२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टडा. निल जसले बेलायतको घर बेचेर नेपालगन्जमा कानको अस्पताल बनाइदिए

डा. निल जसले बेलायतको घर बेचेर नेपालगन्जमा कानको अस्पताल बनाइदिए

मनकारी बेलायती चिकित्सक जसले ८ हजार बढी नेपालीको कानलाई ध्वनि प्रदान गरे


मे ३ अर्थात आज विश्व श्रवण दिवस । विश्वभरका पाँच जनामध्ये एक जनामा बहिरोपन सम्बन्धी कुनै न कुनै रोगबाट प्रभावित भएको अनुमान छ । यो समस्या वर्षेनी बढ्दैं गएको छ ।

समयमै उपचार गर्न सके बहिरोपन सम्बन्धी समस्या भएका करिब ६० प्रतिशत मानिसलाई बचाउन सकिन्छ । नेपालमा पनि बहिरोपन सम्बन्धी समस्या भएका बिरामीहरुले समयमै उपचार सेवा पाउन सकेका छैनन् ।

हेल्थपोष्ट र जिल्ला अस्पतालहरुमा कान रोगको उपचार सेवा अझै पुग्न सकेको छैन । सहरी क्षेत्रमा पनि कानको राम्रो उपचार हुने छुट्टै अस्पताल निकै कम छन् । सहज रुपमा उपचार नपाउँदा बहिरोपनको समस्या भएका लाखौं नेपालीहरु निरश र कष्टकर जीवन बिताउन विवश छन् ।

कान सम्बन्धी समस्याका कारण बहिरोपनको पीडा खेप्न बाध्य नेपालीहरुको उपचारमा तीन दशकदेखि एकजना बेलायती डा. निल बेयर निरन्तर लागि परेका छन् ।

डा. निल ब्रिटिस भ्वाइस एशोसिएसनका संस्थापक सह–अध्यक्ष हुन् । उनले कान रोग सम्बन्धी विभिन्न किताब लेखेका छन् । उनका किताब विश्वभरका कान रोग विशेषज्ञहरुले रिफरेन्स बुकको रुपमा प्रयोग गर्दै आएका छन् ।

तिनै बेलायतका चर्चित कान रोग विशेषज्ञ डा. निलले आफै स्रोत साधन जुटाएर सन् १९८८ देखि हरेक वर्षमा २ देखि ३ पटकसम्म नेपालमा आएर कान स्वास्थ्य शिविर संचालन गरिरहेका छन् ।

डा. निल आफै इएनटी सर्जनसहित ८ देखि १० जना सम्मको टिम लिएर नेपाल आउँछन् । उनको अनुरोधमा कानको शल्यक्रिया शिविरमा आउने सबै इएनटी सर्जनहरु आफ्नै खर्चमा नेपाल आउने गरेका छन् ।

डा. निलले विराटनगर, धरान, पोखरा, बनेपामा कानको शल्यक्रिया शिविर संचालन गरिसकेका छन् । देशका अन्य क्षेत्रको तुलनामा पश्चिममा कानको उपचार सेवाको अवस्था नाजुक देखेपछि यी मनकारी चिकित्सकले नेपालगन्जलाई केन्द्र बनाएर शल्यक्रिया शिविर संचालन गर्दै आएका छन् ।

डा. निल र उनका इएनटी सर्जन साथीहरुको टिमले नेपालगन्जलगायत देशका विभिन्न स्थानमा ६६ वटा कान स्वास्थ्य शिविर संचालन गरेर करिब ८ हजार ६ सय १० जना बिरामीको कानको अप्रेशन गरिसकेका छन् । पछिल्लो पटक वि.सं. ०७९ कार्तिकमा नेपालगन्जमै डा. निलको नेतृत्वमा कानको शिविर संचालन भएको थियो । शिविरमा १ सय १० जनाको शल्यक्रिया भएको थियो ।

कानको शल्यक्रिया शिविर संचालन गर्दा डा. निलले नेपालका इएनटी सर्जनहरुलाई पनि सहभागी गराउदैं आएका छन् । डा. निलसँग काम गर्न पाउँदा नेपाली इएनटी सर्जनहरु पनि धेरै कुराहरु सिक्ने अवसर पाएका छन् ।

