२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपयुनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना 

युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना 


पाल्पाका डा. हिमांशु रेग्मीले सन् २०११ मा जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरे । केही समय हाउस अफिसरका रुपमा स्वास्थ्य संस्थामा काम गरेपछि  विशेषज्ञता हासिल गर्न कलेज अफ मेडिकल साइन्सेज भरतपुर गए । त्यहाँबाट सन् २०१८ मा उनले प्याथालोजीमा विशेषज्ञता हासिल गरे ।

विशेषज्ञता हासिल गरेपछि डा. हिमांशु मनमोहन मेमोरियल शिक्षण अस्पतालमा काम गर्न थाले । सन् २०१९ बाट कन्सल्ट्यान्ट प्याथालोजिष्टका रुपमा काम गरे । त्यही अवधिमा उनले अल्फा केयरलगायतका विभिन्न प्रयोगशालाहरुमा आवद्ध भएर अनुभव हासिल गर्ने मौका पाए । अरुलाई तालिम पनि दिए । आफूले पनि विभिन्न तालिमहरु लिए । ‘जानकार विशेषज्ञहरुको साथमा काम गरेर राम्रै अनुभव पनि संगाल्ने अवसर पाए,’ उनले भने, ‘यस बीचमा मेडिकल क्षेत्रका व्यक्तित्वले सञ्चालन गरेको ल्याब र यससँग सम्बन्धित नभएका व्यक्तित्वले सञ्चालन गरेको ल्याबमा हुने भिन्नता महसुस गर्न पाएँ ।’

उनको अनुभवमा व्यापारिक व्यक्ति र चिकित्सकहरुले सञ्चालन गरेका प्रयोगशालामा स्पष्ट भिन्नता थियो । ‘प्रायः व्यापारीहरु चलाएको प्रयोगशालाहरुमा व्यापारलाई प्रमुख रुपमा हेरेको पाए,’ उनले भने, ‘चिकित्सकहरुले नै संचालन गरेका प्रयोगशाला सेवामूलक पनि थिए ।’ ल्याब तथा डायग्नोष्टिक सेन्टरहरुले तयार गरेको रिपोर्टकै आधारमा चिकित्सकहरुले बिरामीको उपचार गर्ने भएकाले यो निकै संवेदनशील क्षेत्र हो । ‘त्यो रिपोर्ट र  इन्भेष्टीगेसनकै आधारमा उपचार तथा शल्यक्रियाहरु हुने गर्दछन्,’ उनी भन्छन्, ‘त्यही कारण यो एक संवेदनशील विषय पनि हो ।’

अनुभव, तालिम र यो क्षेत्रमा काम गर्दागर्दै डा. हिमांशुलाई आफ्नै सेन्टर खोलेर सेवामूलक र गुणस्तरीय सेवा दिने सोच बनाए । ‘बरु, केही प्रेसर भएपनि होस् भन्ने सोचाइ लिएँ,’ उनले भने । त्यसपछि डा. हिमांशुसँग प्रशान्त सुवेदीलगायतका युवा व्यवसायीहरु र डाक्टरहरुको टिम जोडियो । वात्सल्यका उदीयमान युवा सिईओ प्रशान्तसहितको टिम बनेपछि डा. हिमांशुलाई आफ्नो योजना अगाडि बढाउन थप सहज भयो ।

डा. हिमांशुको नेतृत्वमा टिम बनेपछि भक्तपुरको गठ्ठाघरमा प्रयोगशाला खोल्नका लागि उपयुक्त ठाउँ चयन गरे । जर्मन हाउससँगैको घरमा १8 सय स्क्वायर फिट भाडामा लिए ।  ‘यो क्षेत्रमा बढीजसो बाहिरी जिल्लाबाट आएका बासिन्दाहरुको बसोबास छ,’ डा. हिमांशु कारण खोल्छन्, ‘बी ग्रेडमा सम्पूर्ण सेवासुविधा प्रदान गरेर सञ्चालन गर्न सकिने गरी प्रयोगशाला स्थापनाको काम अगाडि बढायौं ।

