२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुरमा चिकित्सक दम्पतीको अत्याधुनिक अस्पताल, जहाँ काम गर्छन् ३० बढी विशेषज्ञ चिकित्सक

जनकपुरमा चिकित्सक दम्पतीको अत्याधुनिक अस्पताल, जहाँ काम गर्छन् ३० बढी विशेषज्ञ चिकित्सक


डा. एसके सिंह र उनकी श्रीमती डा. सोनिया सिंह दुवैजना चिकित्सक हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट इन्टरनल मेडिसिनमा एमडी गरेका डा. सिंह त्यहाँको दोस्रो ब्याच हुन् । उनकी श्रीमती डा. सोनिया भने भारतबाट गाइनोमा एमडी गरेकी छन् ।

जनकपुरका चिकित्सक दम्पतीले पढाइ सकेपछि झण्डै ६ वर्षजति वीरगन्जमा रहेर बिरामीको सेवामा बिताए । त्यसपछि झण्डै ६ महिना झापा बसे । तर, पछिल्ला ८—१० वर्षदेखि यो चिकित्सक जोडी जनकपुरमा बिरामीको सेवामा तल्लीन छ । जनकपुर आउँदा सुरुवाती दिनहरुमा उनीहरुले गुणस्तरीय हेल्थकेयरको अभाव महसुस गरे ।

‘जनकपुर बस्दा बिरामीले पाउने सुविधाहरु पर्याप्त देखिनँ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग डा. सिंहले सुनाए, ‘यहाँका हस्पिटलले दिने सेवा अन्यत्रभन्दा कमसलजस्तो लाग्यो ।’ तर, जुन अस्पतालमा काम गर्ने हो त्यो अस्पतालको सेवा नराम्रो भन्ने अवस्था थिएन् । डा. एसके र उनकी श्रीमती डा. सोनियाले जनकपुरमा राम्रो हेल्थकेयर दिने संस्था स्थापना गर्ने सपना देख्न थाले ।

भनिन्छ, सपना देख्नेहरुकै पूरा हुन्छ । तर, त्यो सपना पूरा गर्न अरुबाट सम्भव थिएन् । आफै सपना पूरा गर्ने जमर्को गर्दै डा. एसके र उनकी श्रीमतीले ४ वर्षअघि त्यसतर्फ कदम अगाडि बढाए । प्रदेश नं. २ मै पहिलो पटक हस्पिटलका लागि भनेर सरकारी मापदण्डअनुसारको कमर्सियल भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाइयो । ‘हामीले काठमाडौंबाटैं ६ जना इन्जिनियरहरुको टिम हायर ग¥यौं,’ उनले भने । हस्पिटलको नक्साका लागि मात्रै साढे ६ लाख रुपैयाँ खर्च भयो ।’ नेपाल सरकारको बनाएको हस्पिटल निर्माणको मापदण्डअनुसार नै भवन निर्माण गरिएको उनले बताए ।

डा. सिंह दम्पतीको पहिलो सन्तानको नाम काब्या थियो । मुटुको समस्या रहेका कारण १० दिनमै बिते । ‘कही न कहीँ उसकै नामबाट हेल्थ सेक्टरमा केही गरौं भन्ने इच्छा थियो,’ डा. एसके हस्पिटल नामाकारणको भावनात्मक पाटो खोल्छन्, ‘त्यही पहिलो सन्तानकै सम्झनामा ‘काब्या हस्पिटल प्रा.लि. नामाकरण गरेका हौं ।’ सुरुमा दुई तलाबाट सुरु भएको काब्या हस्पिटल अहिले अत्याधुनिक सुविधासहितको भवनबाट सञ्चालनमा आइसकेको छ । अस्पतालले सुरुमा स्त्री तथा प्रसुती रोग सम्बन्धि सेवा र जनरल फिजिसियन सम्बन्धि सेवाहरु दिएको थियो ।

१ सय बेड क्षमताको भएपनि अहिले अस्पतालले अहिले ५० वेडको अनुमति पाएको डा. सिंहले बताए । बिरामीको संख्या बढ्दैं गएमा क्षमता विस्तार गर्दै लैजाने सोच उनको छ । सुरुमा श्रीमान—श्रीमती चिकित्सक भएर खोलेको अस्पतालसँग अहिले ३० जना विशेषज्ञ चिकित्सकको टिम जोडिएको छ । अस्पतालले जनकपुरमा उपलब्ध नरहेका सेवाहरु पनि दिन सुरु गरेको छ । ‘वर्ल्ड क्लासको आईसीयु छ, ६ वटा भेन्टिलेटर छन्,’ डा. सिंहले भने, ‘नवजात शिशुका लागि ५ बेडको वर्ल्ड क्लास एनआईसीयु छ, त्यसमा २ वटा भेन्टिलेटर, तीन वटा सी प्याप राखेका छौं । हामीले दिने सेवा काठमाडौंसँग तुलना गर्न सक्नुहुन्छ ।’ बिरामीहरुका लागि नर्सिङ स्टाफ र चिकित्सकहरुको उच्च केयर आफूहरुको प्राथमिकतामा रहेको उनले बताए ।

सुरुवाती ६ महिनामै अस्पतालले विस्तार गरेर गाइने, जनरल फिजिसियन, पेडियाट्रिक, अर्थोपेडिक र सर्जरी गरेर ५ वटा पु¥यायो । अस्पतालले अहिले बिरामीका लागि ८ वटा सेवा उपलब्ध गराइरहेको छ । उत्कृष्ट स्वास्थ्य सेवा दिइरहेको काब्याले प्रतिस्पर्धात्मक बजारमा त्यहीअनुसारकै शुल्क लिने डा. सिंहको दावी छ ।

