२०८२ मंसीर २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपअनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’

अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’


काठमाडौं—बाल रोग सम्बन्धी विशिष्टीकृत सेवाहरु एकै छानामुनिबाट प्रवाह गर्ने सपना देखिरहेका थिए—वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुर्यबहादुर थापा । अस्पताल र क्लिनिकहरुमा बाल रोग सम्बन्धी उप विशेषज्ञ (सब स्पेसियालिटी) एवं विविध सेवा चाहिएका बालबालिकालाई धेरै ठाउँमा चहार्नुपर्ने अभिभावकको बाध्यतालाई डा. थापाले राम्रैसँग बुझेका थिए ।

बालबालिका एवं किशोर—किशोरीको पेट तथा कलेजो रोगमा उप विशेषज्ञता हासिल गरेका डा. थापा त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् । उनीजस्तै बाल मिर्गौला रोग विशेषज्ञ डा. दमनराज पौडेललाई पनि छिटो—छरितो एउटै क्लिनिकमा यी सबै सेवा प्रवाह गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । यस्तैमा उनीहरुको भेट लाजिम्पाटमा प्रथम प्याथोलोजी ल्याब सञ्चालन गरिरहेका डा. निराजन मैनालीसँग भयो । डा. मैनालीले डा. थापा र डा. पौडेलसँग आफ्नो प्रयोगशालामा खाली रहेको स्पेशमा मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक चलाउन प्रस्ताव राखे ।

डा. मैनालीको प्रस्ताव उनीहरु दुवैलाई मन पर्‍यो । त्यसपछि डा. थापा र डा. पौडेल विविध विद्याका उप विशेषज्ञ (बाल रोग उपविशेषज्ञ)को टिम तयार पार्न लागे । यसैमा जोडिए—पेडियाट्रिक एयरवे सर्जन तथा बाल नाक, कान, घाँटी रोग विशेषज्ञ डा. विज्ञानराज ज्ञवाली, पेडियाट्रिक हेमाटोअंकलोजिष्ट (रक्त रोग एवं रक्त क्यान्सर विशेषज्ञ) डा. प्रवीना श्रेष्ठ, पेडियाट्रिक कार्डियोलोजिष्ट (बाल मुटु रोग विशेषज्ञ) डा. रोमिला चिमोरिया, पेडियाट्रिक पल्मोनोलोजिष्ट (बाला फोक्सो रोग विशेषज्ञ) डा. अमृत घिमिरे, डेभलपमेन्टल पेडियाट्रिसियन (बाल विकास सम्बन्ध) डा. लुना बज्राचार्य र बाल शल्यचिकित्सक डा. दिनेश कोइराला ।

युवा तथा अनुभवी चिकित्सकहरुको सशक्त टिम बनेपछि मल्टीस्पेसियालिटी क्लिनिकबाट सेवा प्रवाह सहज हुने भयो । विशेषज्ञ चिकित्सकहरु सशक्त टिम बनेपछि २०८१ साउनबाट लाजिम्पाटमा मल्टीस्पेसियालिटी क्लिनिक सञ्चालन सुरु भयो । प्रथम मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक सम्भवतः नेपालकै पहिलो मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक हो । क्लिनिकबाट पछिल्लो डेढ वर्षदेखि स्वदेश तथा विदेशबाट विश्वस्तरीय ज्ञान बटुलेका अनुभवी चिकित्सकहरुले बाल रोग सम्बन्धी विविध सेवाहरु बिरामीलाई दिइरहेका छन् ।

