२०८२ साउन १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल

मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल


विराटनगर—मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालको स्वास्थ्य क्षेत्रमा एक नयाँ मोडल सुरुवात गरेको छ । विश्वविद्यालयले ‘पढ्दै कमाउँदै’ मोडेललाई साकार पार्दै फार्मेसी विज्ञानका विद्यार्थीहरूले आफ्नै प्रयोगशालामा चार प्रकारका गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन सुरु गरेका छन् ।

भारतको पतञ्जली आयुर्वेद प्रतिष्ठानबाट आएका डा. सुनिलकुमार शुक्लाको नेतृत्वमा विद्यार्थीहरूले स्थानीय जडिबुटीको अनुसन्धान गरेर भिक्स, बाम र सन्चोजस्ता दैनिक उपयोगका औषधि तयार पारेका हुन् । यी उत्पादनहरू ‘मनमोहन ओखती’ नामबाट चिनिनेछन् र सरकारी स्वीकृती पाएपछि बजारमा पठाइनेछ ।

मनमोहन विश्वविद्यालयले दुई वटा अनुसन्धान संकल्प अगाडि बढाएको छ । पहिलो अनुसन्धान एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियालाई नष्ट गर्न सक्ने लाभदायक भाइरस (ब्याक्टेरियोफेज) को विकासमा केन्द्रीत छ । यो अनुसन्धान सफल भएमा विश्वव्यापी स्वास्थ्य समस्याको समाधानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विश्वविद्यालयका उत्पादन

दोस्रो अनुसन्धान मधुमेह नियन्त्रणमा केन्द्रीत छ । नेपालका हिमाली जडिबुटीमा आधारित औषधि विकास गर्ने यो संकल्पले स्थानीय स्रोत र परम्परागत ज्ञानलाई वैज्ञानिक आधारमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । उपकुलपति डा. सुभाषश्री पोखरेल भन्छन्, ‘हाम्रा जडिबुटीमा लुकेका गुणलाई वैज्ञानिक प्रमाणसहित औषधिमा रूपान्तरण गर्न खोजिएको छ ।’

गुणस्तरीय शिक्षा र अनुसन्धान सुविधा

विश्वविद्यालयले एप्लाइड एण्ड हेल्थ साइन्स स्कुलअन्तर्गत फार्मेसी विज्ञानमा स्नातक तहको पठनपाठन गराइरहेको छ । अमेरिकी प्रविधिमा आधारित गुणस्तरीय प्रयोगशालाहरू निर्माण गरेर विद्यार्थीहरूलाई व्यवहारिक अनुसन्धानको अवसर प्रदान गरिएको छ ।

विश्वविद्यालयको अनुसन्धान केन्द्रमा हाल १० वटा अनुसन्धान कार्य भइरहेका छन् । यस केन्द्रले विज्ञान प्रविधि, इन्जिनियरिङ, चिकित्सा, कृषि र वन वातावरणका क्षेत्रमा कोशी प्रदेशका विद्यार्थी र युवा वैज्ञानिकहरूलाई सहयोग गरिरहेको छ ।

मनमोहन विश्वविद्यालयले सन् २०३० सम्म ३०० बेडको शिक्षण अस्पताल, १८ वटा अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान संग्रहालय स्थापना गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ । यी सबै सुविधाहरू निर्माण भएमा प्रदेशस्तरमै उच्चस्तरीय वैज्ञानिक र स्वास्थ्य अनुसन्धान केन्द्रको रूपमा विकास हुने अपेक्षा गरिएको छ ।

आगामी वर्षदेखि शिक्षण अस्पताल सञ्चालनमा आएसँगै मेडिकलका विभिन्न प्राविधिक विषयहरूको पठनपाठन थालिने तयारी भइरहेको छ । यसैगरी, धनकुटा जिल्ला अस्पतालाई विश्वविद्यालयको मातहतमा ल्याउने प्रदेश सरकारको नीति पनि आएको छ ।

तर, यी सबै महत्वाकांक्षी योजनाहरू कार्यान्वयनमा बजेटको अभाव मुख्य बाधक बनेको छ । विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि ३७ करोड रुपैयाँ बजेट माग गरेपनि प्रदेश सरकारले मात्र १४ करोड रुपैयाँ विनियोजन गरेको छ । उपकुलपति पोखरेलका अनुसार यो रकम तलब खुवाउन पनि चुनौतीपूर्ण बनेको छ । ‘प्राविधिक शिक्षाको महत्व, उपकरणको महँगो मूल्य र अनुसन्धान खर्चबारे हामीले बुझाउँदा पनि राजनीतिक तहबाट अपेक्षित सहयोग पाउन सकेका छैनौं,’ पोखरेलले गुनासो गरे ।

