२०८२ साउन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपहिलो पटक देशका सात वटै प्रदेश पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा हुँदैं

पहिलो पटक देशका सात वटै प्रदेश पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा हुँदैं


काठमाडौं—पहिलो पटक सात वटै प्रदेश खोप सुनिश्चितता प्रदेश घोषणा हुने भएका छन् । मंगलबारसम्म दुई वटा प्रदेश पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा भइसकेका छन् ।

२४ असारमा मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता हुने देशकै पहिलो प्रदेश बनेको थियो । १६ साउनमा बागमती प्रदेश पूर्ण खोप सुनिश्चितता हुने दोस्रो प्रदेश बन्यो । बागमती र मधेशबाहेकका अन्य ५ वटा प्रदेशले पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरेको तयारी लगभग अन्तिम चरणमा पुर्‍याएका छन् ।

अन्तिम अवस्थामा कुनै परिवर्तन नभएमा ५ भदौंमा लुम्बिनी प्रदेशले पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारी गरेको छ भने ६ भदौंमा कर्णाली प्रदेशले पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम तय गरेको छ । १२ भदौंमा सुदूपश्चिम र १३ भदौंमा गण्डकी प्रदेश खोप सुनिश्चितता प्रदेश घोषणा हुनेछन् । ९ भदौंमा कोशी प्रदेशले पूर्ण खोप सुनिश्चिता प्रदेश घोषणा कार्यक्रम गर्ने गरी तयारी अगाडि बढाएको छ ।

६७४३ वडा, ७५३ स्थानीय तह र ७७ जिल्लाहरु पूर्ण खोप सुनिश्चिता घोषणा भएपछि सात वटै प्रदेशहरु पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गर्न लागेका हुन् । पूर्ण खोप सुनिश्चिताको घोषणा गर्नका लागि लक्षित वर्गका सबै बालबालिकाहरुले पूर्ण खोप पाएको हुनुपर्छ ।

स्वास्थ्य सेव विभागको परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमकाअनुसार खोप सुनिश्चिता हुनका लागि जन्मेदेखि १५ महिना पुग्दासम्म ९ वटा खोपका सबै मात्रा लक्षित सबैं जनसंख्याले लगाएको हुनुपर्छ । ‘लक्षित जनसंख्या भन्नाले जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले ९ वटा खोपका सबै मात्रा लगाएको सुनिश्चित हुनुपर्छ,’ उनी भन्छन् ।

बालबालिकालाई जन्मेदेखि १५ महिनासम्म बिसीजी खोप एकपटक लगाए पुग्छ भने पोलियो थोपा तीन पटक दिनुपर्छ । यसैगरी, पिसीभी तीन पटक, रोटा २ मात्रा, दादुरा—रुबेला दूई मात्रा, जापानिज इन्सेफ्लाइटिस एक मात्रा, टाइफाइड एक मात्रा, एफआईपीभी दुई मात्रा, डिपीटी हेप—बी हिब तीन मात्रा दिनुपर्छ । सरकारले वार्षिक कार्यतालिका नै बनाएर खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

‘९ वटा खोपको १८ वटा मात्रा बालबालिकालाई दिनुपर्छ,’ डा. गौतम भन्छन्, ‘विश्वस्तरीय गुणस्तरको खोप नेपालले बालबालिकालाई निःशुल्क दिइरहेको छ ।’ यसमध्ये केही खोपमा गाभीले सहयोग गर्दै आएको छ ।

खोप ऐनले कानुनतः बालबालिकाको खोप अधिकारका रुपमा सुनिश्चित गरेको छ । ‘खोप सुनिश्चितता एक पटक गरेर हुँदैन्, हरेक वर्ष गर्नुपर्छ,’ डा. गौतम थप्छन्, ‘पूर्ण खोप सुनिश्चित गर्नका लागि हरेक चोटी निरन्तर काम गर्नुपर्छ ।’ खोपहरुले बालबालिकालाई विभिन्न महामारी, सरुवा र अन्य रोगहरुबाट बचाउँदैं आएका छन् । निरन्तरको प्रयासका कारण नेपालले बालबालिकाको खोप सुनिश्चितामा दक्षिण पूर्वी एसियामै उत्कृष्ट नतिजासमेत पस्कदैं आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