क्लिनिकले फोक्सो, मिर्गौला, पेट तथा कलेजो रोग, रक्त क्यान्सर, मुटु रोग, नाक, नाक, घाँटी, बाल विकास, बाल अर्थो, बाल सर्जरीसँग सम्बन्धित समस्या भएका बिरामीलाई एउटै छानामुनिबाट सेवा प्रवाह गरिरहेको छ । ‘धेरै पहिलादेखिकै नै एउटै छानामुनिबाट सबै विधाका बाल रोग विशेषज्ञ मिलेर मल्टीस्पेसियालिटी क्लिनिकमार्फत सेवा दिन सकियो भने राम्रो हुन्थ्यो भन्ने लागिरहन्थ्यो,’ डा. थापा भन्छन्, ‘गत वर्षको साउनबाट त्यो सपना पूरा भयो । हामीले एउटै छानामुनिबाट मल्टीस्पेसियालिटी बाल रोग सम्बन्धी सेवाहरु प्रवाह गरिरहेका छौं ।’

डा. थापा क्लिनिकलाई भविष्यमा एडभान्स सेन्टरका रुपमा विकास गर्दै लैजाने बताए । ‘बालबालिका सम्बन्धी सबै रोगको एउटै छतबाट सेवा दिने उद्देश्यले यो क्लिनिक स्थापना गरेका हौं,’ उनले भने, ‘अहिलेका लागि बिरामीलाई ओपीडी सेवा दिने र विस्तारैं क्लिनिकलाई एडभान्स बनाउँदैं लैजाने योजना छ ।’ अहिले डाइग्नोष्टिकका सेवाहरु, ल्याब र सामान्य फार्मेसी सेवा पनि क्लिनिकले उपलब्ध गराइरहेको छ ।

डा. पौडेलले बालबालिका सम्बन्धी सबै समस्या पहिले बाल रोग विशेषज्ञले हेर्थे चलन भएपनि अहिले त्यो अवस्था विस्तारैं परिवर्तन हुँदैं गएको बताए । ‘अहिे बाल रोगमा सब स्पेशलिष्ट उपलब्ध छन्, बाल किड्नी, बाल ईएनटी, बाल कलेजो, बाल पेट, बाल मुटु आदि,’ उनले भने, ‘एउटै विशेषज्ञबाट सबै समस्या समाधान हुने नदेखेर विधागत विशेषज्ञता हासिल गर्न थालिसकेपछि यो विकास भएको हो ।’ तर, नेपालमा अझै यो आधारभूत अवस्थामै रहेको अनुभव उनले सुनाए । त्यसलाई थोरै मात्र भएपनि विकासमा योगदान गर्नका लागि पायोनियर इन्स्टिच्युटमा काम गरेका सबै पेडियाट्रिकसियनहरुले एकै ठाउँमा मिलेर एकै छातामुनिबाट काम गर्दा बिरामीलाई पनि सहज हुने भएपनि हामीले यो मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक सञ्चालनमा ल्याएका हौं ।

विज्ञहरुको जमघट

‘प्रथम मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’मा विज्ञता र अनुभवी चिकित्सकहरुको जमघट छ । २० वर्षदेखि पेडियाट्रिसियनका रुपमा सक्रिय डा. थापा १५ वर्षदेखि महाराजगन्ज मेडिकल क्याम्पसमा अध्ययन तथा अनुसन्धानमा सक्रिय छन् । हाल एशोसिएट प्रोफेसर रहेका उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पेडियाट्रिकमा विशेषज्ञता हासिल गरेका हुन् । डा. थापाले नयाँदिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलबाट बालबालिकाको पेट र कलेजो सम्बन्धी फेलोसीप गरेका छन् । पेडियाट्रिक इण्डोस्कोपिकको झण्डै १५ वर्ष लामो अनुभव रहेका डा. थापाले हालसम्म २ हजार बढी इण्डोस्कोपी गरेका छन् ।

पेडियाट्रिक नेफ्रोलोजिष्ट डा. पौडेलले मणिपाल मेडिकल कलेजबाट एमबीबीएस, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट पेडियाट्रिकमा एमडी र सर गंगालाल हस्पिटल भारतबाट पेडियाट्रिक नेफ्रोलोजीमा फेलोसीप गरेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको एसिस्टेन्ट प्रोफेसर र नेपाल पेडियाट्रिक सोसाइटीको पेडियाट्रिक नेफ्रोलोजी च्याप्टरका उपाध्यक्ष रहेका उनीसँग १६ वर्ष जनरल पेडियाट्रिसियन र ९ वर्ष पेडियाट्रिक नेफ्रोलोजिष्टको अनुभव छ ।

