२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपअर्किडकी यमुनाः जसले ९ हजारबाट १२ करोडको साम्राज्य बनाइन्

अर्किडकी यमुनाः जसले ९ हजारबाट १२ करोडको साम्राज्य बनाइन्

जनकपुरकी यमुनाले जागिर छाडेर १८ वर्षमा व्यवसायमा हात हालेकी थिइन्


खिरिलो आकर्षक जिउडाल । हक्की स्वभाव । मेहनत गर्ने हुटहुटी । कामप्रतिको मोह । केही फरक र नवीन काम गर्ने चाहना । २० वर्षअघि १६ वर्षकै उमेरमा पढाइका शिलशिलामा काठमाडौं आउँदा यमुना कटुवालसँग यिनै कुरामात्रै थिए । मध्यमवर्गीय किसान परिवारमा जन्मिएकी उनी एलएलसी पास गरेपछि थप उच्च शिक्षाका लागि काठमाडौं आएकी थिइन् ।

त्यतिबेला उनीसँग दृढ इच्छाशक्ति अलावा अरु केही थिएन । त्यही दृढ इच्छाशक्तिले नै गाउँबाट पढन सहर पसेकी एक किशोरीलाई केही वर्षमै जागिरेबाट व्यवसायी बनायो । फरक र नवीन काम गर्ने चाहना एवं कामप्रतिको पागलपनकै बलमा ९ हजारबाट सुरु भएको उनको व्यवसायिक यात्रा पछिल्ला १५ वर्षमा करोड क्लबमा पुगेको छ ।

बसुन्धराको तीन रोपनी क्षेत्रफलमा फैलिएको ‘अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेसन सेन्टर’ छ । बालुवाटारमा त्यसको शाखा छ । जसमा विशेषज्ञ चिकित्सक, नर्सिङ स्टाफसहितका ६५ जना बढी कर्मचारी काम गर्छन् । ३६ वर्षको उकालोमा हिडिहरहेकी अर्किडकी अध्यक्ष यमुनामा अहिले पनि कामप्रतिको प्रेम र मेहनत गर्ने हुटहुटी उत्तिकै छ । आँट भरिपूर्ण उनलाई कुनै बेला बैंकले ऋण पत्याएका थिएनन्, तर अहिले उनका नवीन व्यवसायका लागि ऋण दिन बैंकहरुले धेरै सोच्नु पर्दैन् ।

यमुना जनकपुरमा जन्मिएकी हुन् । ६ जना दिदीबहिनीमध्ये उनी चौथो सन्तान हुन् । स्थानीय स्कुलबाटै एसएलसी उत्तीर्ण गरेपछि वि.सं. २०५८ सालमा उनी काठमाडौं आएकी हुन् । ‘१० कक्षासम्म त्यही पढे । त्यसपछि थप उच्च शिक्षाका लागि काठमाडौं आएकी हुँ,’ हालैको एक दिउँसो हेल्थआवाजसँग उनले भनिन् । काठमाडौं आएर उनी पद्यकन्या कलेजमा व्यवस्थापन लिएर आइकम भर्ना भइन् । आइकम पढ्दा—पढ्दै उनले मन्टेश्वरीमा ६ महिना पढाइन् । ‘चण्डोल बस्ने गर्थे । कलेज र काम सँगै गर्न सकिन् धपेडी भएपछि छाडे,’ किसान बुवाआमा छोरी यमुना भन्छिन् ।

आइकम सकेपछि उनी कन्या कलेजमा स्नातक तहमा भर्ना भइन् । त्यही क्रममा चिनेजानेका एउटा दाइले वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकमा एकाउण्टेन्टमा जागिर लगाइदिए । नयाँबानेश्वरको क्लिनिकमा उनी एकाउण्ट हेर्न थालिन् । त्यो क्लिनिकमा उनले दुई वर्ष काम गरिन् । ‘काम राम्रो भएपनि मलाई सन्तुष्टि नै भएन्,’ उनी उद्यममा पाइला टेक्नुपूर्वको अवस्था स्मरण गर्छिन्, ‘क्लिनिकमा काम गर्दागर्दै साथीहरु लिमेर क्लिनिक खोल्ने कुरा भयो ।’

