काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै अनुपातमा कोरोना संक्रमण बढेमा दैनिक ११ हजारसम्म संक्रमित थपिने प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृद्धयेश त्रिपाठीले अहिलेकै अवस्थामा कोरोना संक्रमण वृद्धि भएमा असारसम्म ६ लाख संक्रमित पुग्ने अवस्था आउने प्रक्षेपण मन्त्रालयले गरेको जानकारी दिए ।
दक्षिण छिमेकी मुलुक भारतमा तीब्र गतिमा कोरोना संक्रमण बढिरहेको भन्दै उनले मुख्य सीमा नाकामा १ हजार बस्न सक्ने होल्डिङ सेन्टर बनाइने बताए । साथै सीमामा सम्पूर्ण तयारी गरेर अस्पतालाई चुस्तदुरुस्त राख्ने कामहरु पनि सरकारले अगाडि बढाएको उनको भनाइ थियो ।
‘आवश्यक सामाग्रीको तयारी गर्न भनिसकिएको छ,’ उनले भने, ‘अहिले कोभिड—१९ को संक्रमण उमेर समूहमा पनि पस्दैंछ । त्यो पहिलेको भन्दा बढी जोखिमयुक्त छ ।’ तत्काल नाका बन्द नहुने बताउँदैं उनले बाहिरबाट आउनेलाई जनस्वास्थ्यका मापदण्ड पूरा गरेर व्यवस्थापन गरिने जानकारी दिए ।
मन्त्री त्रिपाठीले अहिलेको कोरोनाको युके भेरियन्ट पहिलेको भन्दा बढी संक्रामक रहेको पनि बताए ।
खोप आउने तयारीमा छ
मन्त्री त्रिपाठीले खोप आउने तयारीमा रहेको जानकारी समेत दिएका छन् । उनले आफूले कोभ्याक्स सुविधाको खोप आउने तयारीमा रहेको जानकारी पाएको उल्लेख गरे ।
भारतमा एकैचोटी कोभिड—१९ को संक्रमण उच्च भएकाले त्यहाँबाट खोप आउने कुरामा ढिलाइ भएको उनको भनाइ थियो । ‘भारतबाट खोप खुल्ना साथ पहिले नेपालले पाउँछ,’ उनले भने, ‘कमर्सियल प्राईसको रुपमा पाइएको थियो एजेन्ट छिर्न खोजेपछि ढिलो भएको हो ।’
अहिले त्यो एजेन्ट हटेको बताउँदैं उनले भारतबाट कोभिड—१९ खोपको एक्सपोर्ट रोकिएका कारण आउन नसकेको जानकारी दिए ।