२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपबाथ र इम्युन रोगमा विश्वस्तरीय सेवा दिन तम्सिएका दुई युवा चिकित्सक, ल्याए ‘इम्युनो केयर’

बाथ र इम्युन रोगमा विश्वस्तरीय सेवा दिन तम्सिएका दुई युवा चिकित्सक, ल्याए ‘इम्युनो केयर’


चितवनका डा. धर्मागत भट्टराई र धनुषाका डा. साकेत झा पोष्टग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजीआईएमईआर)मा चण्डीगढमा एकै समयमा एउटै कलेजमा विशिष्टीकृत विज्ञता (डिएम) हासिल गर्दै थिए । विशिष्टीकृत विज्ञता पढाइमा हुने कलेजमा दुई जना नेपाली युवा विशेषज्ञतासँगै मुलुकलाई नयाँ के दिन सकिन्छ भन्ने विषयमा घण्टौं गफिन्थे । डा. साकेत वयस्क र्‍युम्याटोलोजीमा डिएम गर्दै थिए भने डा. धर्मागत पेडियाट्रिक इम्युनोलोजी एवं र्‍युम्याटोलोजीमा ।

तर, विज्ञानलाई नै तल्लो ग्राह्यतामा राख्ने अनि नवीन विज्ञानलाई ढिलो आत्मसात गर्ने नेपाली परिवेशमा आफूले पढेका विषयअन्तर्गतका बिरामीलाई कसरी सही निदान र उपचार लिन सक्ने वातावरण बनाउन सकिन्छ भन्नेबारे उनीहरु तर्क गर्थे ।

धनुषा घर भएपनि काठमाडौंमा जन्मे हुर्केका डा. साकेत र प्रारम्भिक शिक्षा चितवनको प्रभात मावि शुक्रनगर र काठमाडौंको एनएमएसमा सम्पन्न गरेका डा. धर्मागत भेटको संयोग भने प्लस टु अध्ययनका क्रममा भएको हो । उनीहरु दुवैजना एउटै कलेजमा विज्ञान पढेका हुन् । तर, नेपालमा इम्युन—रोग र बाथ रोगका विषयमा केही गर्ने सोच भने उनीहरु डिएम गर्ने क्रममा चण्डीगढमा पलाएको हो । ‘प्रतिरक्षा रोग र बाथ रोगमा सही उपचार दिनुपर्छ भन्ने आवश्यकताबारे त्यहीबेला हामी लामो समय गफिन्थ्यौं,’ डा. धर्मागत भन्छन् ।

प्रतिरक्षा रोग एवं बाल र वयस्क बाथ रोगमा सही उपचार दिनुपर्छ भन्ने आवश्यकताबारे उनीहरु त्यहीबेला लामो समय विचार—विमर्श गर्थे । त्यसका लागि पहिले प्राज्ञिक संस्थान (सरकारी वा निजी)मा प्रयास गर्ने दुवै जनाको सोच थियो । ‘तर, नयाँ विज्ञान भनेर रुचि नदेखाइएको पाइएको अनि बिरामीहरु सही उपचार नपाएको, अंगभंग भएको, गलत औषधी खाइरहेको वा ज्यानै नै गुमाउनु परेको देखेपछि सानो प्रयासबाटै भएपछि सुरु गर्ने हुटहुटी जाग्यो,’ डा. धर्मागत थप्छन् ।

नेपालमा प्रतिरक्षा कमीका रोग पनि हुन्छन् भन्ने नै सचेतना शुन्यप्रायः छ । अतः नसोचिएपछि यी बिमारी निदान नै हुन्न्, या अन्य देश जान्छन् या बिमार पालेर बस्छन् । हाल वयस्क बाथ रोगमा जनचेतना भएपनि ‘बच्चामा बाथरोग हुन्छ र झन् गम्भीर र जटिल हुन्छ अनि बाथ रोग जोर्नी मात्रैको बिमार होइन’ भन्ने अहिलेसम्म जानकारी जनमानसमा खासै छैन । ‘यो हालत थाहा भएकैले हामीले नेपाल गएर यस्ता रोगका रोगीलाई निदान उपचारको अभियान चाल्नपर्छ भन्ने अठोट थियो’ डा. धर्मागत सम्झन्छन्, ‘केही सुरुवात गर्नुपर्छ । साथसाथै हाम्रो विषयको महत्व अधिकांशलाई बुझाउनपर्छ भन्ने संघर्षमय अनुभूतिको पूर्वानुमान हामीमा थियो ।’

