काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट सञ्चालनमा आउने भएको छ । १३ किलोलिटर क्षमताको उक्त लिक्वुइड अक्सिजन प्लान्टको सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले उद्घाटन गर्ने कार्यक्रम छ ।
‘हामीले नेपालमा नयाँ प्रविधिको १३ किलोलिटरको लिक्वुइड अक्सिजन प्लान्ट जडान गरेका छौं,’ ट्रमाका निर्देशक डा. सन्तोष पौडेलले हेल्थआवाजसँग भने, ‘यो अहिले चलिरहेका भन्दा नयाँ प्रविधिको भएकाले चुहावट कम हुने, उच्च गुणस्तरको हुनेछ ।’ ग्याँसबाट चल्ने भएकाले यसमा विजुलीको खपत पनि कम हुने उनले बताए ।
डा. पौडेलकाअनुसार यो अक्सिजन प्लान्टमा सञ्चालनका हिसाबले पनि सहज र कम बिग्रने खालको छ । बजारमा १३ किलोलिटरको लिक्वुइड अक्सिजन प्लान्टको समग्र लागत झण्डै ६० लाख पर्ने भएपनि नेपालमा पहिलो पटक प्रयोग आउन लागेकाले कम्पनीले ट्रमालाई यो प्लान्ट दुई वर्षका लागि सित्तैमा जोडिदिन लागेको हो । यसमा प्रयोग हुने लिक्वुइडको रकम भने ट्रमाले भुक्तानी गर्नेछ ।
यस्तै, सोमबार नै ट्रमा एण्ड इमर्जेन्सी रजिष्ट्ररी र डेस्का स्क्यान मेसिनको पनि राज्यमन्त्री रावतले उद्घाटन गर्ने कार्यक्रम छ । ट्रमा एण्ड इमर्जेन्सी रजिष्ट्ररी इलेक्टोनिक्स प्रणालीमा बिरामीको रेकर्ड राख्ने सफ्टवेयर हो । उक्त सफ्टवेयर विश्व स्वास्थ्य संगठनको सहयोगमा बनाइएको हो ।
‘अब ट्रमा सेन्टर आधुनिक प्रणालीमा प्रवेश गर्दैछ,’ निर्देशक डा. पौडेलले भने, ‘हामी ट्रमा सेन्टरलाई आधुनिक बनाएर लैजान्छौं ।’