सन् २००७ मा ४ जना साथीहरुसँग मिलेर उनले पहिलो पटक व्यवसायमा पाइला टेकिन् । मीनभवनमा ‘मेरिट मल्टीपल मेडिकल सेन्टर क्लिनिक’ खोल्दा यमुनासँग मात्रै ९ हजार रुपैयाँ थियो । क्लिनिकका लागि १२ लाख लगानी हुने योजना बनाइएको थियो । त्यसका लागि एक जनाको भागमा तीन लाग पथ्र्यो ।

‘१२ लाख लगानी चाहिने भयो, एकजनाको भागमा ३ लाख प¥यो,’ उनी स्मरण गर्छिन्, ‘मसँग ९ हजार रुपैयाँ मात्रै थियो ।’ उनले भिनाजु र फुपुबाट ५०—५० हजार ऋण मागिन् । बाँकी उपकरण बेच्ने डिलरसँग राम्रो सम्बन्ध भएकाले उनले उधारोमा मिलाइन् । डिलरले पनि कमाइका आधारमा दैनिक बेसमा पैसा दिने शर्तमा उपकरणहरु उपलब्ध गरायो ।

व्यवसायमा हात हाल्नु, चुनौती मोल्नु पनि हो । यो कुरा विस्तारै यमुनाको व्यवसाय यात्रामा पनि लागु हुन थाल्यो । काम गर्ने क्रममै एक जना पार्टनर घरमा कुरा मिलाउन नसकेपछि टिमबाट बाहिरिए । केही समयमै अर्का एकजना पनि विदेश गए । तेस्रो साथी पनि उनीसँग रहेनन् । त्यसपछि १२ लाख रुपैयाँको भार यमुना एक्लैले उठाउनुपर्ने अवस्था आइप¥यो ।

तर, क्लिनिक राम्रै चलिरहेकाले उनलाई धेरै भार महसुस भएन । ‘मैले ८ महिनापछि सबै ऋण तिर्न सके,’ उनले भनिन्, ‘क्लिनिक खोल्दा म त १८ वर्षको मात्रै थिएँ ।’ त्यहाँ उनले १५ जना कर्मचारीलाई जागिर दिएकी थिइन् । आफै पनि काम गर्थिन् । ८ वर्ष यमुनाले त्यो क्लिनिक चलाइन्, त्यसपछि बेचिन् । त्यो क्लिनिकबाट उनले कति कमाइन् ? भन्छिन्, ‘त्यहाँबाट कति कमाए भनेर हिसाब छैन ।’

अर्किड यात्रा : ७० लाखदेखि करोड क्लबसम्म

वैदेशिक रोजगारीमा जाने मानिसहरुको स्वास्थ्य परीक्षण गर्ने क्लिनिक चलाउँदा—चलाउँदैं उनलाई लाग्यो, ‘यति धेरै मानिसहरु विदेश जान्छन् । यिनीहरुका बुढा बुवाआमाहरुको हेरविचार कसले गरिदिदो होला ? त्यस्ता बुढाबुढीहरुको हेरचाह गर्ने एउटा व्यवसाय सुरु गर्नुप¥यो ।’ त्यही कारण उनले वि.सं. २०६८ सालमा अर्किड होमको कन्सेप्ट बनाइन् ।

तर, यसका लागि लगानी बढी लाग्थ्यो । त्यसकारण बैंकमा गएर आफ्नो नवीन व्यवसायको कन्सेप्टका लागि ऋण मागिन् । तर, बैंकहरुले पत्ताएनन् । निकै कन्भिन्स गरेपछि एक बैंक केही रकम ऋण लगानी गर्न तयार भयो । तर, बुढाबुढी राख्नलाई घर नै नपाउने । कतिले त मानिस मर्छन् भनेर दिएनन् । धेरै खोजेपछि बाँसबारीमा एक घर पाइन् । ७० लाख लगानीमा बाँसबारीको अत्याधुनिक बंगलाबाट १३ जना कर्मचारीसहित ‘अर्किड होम’ सुरुवात भयो । त्यसमा उनीसँगै अरु दुई जना पार्टनर पनि थिए । घरको भाडामात्रै ५८ हजार रुपैयाँ थियो ।