डा. साकेत झा
डा. साकेत झा

वयस्कको बाथमा डिएम सकेर डा. साकेत सन् २०१९ मा नेपाल फर्किए भने प्रतिरक्षा रोग (इम्युनोलोजी) एवं बाल बाथजन्य रोग विज्ञानमा डिएम सकेर डा. धर्मागत सन् २०२० मा नेपाल फर्किए । डा. साकेतले नयाँदिल्लीस्थित एम्सबाट एमडी गरेका हुन् भने डा. धर्मागतले चण्ढीगढस्थित पिजीआईएमईआरबाट । तर, यी दुई उदाउँदा युवा विशेषज्ञ चिकित्सक प्रतिरक्षा (इम्युन) रोग र बाल तथा वयस्क बाथ रोगमा समग्र र विस्तृत सेवा दिन चाहन्थे । विशिष्टीकृत विज्ञता हासिल गरेका यी दुई युवा चिकित्सक नेपालमा रहेका सम्बन्धित विज्ञानमा डिएम गरेका एक्ला चिकित्सक हुन् ।

धेरै मिहेनत र प्रयासपछि पनि ठूला सरकारी र निजी क्षेत्रबाट नवीन विज्ञानमा खासै चासो नदिइएको २ वर्ष भोगिसक्दा दुवै डाक्टरले कुल ३ हजारभन्दा बढी प्रतिरक्षा (इम्युन कमी र गडबडीका) रोग र बाथरोगका बिमारी पत्ता लगाएर मापदण्डअनुरुपको उपचार दिइसकेका थिए । त्यसमाथि यहीबीच सही विज्ञ नभेट्दा कतिले लामो समय गलत औषधी खाएका भेटिन्थे, त कहीं औषधी नै नपाई अंग बिग्रिसकेको अवस्थामा आएका देखिन्थे । कति त सघन उपचार कक्षमा पुगेपछि बल्ल इम्युन–रोग पनि परामर्श लिउं भनेर बोलाइँदा रोग पत्ता लगाउन पाइएका घटना पनि छन् । कहीं रोगको नाम लेखिएको भेटिए भएपनि एउटा बिमारी (जस्तै ‘एच एस पी’) लाई अर्कै रोग (लुपस) मानेर लेखिएका उदाहरण पनि छन् । अझ अधिकांश यस्ता बिरामी विज्ञको अभावले गर्दा सधैं स्टेरोइडजस्ता औषधी खुवाएर, गम्भीर बिमारीमा पनि सामान्य औषधी र एकपछि फेर्दै अर्को एन्टीबायोटिक मात्रै चलाएर राखिएका, एलर्जी भनेर त्यसको लागि मात्र लाक्षणिक औषधी दिएर पठाइएका घटना भेटाए ।

डा. धर्मागत थप्छन्, ‘नवीनतम विज्ञानको प्रमाण र मापदण्डले भनेबमोजिमको उपचारले झन् सुखद् नतिजा ल्याउन सक्छ । सबै प्रणाली असर पार्न सक्ने हुँदा यो रोगमा केस हेर्न र जाँच्न नै धेरै समय लगाइनु पर्छ । यो जटिल विधामा कुन टेस्टको कुन बेला कुन विधि वाला पठाउने भन्ने बुझिएन भने पनि निदान हुन्न । जस्तै बच्चाको बाथ खोज्न धेरैजसोले आरएफ, एन्टी–सिसिपी पठाएको देखिन्छ, जबकि ती टेष्ट बच्चामा अधिकांशमा नेगेटिभ आउँछन् र तिनको विशिष्ट बेलामात्र काम छ । अझ अति अपवादबाहेक युरिक एसिडको जाँच र यसका लागि बार्न भनिने अभ्यासको कुनै तुक छैन ।’ यही कुरा नहोस् भन्ने सोचेर यी दुई युवा चिकित्सकले सचेतना र समग्र विस्तृत सेवासँगै लैजाने सोच बनाएका थिए । त्यही कारण नेपाल फर्केर धेरै कुरेपछि उनीहरुले त्यस्तै केन्द्रसित आवद्ध हुने योजना बनाएका थिए । तर, विविध कारण फर्किने बितिकै त्यो कुरा सम्भव भएन ।

