२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशअछाम अस्पताललाई उत्कृष्ट अस्पताल बनाउन लागिरहेको छु : डा. यादव

अछाम अस्पताललाई उत्कृष्ट अस्पताल बनाउन लागिरहेको छु : डा. यादव


अछाम—जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. चन्द्रशेखर यादवले अछाम अस्पताललाई नेपालकै उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न सकिने बताएका छन् ।अछामको अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्टको रुपमा जिम्मेवारी सम्हालेका डा. यादवले सबैको सहयोगमा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न सकिने बताएका हुन् ।

उनले अस्पताललाई सेवामैत्री अस्पतालका रुपमा स्थापित गर्न आवश्यक प्रयासहरू भइरहेको समेत उल्लेख गरे । अस्पतालमा चिकित्सकको दरबन्दीअनुसार सेवा प्रवाहका लागि उपकरण अभावका कारण कठिनाई भइरहेको बताउँदै उनले त्यसको व्यवस्थापनका लागि सम्बन्धित निकायहरूमा पहल गरिएको र यसले अपेक्षित नतिजा हासिल गर्ने उनको विश्वास छ ।

अस्पतालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी पाएतापनि बिरामीको स्वास्थ्य जाँच गर्नु र बिरामीलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नु नै आफ्नो प्रमुख दायित्व हुने उनले बताए । ‘आर्थिक तथा प्रशासनिक क्षेत्रलाई व्यवस्थित गर्दै सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि टिमवर्कमा केन्द्रित भएर लागि परेको छु,’ उनले भने ।

अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकहरूको दक्षतालाई सदुपयोग गर्न उपकरण व्यवस्थापनका लागि जोड दिइएको उल्लेख गर्दै डा. यादवले थप सेवा विस्तारका लागि हर सम्भव प्रयास भइरहेको बताए । नेपालमै नमुना अस्पतालका रुपमा उत्कृष्ट बनेर पुरस्कृत भएको अछाम अस्पतालको इतिहास दोहोर्‍याउने उनको अठोट छ ।

आर्थिक प्रशासनिक जिम्मेवारीसँगसँगै बिरामीलाई सन्तुष्ट हुने गरी सेवा प्रदान गर्न नियमित बिरामी जाँच तथा उपचारमा आफू खटिने गरेको उनको दाबी छ ।

अस्पताललाई व्यवस्थित र बिरामीमैत्री अस्पतालका रुपमा स्थापित गर्न स्वास्थ्यकर्मीसँगै व्यवस्थापन टिम र आम सर्वसाधारणको पनि उत्तिकै भूमिका हुने भएकाले आवश्यक सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