शिविरबाट मात्रै नेपालमा कान रोगको सहज र गुणस्तरीय उपचार सम्भव नदेखेपछि डा. निलले बेलायतमा रहेको आफ्नो घर बेचेर करिब ६ करोडको लागतमा नेपालगन्जको फुलटेग्रामा ‘ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र’ संचालन गरेका छन् ।

ब्रिटेन नेपाल अटोलोजी सर्भिस नामको संस्थामार्फत सन् २०१६ देखि संचालन भएको केन्द्रले दैनिक १ सय ५० बिरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको छ । केन्द्रमा पश्चिम नेपालका २०/२२ जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रका मानिसहरु पनि उपचारका लागि आउँछन् ।

केन्द्रले कान रोगको उपचारका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिनेदेखि बाँके, बर्दिया र सुर्खेतमा पनि कान स्वास्थ्यका शिविर राखेर उपचार गर्दै आएको छ ।

नेपालीको कान रोगको उपचारमा समर्पित डा. निलको उमेर ७८ वर्ष पुगिसकेको छ । तर, उनको सेवाभाव अझै पनि कुनै युवाभन्दा कम छैन । मेडिकल काउन्सिलको नियमअनुसार ७० वर्षभन्दा बढी उमेरका चिकित्सकले शल्यक्रिया गर्न मिल्दैन् । तैपनि, डा. निल आफै शल्यक्रिया थियटरमै बसेर अन्य चिकित्सकहरुलाई सल्लाह, सुझाव र हौसला दिदैं कान रोगका बिरामीहरुको अप्रेशनमा सहयोग गर्दै आएका छन् ।

केन्द्रमा एकजना चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीहरुको टिमले कान रोगका बिरामीहरुलाई प्राथमिकदेखि जटिल शल्यक्रियासम्मको उपचार सेवा प्रदान गर्दै आएका छन् । पछिल्लो समय केन्द्रले उपचार शुल्क बापत प्रति बिरामी १ सय लिन्छ । अस्पताल संचालनका लागि बिरामीबाट लिइएको शुल्कबाट नपुग रकमको ब्यवस्था लामो समयसम्म डा. निल आफैले गरेका थिए । समस्या धेरै भएपनि कान रोगको उपचार नेपाल सरकारको प्राथमिकतामा अझै पर्न सकेको छैन ।

नेपालमा करिब १६ प्रतिशत मानिसमा कान रोग सम्बन्धी समस्या भएपनि हेल्थपोष्ट र जिल्ला अस्पताल तहमा अझै कान रोगको उपचार सेवा पुग्न सकेको छैन । डा. निलको चाहना कान उपचार सेवा हेल्थपोष्ट तहमै पुगोस् भन्ने छ । त्यसका लागि डा. निलकै पहलमा बाँके, बर्दिया, सुर्खेतलगायत पश्चिम नेपालका हेल्थपोष्ट तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर ग्रामीण क्षेत्रमा बस्ने गरिब तथा विपन्न नागरिकहरुलाई सहज रुपमा कान उपचार सेवा पु¥याउने प्रयास भइरहेको छ ।

कुनै पनि आवाज सुन्न वा पहिचान गर्न असमर्थ हुने समस्यालाई बहिरोपन भनिन्छ । बहिरोपन भएका मानिसहरुको जीबन पनि कष्टकर र निरश हुन्छ । बहिरोेपन समस्या जन्मजात वा पछि कानको संक्रमण भएर विभिन्न चोटपटक कारण हुन्छ । बढ्दो ध्वनि प्रदुषण, एयरफोनको अत्याधिक प्रयोग, जनचेतनाको कमी र सहज उपचार सेवा नहुदा नेपालमा बहिरोपन सम्बन्धी समस्या बढ्दैं डा. निल बताउँछन् ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #इएनटी सर्जन, #चर्चित कान रोग विशेषज्ञ डा. निल, #डा. निल बेयर, #बेलायती, #ब्रिटिस भ्वाइस एशोसिएसन, #ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