उत्तरी अमेरिकी देश म्याक्सिकोमा फाइजरको कोरोना भ्याक्सिन लिने एक महिला चिकित्सक आइसीयुमा भर्ना भएकी छिन्। कोरोना विरुद्धको खोप लिएको आधा घण्टाभित्रै उनमा श्वासप्रश्वासमा र इन्सेफैलोमाइलिटिसको समस्या देखिएपछि अस्पतालको आइसीयूमा भर्ना गरिएको हो।
म्याक्सिकोको स्वास्थ्य मन्त्रालयले शनिबार उक्त जानकारी दिएको हो। मन्त्रालयले भन्यो, ‘एक ३२ वर्षीया महिला डाक्टरलाई औषधी निर्माता कम्पनी फाइजरको कोरोना भ्याक्सिन लगाएको आधा घण्टाभित्र डाहा हुने, मांसपेशीहरु कमजोर महसुस हुनु र श्वास लिनमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ।’
उक्त महिलाको प्राथमिक उपचारमा इन्सेफैलोमाइलिटिस भएको पत्ता लागेको थियो। मन्त्रालयका अनुसार हाल चिकित्सकको स्वास्थ्य स्थिर रहेको र उपचार भैरहेको छ।
सो डाक्टरमा केहि औषधी प्रयोग गर्नाको कारण एलर्जीको समस्या पहिला पनि देखिएको थियो। खासमा कोरोनाबाट गम्भीररुपमा प्रभावित बनेको म्याक्सिकोमा यस महामारीको कारण हालसम्म १ लाख २६ हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ।
जनवरी एकमा विश्व स्वास्थ्य संगठनले कोभिड-१९ विरुद्धको खोपलाई आपतकालिन स्वीकृती दिएको थियो
-एजेन्सी