युवापुस्ताकी उदीयमान पेडियाट्रिक कार्डियोलोजिष्ट डा. रोमिला चिमोरिया ‘प्रथम मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’की प्रमुख चिकित्सक हुन् । मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा एसिस्टेन्ट प्रोफेसरका रुपमा सक्रिय उनले काठमाडौं युनिभर्सिटीबाट पेडियाट्रिक्समा एमडी गरेकी छन् । म्याक्स सुपरस्पेसियालिटी हस्पिटलकी पेडियाट्रिक इन्टरभेनसनल कार्डियोलोजी फेलो डा. रोमिलासँग ५ वर्षको पेडियाट्रिक कार्डियोलोजीको अनुभव छ ।

डा. प्रविना श्रेष्ठ युवा पेडियाट्रिक हेमाटो अंकोलोजिष्ट हुन् । सन् २०११ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पेडियाट्रिक्स एण्ड एडोलसेन्टमा विशेषज्ञता हासिल गरेकी उनी चिकित्साशास्त्र अध्ययन संस्थानमा एसिस्टेन्ट प्रोफेसरका रुपमा सेवारत छन् । १२ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा कार्यरत उनले टाटा मेमोरियल सेन्टर कलकत्ताबाट पेडियाट्रिक हेमाटो अंकलोजीमा फेलोसीप गरेकी छन् ।

रोयल कलेज अफ इग्ल्याण्डबाट एमआरसीएस गरेका डा. विज्ञानराज ज्ञवालीसँग थुप्रै अन्तर्राष्ट्रिस्तरको एक्स्पोजर छ । उनीसँग युनिभर्सिटी अफ मिसिगन अमेरिका, स्ट्यानफोर्ड युनिभर्सिटी अमेरिका र चिल्ड्रेन मेडिकल सेन्टरको अध्ययन तथा सेवाको अनुभव छ । बंगलादेशबाट एमबीबीएस गरेका डा. ज्ञवालीले हेड एण्ड नेक सर्जरीमा त्रिभुवन युनिभर्सिटीबाट एमएस गरेका हुन् । नेपालका एक्ला एयरवे सर्जन उनी सन् २०२१ देखि आईओएममा एसिस्टेन्ट प्रोफेसरका रुपमा सेवारत छन् । उनी अमेरिकन कलेज अफ सर्जन्स, इन्टरनेशनल कलेज अप सर्जन्सका फेलो पनि हुन् । डा. ज्ञवालीका ४५ भन्दा बढी अनुसन्धान विभिन्न जर्नलमा प्रकाशित छन् । कमन इन्ट्रेष्ट बच्चाहरुको उपचार भएपनि भविष्यमा यसलाई नै एकेडेमिक इन्स्च्यिुटका रुपमा अगाडि लगेर इभिडेन्स बेस प्रायक्टिस गर्ने योजनाका साथ काम गरिरहेको डा. ज्ञवालीले बताए ।

‘प्रथम मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’मा यसबाहेक अनुभवी बाल सर्जन डा. दिनेश कोइराला, पेडियाट्रिक पल्मोनोलोजिष्ट डा. अमृत घिमिरे डेभलपमेन्ट एण्ड बिहेवियर पेडियाट्रिक डा. लुना बज्राचार्यको सशक्त टिम छ । अनुभवी र दक्ष चिकित्सकहरुको दह्रो उपस्थितीले प्रथम मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिकलाई विशेष बनाएको छ ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #डा. अमृत घिमिरे, #डा. दमनराज पौडेल, #डा. दिनेश कोइराला, #डा. प्रवीना श्रेष्ठ, #डा. रोमिला चिमोरिया, #डा. लुना बज्राचार्य, #डा. विज्ञानराज ज्ञवाली, #डा. सुर्यबहादुर थापा, #प्रथम मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