‘त्यो बेला मैले त कतार, मलेसिया गएका मानिस मात्र देखेकी हुँ । उनीहरुको परिवारलाई कसले हेर्छ भन्ने कुरा एनलाइसिस गर्न आएन रहेछ,’ उनले अर्किडका सुरुवाती दिन सम्झिइन्, ‘जसले गर्दा मैले दुःख पाए । मैले सोचेको जस्तो काम गराइ भएन ।’ त्यहाँ पनि काम गर्दै जाँदा २ वर्षमा उनी एक्लै भइन् । ‘उहाँहरुले भनेको जस्तो नभएर छाडे,’ उनले भनिन्, ‘डे केयर र फिजियोथेरापीको कन्सेप्टबाट गर्ने भनेर लाग्यौं । त्यो धेरै चलन सकेन् ।’ १ वर्षसम्म काम भएन्, मानिसहरुलाई डे केयरको कन्सेप्ट बुझाउन नै समय लाग्यो वा बुझाउन सकिएन् । ‘काम त भयो तर भनेको जस्तो भएन्,’ अर्किडको सुरुवाती कथा सुनाउँछिन्, ‘सुरुमा एउटा आमा मात्र आउनु भएको थियो ।’

२ वर्षपछि मैले जुन अनुमान गरेर खोलेकी थिइन्, त्यो नहुँदा संस्था बन्द हुने अवस्था आयो । टिममा पनि कुरा मिलेन । अहिले सम्झँदा उनलाई त्यो स्वभाविक पनि लाग्छ । उनी हार खाने स्वभावकी होइनन्, त्यसैले एक्लै परेपछि केही गर्नुपर्छ भनेर थप सोचविचारमा लागिन् । डे केयर र फिजियो सेवालाई राम्रो बनाइन् । राम्रो सेवा दिन थालेपछि एकबाट अर्को गर्दै बिरामी थपिए । बिरामी थपिन थालेपछि उनले सेवा पनि विस्तार गर्दै गइन्, कर्मचारीको संख्या पनि ३५ पुग्यो ।

वि.सं. २०७२ सालको महाभूकम्पका बेला घरबेटीसँगको उनको सम्झौता सकियो । ‘खुट्टा टेक्ने बेलामा सम्झौता सकियो,’ उनले भनिन् ‘छोड्नुपर्ने वाध्यता भयो ।’ त्यसपछि बाँसबारीबाट २६ जना वृद्ध आमाबुवा बोकेर उनी बसुन्धरा झरिन् । बसुन्धरामा ३ रोपनी जग्गा लिजमा लिइन् । बाँसबारीमा बिरामीलाई तलमाथि गर्न गाह्रो भएकाले समस्या परेको उनले देखेकी थिइन् । त्यही कारण बसुन्धरामा सुविधायुक्त भौतिक पूर्वाधार बनाउन थालिन् । त्यसका लागि थप लगानी आवश्यक प¥यो । यमुनाको काम देखेर बैकहरु पनि पत्याउन थालिसकेका थिए । बैंकहरु ऋण दिन तयार भइहाले । उनले सुविधासम्पन्न संरचना तयार गरिन् । ‘यो १० वर्षमा यो धारणामा धेरै परिवर्तन आएको देखे,’ उनले अनुभव साटिन् ।

अब उनी ‘अर्किड फिजियो थेरापी तथा रिह्याबिलिटेसन सेन्टर’लाई एउटा ब्राण्डका रुपमा विकास गर्न लागि परेकी छन् । जसरी छोराछोरी राम्रा स्कुलमा पठाएपछि बुवाआमा गर्वका साथ नाम लिन्छन्, त्यसैगरी बुवाआमा अर्किडमा पठाउँदा छोराछोरीले गर्व गर्न लायक ठाउँ उनले बनाएकी छन् । ‘अहिले मलाई के लाग्छ भने अर्किड भन्ने बितिकै छोराछोरीले बाबुआमा पठाउन गर्व गरुन्,’ उनले भनिन्, ‘नाम चलेको स्कुलमा पढाउँदा भविष्य राम्रो हुन्छ भने जस्तै अर्किड बाआमा राम्रो हुन्छ भन्ने सोच आएको देखिन्छ ।’