डा. साकेत र डा. धर्मागत नेपालका प्रतिरक्षा एवं बाल–वयस्कका बाथरोगका निदान र उपचारमा सक्रिय रुपमा क्रियाशील छन् । यो बीचमा डा. धर्मागत भट्टराई विद्यावारिधिपछि फेरि विश्वव्यापी प्रतिष्ठित बृहत्तर इम्युनोलोजी संस्था इसिड (युरोपियन सोसाइटी फर इम्युनोलोजी डिफिसेन्सी)बाट छानिएर ‘एडभान्स्ड इम्युनोलोजी’ र ‘बोन म्यारो प्रत्यारोपण’मा फेलोसीप बेलायत र अमेरिकामा गएर पूरा गरे । डा. धर्मागत यसैबीच आफ्ना योग्यता, योगदान, प्रभाव एवं अनुसन्धानको आधारमा विश्वमै उदियमान युवा इम्युनोलोजिष्टलाई दिइने अन्तर्राष्ट्रिय पुरस्कार ‘इसिड इन्टरनेशनल ट्यालेन्ट अवार्ड’ को यस वर्षको विजेतारुपमा विभूषित पनि बने ।

प्रतिरक्षा एवं बालबालिका तथा वयस्क बाथ रोगका बिरामीहरुलाई निदान र सम्पूर्ण उपचार गर्ने सपना बोकेका डा. सांकेत र डा. धर्मागतले प्रतिरक्षा एवं बाथरोगसम्बन्धी सबै रोगका विस्तृत एवं सम्पूर्ण उपचार एकै छानामुनि गर्ने उद्देश्यका साथ सेन्टर स्थापना गर्ने र देशभर संचेतना फैलाउने योजना बुने । त्यसका लागि निदान उपचारको केन्द्र थलो महाराजगन्ज प्रहरी वृत्त पछाडिको एक घर लिए । २ महिनाअघिबाट सेन्टरका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य अगाडि बढाए । नाम राखे—‘एडभान्स सेन्टर फर इम्युनोलोजी एण्ड र्‍युम्याटोलोजी ।’ जसलाई ‘इम्युनो केयर’ भनेर ब्राण्डिङ थालिएको छ ।

अहिले सेन्टरको पूर्वाधार निर्माण र जनशक्ति भर्नाको काम सकिएको छ । सेन्टरमा एक दर्जन कर्मचारी कार्यरत छन् । सेन्टरमा परामर्शसँगै आफ्नै एक्सरे, अल्ट्रासाउण्ड सेवा, केही बाथरोगमा चाहिने नङ्ग क्यपिलोरोस्कोपी, फिजियोथेरापी, फार्मेसी र अत्याधुनिक ल्याब (इम्युनोलोजिकल र जेनेटिकसहित)को साथ छ । कठिन बाटो, खर्चिलो, चुनौतीपूर्ण र सबैले बुझ्न लामो समय लाग्ने भएपनि जतिलाई गर्न सकिन्छ तिनको आशिर्वाद पाउने उद्देश्यले सुलभ सेवा सुरु गरिएको डा. धर्मागत बताउँछन् ।

असोज १ गतेबाट औपचारिक रुपमा सञ्चालन ल्याइएको यो सेन्टर बाल र वयस्क प्रतिरक्षा (इम्युनिटी) रोग एवं बाथरोग केन्द्रित हुनेछ । ‘तर, बाथरोगमा धेरैजसो विशेषरुपले सम्बन्धित हुने आँखा, छाला र मृगौलाजस्ता अंगका विशिष्टीकृत विज्ञ सेवा पनि नेपाली सापेक्षताअनुसार सस्तो, र सुलभ रुपमा यस सेन्टरबाट उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ डा. साकेत भन्छन्, ‘बाथ मल्टीसिष्टम (बहुप्रणाली) बिमारी हो, यसले विभिन्न अंगहरुमा समस्या ल्याउँछ; आँखा, नाक, मुख, कपाल, छाला, खुट्टा लगभग सबै आन्तरिक अंगमा । एउटै छानामुनि प्रतिरक्षा रोग र बाथरोगले असर पार्ने सम्पूर्ण बिमारको उपचार गर्ने हिसाबले केन्द्र स्थापना गरेका हौं ।’

