काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएको समस्या छानविन गर्न बनेको सहकुलपतिस्तरीय छानविन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ । शुक्रबार बिहान समितिले प्रधानमन्त्री देउवालाई छानविन प्रतिवेदन बुझाउने भएको हो ।
प्रतिवेदनले विपीका उपकुलपतिलगायतका पदाधिकारीले आफ्नो पदीय दायित्व र आचरणअनुसारको काम नगरेको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छानविन समितिका एक सदस्यले हेल्थआवाजलाई बताए । ‘बाहिर आइरहेका कुरा जस्तै पदाधिकारीले दायित्वअनुसार काम नगरेको पाइयो,’ ती सदस्यले भने, ‘प्रतिवेदनमा पनि सोही कुरा उल्लेख गरेर कारवाहीको सिफारिस गरिएको छ ।’
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र पदाधिकारीले नियम बाहिर रहेर काम गरेको भन्दैं झण्डै चार महिनादेखि प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित छन् । यसअघि सरकारले विपीको विषयमा अध्ययन गर्न झण्डै आधा दर्जन बढी समिति गठन गरेर अध्ययन अगाडि बढाएको थियो ।
ती अध्ययनहरुले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको प्रतिवेदन दिएपछि प्रतिष्ठान ऐनअनुसार पदाधिकारीलाई कारवाही गर्नका लागि कुलपतिले सहकुलपति एवं स्वास्थ्यमन्त्रीको नेतृत्वमा तीन सदस्सीय छानविन समिति बनाएका थिए । जसमा स्वास्थ्य सचिव र धरान उपमहानपालिकाका मेयर सदस्य रहेका थिए ।
प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्षमा गुरु खनाल र अस्पताल निर्देशक डा. गौरीशंकर साह रहेका छन् ।