या संख्या ३८० मात्रै

वीर अस्पतालमा दुई वर्ष यता बिरामीको चाप बढेको छ । अस्पतालको रेकर्डअनुसार विगतमा १ हजारदेखि १५ सय बिरामी आउने गरेकोमा हाल २ हजारदेखि २५ सयसम्म पुग्ने गरेका छन् । वीर अस्पताल १ सय २९ वर्षअघि ५ शैय्याबाट सुरु भएको हो । भूकम्प अघि ४ सय ८६ वेड भएपनि भूकम्पका कारण भवनमा क्षति पुग्दा ३ सय ८० बेडबाट हाल बिरामीलाई सेवा दिइरहेको छ ।


पछिल्लो समय कुन नेताको उपचार कहाँ ? 


प्रधानमन्त्री सिंगापुरमा

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली दुई पटक गरी झण्डै एक महिना सिंगापुरमा उपचार दुई हप्ताअघि फर्किएका छन् । प्रत्यारोपण भएको मिर्गौलाले एण्टीवडी नस्वीकारेपछि उनी उपचारका लागि सिंगापुर गएका थिए ।

पुष्पकमल दाहाल दाँत बनाउन मेडिसिटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि महंगो निजी अस्पताल पुगे । बुधबार सरकारले लगानी गरेको वीर अस्पताल नगएर उनी नेपालकै महंगो अस्पताल नेपाल मेडिसिटी पुगेका हुन ।

कृषि मन्त्री ग्राण्डीमा

गत हप्ता डेंगीको संक्रमण भएका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल देशकै महंगो निजी अस्पताल ग्राण्डी इन्टरनेसनलमा अस्पतालमा एक हप्ता उपचार गराए । जबकि डेंगी लगायतका सम्पूर्ण उपचार वीर अस्पतालमै सम्भव छ ।

बिना मगर सुमेरुमा

गत ७ माघमा घाटीमा भाइरल इन्फेक्सनका साथै ज्वरोका कारण हप्ता अस्पताल बसेकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार गराइन् ।

वर्षमान नर्भिकमा

गत फगुनमा अचानक स्वास्थ्य समस्या आएपछि उर्जा जलस्रोत एवं सिचाइ मन्त्री वर्षमान पुन थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । उनी एक हप्ता उपचारको लागि अस्पताल बसेका थिए ।

मातृका पनि नर्भिकमा

गत ७ पौसमा टाउको दुखेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव महंगो मानिएको थापाथलीस्थित नर्भिक इन्टरनेसनलमा उपचार गरेका थिए ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