मनमोहन प्राविधिक विश्वविद्यालयले शिक्षा, अनुसन्धान र उत्पादनको त्रिकोणीय मोडेलबाट नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्न खोजेको छ । स्थानीय जडिबुटीमा आधारित औषधि उत्पादन र अत्याधुनिक चिकित्सा अनुसन्धानका यी प्रयासहरूले नेपालको स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता र गुणस्तरीय सेवा प्रदानमा महत्वपूर्ण योगदान पु¥याउने सम्भावना छ ।

विश्वविद्यालयले राजनीतिक प्रभावबाट मुक्त रहेर गुणस्तरीय शिक्षा र अनुसन्धानमा केन्द्रित रहने प्रतिबद्धता जनाएको छ । यदि सरकारी तहबाट उचित सहयोग र बजेट विनियोजन भएमा यी प्रयासहरूले नेपालको स्वास्थ्य क्षेत्रमा वास्तविक क्रान्ति ल्याउन सक्ने विश्वास गरिएको उपकुलपति पोखरेलले बताए ।

विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेल

देशकै पहिलो प्राविधिक विश्वविद्यालयले ८ वटा नियमावली र ७ वटा निर्देशिका निर्माण गरिसकेको छ भने आवश्यक अन्य दक्ष जनशक्ति पनि नियुक्त गरिएको छ । हाल मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्स र स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी छुट्टाछुट्टै सञ्चालनमा छन् ।

स्नातक तहमा सिभिल इञ्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, औषधी विज्ञान (बीफार्मेसी) तथा अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तर कक्षा सञ्चालन भइसकेको छ । यसैगरी, छुट्टै ‘मनमोहन इन्स्टिच्युट अफ ल’ स्थापना गरेर नेपालमै पहिलो पटक अपराध कानुनमा (स्नातकोत्तर) कक्षा गत माघदेखि सुरु गरिएको छ ।

पिएचडीसम्म पढाउने दश वर्षे रणनीति

कोशी प्रदेशको गौरव मानिएको मनमोहन प्राविधिक विश्वविद्यालयले अन्य धेरै विषयहरूमा स्नातकदेखि स्नातकोत्तर हुँदै पिएचडीसम्मको पठन–पाठन गराउने लक्ष्यसहित पाँच वर्षे र दश वर्षे रणनीति तयार गरिसकेको छ ।

छोटो समयमा स्थापना भएको यस विश्वविद्यालयले विभिन्न अन्तर्राष्ट्रिय चर्चित विश्वविद्यालयहरूसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । चाँडै नै दक्षिण एसियामा चिनिएको एक प्राविधिक विश्वविद्यालय बनाउने महान उद्देश्य बोकेको छ ।

हाल मनमोहनको आफ्नै अनुसन्धान केन्द्र स्थापना भइसकेको छ । जसअन्तर्गत १५ भन्दा बढी महत्वपूर्ण अनुसन्धान सम्पन्न भइसकेका छन् । विश्वविद्यालयको आफ्नै सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालय स्थापना भइसकेका छन् । साथै, सबै विषयका आधुनिक ल्याब र पुस्तकालय पनि सञ्चालनमा छन् ।

यसैगरी, विश्वविद्यालयको आफ्नै इञ्जिनियरिङ वर्कशप, भौतिक सामग्री परीक्षण प्रयोगशाला, तथा पानी परीक्षण प्रयोगशाला पनि सञ्चालनमा आइसकेका छन्, जसबाट विद्यार्थीहरूलाई ‘अर्न टु लर्न’ मोडलमा सहयोग पुगेको छ ।

शैक्षिक योजना र भौतिक पूर्वाधार

मनमोहनले आफ्नो दश वर्षे योजनाअनुसार १५ वटा विषयमा स्नातक तह, १२ वटा विषयमा स्नातकोत्तर तह र ६ वटा विषयमा विद्यावारिधी (पिएचडी) सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

यस योजनाबाट प्रत्येक वर्ष २ हजार ४३३ जना विद्यार्थी लाभान्वित हुने लक्ष्य राखिएको छ । यसका लागि विश्वविद्यालयको भावी दश वर्षे शैक्षिक कार्ययोजना तथा विभिन्न विषयका पाठ्यक्रमहरू पनि तर्जुमा गरिसकिएको छ ।

पाँच वर्षे योजना (२०७८–२०८२) अन्तर्गत ७ वटा स्नातक र ५ वटा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिनेछ । दोस्रो, पाँच वर्षे योजना (२०८३–२०८७) अन्तर्गत ६ वटा स्नातक, ५ वटा स्नातकोत्तर, र ५ वटा पिएचडी तहका कक्षा सञ्चालन गरिनेछ । जसअन्तर्गत कुल २८ वटा विषयमा २ हजार ८३१ जना विद्यार्थी दीक्षित गराउने लक्ष्य छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयले प्रदेश सरकारको सिमित बजेटमा पनि उल्लेखनीय भौतिक संरचना निर्माण गरिसकेको छ । चारतले साइन्स ब्लक भवन, चारतले एप्लाइड एण्ड हेल्थ साइन्स भवन, स्कुल अफ इञ्जिनियरिङको भवन निर्माण भइसकेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