अर्किडमा अहिले वृद्धवृद्धाको आजीवन सेवा, डिमेन्सिया भएका बिरामी र केही ठिक नहुञ्जेलसम्मको अवधिका लागि हेरविचार गर्नुपर्ने बिरामी भर्ना लिइन्छ । अर्किडले सबै उमेरको व्यक्तिलाई सेवा दिइरहेको यमुना बताउँछिन् । अर्किडले बसुन्धराबाट सबै उमेर समूहकालाई आवश्यक फिजियो एण्ड रिह्याब सेवा उपलब्ध गराउँछ । अस्पताल डिस्चार्जपछि कार्डियो बिरामीको लागि कार्डियो सेवा, अर्थोको बिरामीका लागि रिह्याबसँगै अर्थो केयर, न्यूरोका बिरामीलाई त्यही अनुसारका सेवा सुविधा, रोगअनुसारको कम्प्लिट सेवा पनि अर्किडले दिइरहेको छ । ‘खान, बस्न र फ्लोअप सबै सुविधा भएको यो रिकभरी होम हो,’ उनी भन्छिन् ।

बालुवाटारस्थित अर्किडको शाखामा सहयोगी आवश्यक पर्ने असिस्टेन्ट लिभिङ होम र डे केयर सुविधा उपलब्ध छ । १५ बेड क्षमताको उक्त शाखाबाट त्यहाँ २५ जनालाई सेवा दिन सकिन्छ । १८ जना स्टाफ छन् । ‘अहिले हामी समाजले कस्तो खालको केयर होम खोज्दैछ भनेर अनुसन्धान गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘डिमेन्सlया र नर्मंल मानिस राख्दा कति कठिन हुन्छ। त्यसैले हामीले छुटाछुट्टै राखेको छौँ।’ सडकमा दुर्घटना परेर अस्पतालले डिस्चार्ज गरेपछि आउने युवा, पक्षघात भएका बिरामी, डिम्नेन्सिया भएका बुबाआमा अर्किडमा बढी आउँछन्। अर्किडमा बिरामीले राम्रो परिवार, स्याहार  पाउने उनले बताइन् । ‘हामीले पुल बनेर गुणस्तरीय सेवा दिएका हौं,’ उनले भनिन् ।

६४ जना कर्मचारी रहेको अर्किडको बसुन्धराको क्षमता ४० बेड छ भने बालुवाटारको १५ बेड क्षमता हो । दुवै शाखामा गरी दैनिक १ सय २५ जनासम्म बिरामीलाई सेवा दिन सक्छ । अहिलेसम्म अर्किडले २ हजार २ सय बढीलाई सेवा दिइसकेको छ । अर्किडका ब्राण्ड भ्यालु २ वटा संस्था गर्दा १२ करोड बढी पुगेको छ । अहिले यमुना बहिनी अस्मिता कटुवालसँग मिलेर अर्किड हाँकिरहेकी छन् ।

भविष्यमा उनको काठमाडौँमा मात्र नभएर अर्किडलाई सबै क्षेत्रमा विस्तार गर्ने सपना छ । ‘सबै क्षेत्रमा वृद्धवृद्धाको लागि चाहिने सम्पूर्ण प्रविधियुक्त सेवाको विस्तार गर्ने सपना छ,’ उनले भनिन्, ‘अल्जाइमर, डिमेन्सिया सेन्टर जिल्ला—जिल्लामा बनाउने योजना छ । सेवासँगसँगै व्यवसायका रुपमा अर्किडलाई अगाडि बढाइरहेकी उनी आफूमा रहेको जोश र हिम्मतले नै यहाँसम्म आइपुगेको बताउँछिन् । पछिल्ला १३ वर्षमा धेरै पटक उनलाई बेकारमा गरिएपछि भन्ने पनि बेला—बेलामा लाग्ने गर्छ । तर, उनी अप्ठ्यारा परिस्थितीलाई दृढ अठोट, कामप्रतिको पागलपन र मोहले परास्त गर्दै यहाँसम्म आइपुगेकी हुन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #यमुना कटुवाल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