डा. सांकेतकाअनुसार बाथ जटिल रोग भएकाले लामो समय उपचार गर्नुपर्ने हुन्छ । ‘रोगहरु बहुप्रणालीगत र विभिन्न थरी हुन्छन्, पहिचान गर्न कही न कही त सुरुवात गर्नुपर्छ,’ डा. साकेतले थपे, ‘यो सेन्टर त्यसैको सुरुवात हो ।’ इम्युनो केयरमा वृद्धवृद्धादेखि बालबालिकासम्म सबै प्रकारका इम्युनो रोग र बाथ रोगका बिरामीले उपचार पाउनेछन् । ‘मानौ, तपाईंलाई घिच्रो दुःखिरहेको छ, वा मुत्रनलीमा सुजन छ, त्यो सँगै आँखा पनि रातो भयो भने हाम्रो दिमाग फरक हिसाबले चल्छ,’ उनले थपे, ‘तपाईं ढाड दुखेर जानुभयो भने हाडको डाक्टरले आफ्नो विषयगत हिसाबले हेर्छन्, आँखाको चिकित्सकले आंगिक रुपमा हेर्छन् । यो दुई वटैलाई जोडिदिनुभयो त्यसको मूल जड रोग थाहा हुन्छ । यो दुवै समस्या एउटै रोगका लक्षण हुन भनेर त्यो काम हामीले गर्छौ ।’

‘बहुआंगिक रोग पत्ता लगाउनु भएको वृहत्तर दृष्टिले जंगल हेर्नुजस्तै हो भने एउटा अंगमात्रै हेरेर अरु बिर्सनु जमिनबाट एउटा रुखमात्र भेटेर सिमित हुनुजस्तो हो । बिमार जरैदेखि थाहा पाउन र ठिक बनाउन जरोदेखि बिमार पत्ता लगाउनु जरुरी हुन्छ । इम्युनोलोजी विहंगम दृष्टिबिना सम्भव छैन्,’ डा. धर्मागत भन्छन्, ‘तसर्थ, मेडिसिनमा भनिन्छ पनि, एउटा रुखमात्र भेटेर त्यसैमा मात्र अन्तिमसम्म नअल्झिनु नत्र तिमीले जंगल नै छुटाउनेछौं,’ डा. धर्मागत भन्छन् ।’ प्रतिरक्षाका धेरैजसो रोग बारम्बार विभिन्न अंगमा संक्रमण हुने, छालालगायत अंकमा घाउ, गाँठागुठी हुने वा बहुआंगिक समस्या हुने हुन्छन् । यिनमा एउटामात्र अंगलाई हेरेर बसियो भने मुख्य रोग कहिल्यै पत्ता नलाग्ने र अन्नतः इम्युनोकमीले बच्चाको कालान्तरमा ज्यानै जाने डा. धर्मागत बताउँछन् ।

बाथरोग (र्‍युम्याटिक रोग) भनेको सयौं इम्युन असन्तुलनबाट सिर्जित रोगको ठूलो समूहको नाम भएको यी युवा चिकित्सकहरु बताउँछन् । तर, नेपालमा बाथरोग भनेको जोर्नी दुख्ने रोग मात्रै भन्ने भ्रम छ । बाथमा रहेको यो भ्रमलाई चिर्न निकै कसरत गर्नुपर्ने उनीहरुले ठानेका छन् । ‘धेरैले बाथरोग भन्ने बितिकै युरिक एसिड बढ्नेलाई मात्रै बुझेका छन् । अझ बच्चामा त बाथरोग नै हुन्न भन्नेसम्मको घातक भ्रम छ । बच्चाको कयौं बाथरोग जोर्नी बिनाका हुन्छन् । बच्चालाई अपवादबाहेक युरिक एसिड बढ्ने रोग हुँदैन् । ‘अब १० वर्षको बच्चामा युरिक एसिड बढेको रोग खोजेर बसियो भने अर्को कुनै गहन जोर्नीको समस्या ल्याउने रोग हामीले छुटाइन्छ,’ डा. सांकेत भन्छन्, ‘जबकी उसलाई अन्य समस्या हुनसक्छ ।’

नेपालम प्रतिरक्षा विज्ञान र बाथ रोगको उपचार अन्य रोगजस्तै विकास हुन नसकेकोमा यी युवा चिकित्सक चिन्तित छन् । संसारभर अहिले नयाँ पद्दति (जस्तै इम्युनोग्लोब्युलिन, बायोलोजिक, वा खोप) इम्युनोलोजिमा आधारित छन् तर हामीकहाँ एन्टीबायोटिकभन्दा बाहिर हाम्रो ध्यान जान सकेको छैन । ‘तर, यसमा समयसँगै परिवर्तन आउँछ होला,’ दुवै युवा चिकित्सक आशावादी देखिए ‘यो क्रमशः हुने कुरा हो । हामी आउँदा भन्दा अहिले नै कतिलाई सामाजिक संजालमा आएका हाम्रा निदान र सुचनाले प्रतिरक्षा रोगबारे सोच्ने बनाएको छ ।’ स्मरणीय छ, डा. धर्मागतले आफ्नै एकल प्रयासमा आजसम्म २७ बढी दीर्घ बिरामीमा इम्युन रोग (आई.ई.आई.) पत्ता लगाएर विश्व–वैज्ञानिक भेलामा प्रस्तुत समेत गरेका छन् । यसमध्ये एक ‘ए.आर.पी.सी. वान–बि डेफीसियन्सी’ त संसारमै सिर्फ १७ जनामा पत्ता लागेकोमध्ये डा. धर्मागतले पत्ता लगाएको केस विश्वमै १८ औं बच्चा थियो ।

सेन्टरबाट भविष्यमा प्रतिरक्षा र बाथरोगका सबै परीक्षण र अनुसन्धानका कामहरु गर्ने योजना पनि यी दुई युवा चिकित्सकको छ । ‘इम्युनोलोजी र ह्युमाटोलोजी सम्बन्धि बच्चादेखि वयस्कसम्मको एउटै सेन्टर नभएको अवस्थामा यो सेन्टर निकै उपयोगी हुनेछ,’ डा. धर्मागत भन्छन् ।

डा. धर्मागत अमेरिकामा इम्युन कमी र गडबडीका रोगमा आफूले सिकेको सेलुरल थेरापी, जीन थेरापी, बोनम्यारो ट्रान्सप्लान्टजस्ता उपचार पद्धति मातृभूमीमा सुरु गर्न इच्छुक रहेको बताउँछन् । ‘तर, यी कामका लागि अहिल्यै नै यति ठूलो लगानी सम्भव छैन्,’ उनी भन्छन्, ‘परिकल्पनामा भविष्यमा त्यो काम गर्ने उत्कृष्ट अभिलाषा छ ।’ इम्युनोलोजी रोगको मूल कारण पत्ता लगाउने विज्ञान मात्र होइन, चिकित्साविज्ञानको अबको भविष्य हो । यो बुझ्न एकपटक अहिले आएका नयाँ मापदण्ड, उपचार विधि र युरोप, अमेरिकाका उपचार हेरे पुग्छ । सजिलै बुझाउन यो उदाहरण काफी छ– गम्भीर कोभिड रोगीमा दिइएको टोसिलीजुमाब औषधी इम्युनोलोजिकल औषधी हो । आईभीआईजी पनि त्यस्तै औषधी हो ।’

पश्चिमी देशमा आफूले नपढेको नजानेको विषयमा डाक्टरले अनुमान लगाएर बस्दैनन् । तुरुन्त सम्बन्धित विषयको विशिष्टीकृत विज्ञलाई रेफर गर्छन् । अनि त्यहाँ अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप उपचार गरिनैपर्छ किनभने त्यहाँको प्रणाली र अनुगमन चुस्त छ । हामी कहाँ रिफर गर्ने संस्कृति विकास नभैसकेको गुनासो गर्छन्—यी चिकित्सक । आफूले धेरैपटक हेर्दा पनि निदान नभएपछि त्यो रोगीलाई उच्च या विषयगत विज्ञ कहाँ पठाउनु अत्यन्त जरुरी तथा जायज कुरा हो । ‘त्यो नभए दुःखद् हो । विकसित देशमा असम्बन्धित विधाको समस्यालाई समुचित विज्ञकोमै जाने सल्लाह दिइन्छ तर हाम्रो देशमा विज्ञको कमीले गर्दा उपलब्ध सेवामा सिमित हुन बाध्यता छ । तर, अब विज्ञहरु उपलब्ध भएपछि यस्तो रिफरल नेपालमा पनि पक्कै बढ्नेछ,’ यी दुई चिकित्सकले कुराको बिट मार्नु पूर्व भने, ‘प्रतिरक्षा रोग र बाथरोगका तमाम बिरामीलाई सही निदान र उपचार मापदण्डअनुरुप हुन पाओस् । यो हाम्रो सपना हो ।’


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #इम्युनो केयर, #एडभान्स सेन्टर फर इम्युनोलोजी एण्ड र्‍युम्याटोलोजी, #डा. धर्मागत भट्टराई, #डा. साकेत झा, #पोष्टग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजीआईएमईआर)


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