जनकपुरमा अन्य क्लिनिक तथा अस्पतालहरुमा ८ सय अल्ट्रासाउण्ड हुन्छ भने काब्याले त्यही शुल्कमा अल्ट्रासाउण्ड सेवा उपलब्ध गराइरहेको छ । अन्य ४ सय हुने डिजिटल एक्स—रेका लागि अस्पतालले पनि त्यही शुल्क लिइरहेको छ । तर, काब्याको एक्स—रे फाइभ हन्र्डेड एमएको डिजिटल क्वालिटीको छ । सहरकै राम्रो अत्याधुनिक कन्सेप्टमा बनाइएको ओटी अस्पतालमा छ, जसमा दुई वटा सर्जरी एकै पटक गर्न सकिने व्यवस्था छ । काब्या हस्पिटलले दूरबिनबाट गर्ने ल्याप्रोस्कोपी सर्जरी सेवा पनि दिइरहेको छ । इको कार्डियोग्राफी, इन्डोस्कोपी, क्लोनस्कोपी पनि अस्पतालले गरिरहेको छ ।

डा. एसकेकाअनुसार काब्या हस्पिटलमा जनकपुरमै पहिलो पटक डिएम सुपरस्पेशालिटी चिकित्सकहरुले पनि सेवा दिने गरेका छन् । ‘हाम्रोमा डिएम नेफ्रोलोजी र डिएम कार्डियोलोजिष्ट पनि हुनुहुन्छ,’ उनले भने, ‘त्यो लेभलको सर्विस पनि हामीले दिइरहेका छौं ।’

अस्पतालले निकट भविष्यमै डाइलाइसिससहितको नेफ्रोलोजीका सबै सुविधाहरु अस्पतालमा सञ्चालन गर्ने तयारी गरेको छ । अब एक डेढ महिनाभित्रै त्यो सेवा सुचारु हुने विश्वास डा. सिंहले व्यक्त गरे । अस्पतालले पारदर्शी ढंगबाट सफ्टवेयरमार्फत सबै कुराको रेकर्ड राख्ने व्यवस्था समेत गरेको छ ।

१०—१२ जना सुरु भएको अस्पतालमा अहिले चिकित्सकबाहेकका कर्मचारी मात्रै १ सय बढी छन् । ३० जना विशेषज्ञ चिकित्सक छन् भने एक दर्जन मेडिकल अफिसर अस्पतालमा काम गर्छन् । ‘हाम्रो परिवार झण्डै दुई सय जना हाराहारीको भएको छ,’ डा. सिंहले भने, ‘जनकपुरमा नभएका सर्विसहरुको सुरुवात र क्वालिटी अफ ट्रिटमेन्ट दिएका कारण नै हामी छोटै समयमा यो अवस्थामा पुगेका हौं ।’ बिरामी निको बनाउन पाएको सफलताले काब्यालाई उत्कृष्ट अस्पताल बनाउनेतर्फ लगिरहेको उनको भनाइ छ । ‘हामीले बिरामीको विश्वास जितेका छौं, त्यसले हामीलाई निकै राम्रो गरेको छ,’ उनले थपे ।

जनकपुरमा स्वच्छ र सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याएका डा. सिंहको भविष्यको योजना जनकपुरमै मुटुको इन्टरभेन्सन सेवा सुरु गर्ने योजना छ । नेपाल सरकारको अस्पताल मापदण्ड कडा भएकाले बताउँदैं उनले नेपाल अमेरिका नभएकाले नेपालकै सापेक्षतामा मापदण्ड बनाउनुपर्नेमा जोड दिए । ‘हाम्रो देश अमेरिका होइन्, नेपाल हो,’ उनले भने, ‘नेपालमा मापदण्ड बनाउँदा त्यहीअनुसारको बनाउनुपर्छ ।’ माटो सुहाउँदो अस्पताल मापदण्ड बनाउँदा नेपालको स्वास्थ्य सेवा फस्टाउने उनको अनुमान छ ।

लोकसेवामा नभरेको फर्म

डा. एसके सिंह

सन् २००० मा डा. सिंह भारतबाट एमबीबीएस सकेर घर फर्किए । उनलाई पनि सरकारी जागिर गर्ने मन थियो । त्यसका लागि जलेश्वरबाट लोकसेवाको फर्म ल्याए । मेडिकल अफिसरका रुपमा सरकारी जागिर गर्दा कति पैसा आउँछ भनेर उनले सोधे ।

उत्तर आयो, ‘साढे ७ हजार ।’ डा. सिंहकाअनुसार उनले एमबीबीएस सकेर जनकपुर आउँदा एमबीबीएस चिकित्सकको सरकारी तलब साढे ७ हजार थियो । त्यो उत्तरबाट उनी कन्भिन्स भएनन् । घर पुगेर पुनः तलब कन्फर्म गर्न त्यही प्रश्न आफ्ना पितालाई सोधे । उनको उत्तर पनि त्यही आयो । त्यसपछि उनले लोकसेवा आयोगको फर्म नै भरेनन् ।

सिंह सरकारी स्वास्थ्य सेवालाई सुधार गर्न चिकित्सक तलब वृद्धि गर्नुपर्ने धारणा राख्छन् । ‘डाक्टर क्लिनिक धायो भन्ने कुरा आउँछ, किन धायो भन्ने कारण खोज्न जरुरी छ,’ उनी भन्छन्, ‘चिकित्सकले पाउने पैसाबाट उनको घरव्यवहार चल्दैन् । त्यसकारण तलब वृद्धि गर्नुपर्छ ।’ त्यहीकारण सरकारी चिकित्सकहरुले क्लिनिक धाउनुपरेको उनले बताए ।


क्याटेगोरी : प्रदेश २, मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