यो ठाउँ विशेषतः भक्तपुरमा रहेका बिरामीहरुलाई जाँचका लागि काठमाडौंसम्म पुग्नुपर्ने बाध्यतालाई न्यून गर्नका सकिन्थ्यो ।’ यही कारण उनले प्रयोगशाला स्थापनाका लागि गठ्ठाघर रोजेका हुन् ।जर्मन हाउस अगाडिपट्टीको भवनमा गत बैशाखबाट प्रयोगशालाको कन्स्ट्रक्सनको काम अगाडि बढाइयो । कात्तिकको पहिलो साता प्रयोगशालाको कन्स्ट्रक्सनको काम सकियो । नाम राखे—युनी ल्याब डाइग्नोष्टिक सेन्टर प्रा.लि.। ‘हामीले विशेषतः छोटो र याद गर्न पनि सहज नाम खोजिरहेका थियौं,’ नामको किस्सा सुनाउँदैं उनी भन्छन्, ‘साथी रवीनले युनिभर्सल सुझाउनुभएको थियो अनि त्यसलाई अझै संक्षिप्त बनाउँदै युनी ल्याब छनौट गर्‍यौं ।’

प्रयोगशाला कन्स्ट्रक्सनको काम सकिएपछि डा. हिमांशुले अल्फाकेयरको काम छाडेर आफ्नै ल्याबमा केन्द्रीत भए । युनी ल्याबका लागि टिम निर्माणमा लागे । ‘पहिले काम गरेका ठाउँका साथीहरु पनि मसँग जोडिन चाहनुहुन्थ्यो,’ उनी भन्छन्, ‘त्यही कारण ल्याबका लागि कर्मचारीहरु पनि बाहिर खोज्नुपरेन् । आफैले सँगै काम गरेका साथीहरुबाट साथ मिल्यो ।’

जागिरको कन्फर्ट जोनबाट डा. हिमाशु आफ्नै व्यवसाय गर्न तम्सिएका छन् । ‘मेरो परिवारका धेरैजना सरकारी जागिरमा संलग्न हुनुहुन्छ,’ उनी भन्छन्, ‘म मात्रै फरक व्यवसायको क्षेत्रमा आएको हुँ । आफ्नो अनुभव नै यसै क्षेत्रमा भएको र लगानीभन्दा पनि गुणात्मक सेवा दिने ध्येयले यो क्षेत्र रोजे ।’ ३७ वर्षीय डा. हिमांशु प्रबन्ध निर्देशकका रुपमा बी ग्रेड सुविधासम्पन्न युनी ल्याब हाँक्दैंछन् । युवाहरुको समूहले झण्डै २ करोड बढी लगानीमा सञ्चालनमा ल्याएको युनील्याबमा युवा सोच झल्कन्छ । प्रयोगशालाको आकर्षक इन्टेरियरको काम पनि उनीहरु आफै संलग्न रहे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट बी ग्रेडको मान्यता प्राप्त युनील्याब पुसको पहिलो साताबाट संचालनमा आएको छ । सुरुवाती चरणमै प्रयोगशालामा २०० भन्दा बढी जाँचहरु सुरु भएका छन् । ‘ए ग्रेडका ल्याबमा हुने केही जाँचहरु उपलब्ध छैनन्,’ डा. हिमांशु भन्छन्, ‘फर्टिलिटी तथा महिला सम्बन्धित कुराहरुको जाँचका लागि हामीसँग सम्पूर्ण सुविधा उपलब्ध छन् ।’ अहिले युनी ल्याबमा टेक्निकल र नन टेक्नीकल २३ जना कर्मचारी कार्यरत छन् ।

डा. हिमांशु महिला र इन फर्टिलिटीमा सबै जाँचहरु उपलब्ध गराउने र अन्य जाँचहरु गर्ने योजनाका साथ काम गरिरहेका छन् । ‘हाम्रो नेपालमा भएका ल्याबहरुले विशेषतः धेरैवटा क्षेत्रमा काम गर्न खोज्छन्,’ उनी कारण प्रष्टयाँछन्, ‘तर, विकसित देशहरुमा भने एउटा ल्याबले एउटै क्षेत्रलाई केन्द्रबिन्दुमा राखेका हुन्छन् ।’ त्यही कारण डा. हिमांशु र उनको टिम युनी ल्याबलाई विशेषतः फर्टिलिटी र गाइनोमा केन्द्रिकृत गर्दैछ । ‘भविष्यमा अंकोलोजीमा पनि केही गर्ने सोच राखेका छौं,’ उनले भने ।

 


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #अल्फा केयर, #कलेज अफ मेडिकल साइन्सेज, #गठ्ठाघर, #डा. हिमांशु रेग्मी, #नेपाल मेडिकल कलेज, #प्रशान्त सुवेदी, #मनमोहन मेमोरियल शिक्षण अस्पताल, #युनी ल्याब, #युनी ल्याब डाइग्नोष्टिक सेन्टर प्रा.लि., #वात्सल्य


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