२०८२ चैत्र २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपचार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’

चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’


शिक्षा, पत्रकारिता र अनुसन्धानमा सक्रिय सीताराम भट्टराई, डा. विजय कटुवाल सहित चार जना साथीले डेढ वर्ष अगाडि गुणस्तरीय र सुलभ हस्पिटल खोल्ने योजनामा बनाए । त्यो बेला चार जना साथीहरुबीच ठूलो हस्पिटलभन्दा पनि चिटिक्कको सानो बुटिक शैलीको १५ शय्याको हस्पिटल सञ्चाालनमा ल्याउने र कालान्तरमा त्यसलाई बढाउँदैं ५० शय्यासम्मको बनाउने योजना बन्यो ।

व्यवस्थापन गर्न सजिलो, गुणस्तरीय र सुलभ शुल्कमा स्वास्थ्य सेवा प्रदान गर्न सकिने हस्पिटल खोल्ने योजनामा काम अगाडि बढाए । ‘बिरामीहरुलाई हाम्रो हस्पिटलको सेवाबाट सन्तुष्ट बनाएर पठाउन सकियोस् भनेर यो हस्पिटलको कन्सेप्ट बनाएका हौं,’ हस्पिटलका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका संस्थापक भट्टराईले भने ।

त्यो छलफललाई मूर्त रुप दिने गरी कामहरु अगाडि बढाइयो । सोही क्रममा छलफलमा जुटेका चार जना साथीमध्ये एक जनाको भिमसेनगोलामा पारिवारिक १ रोपनी ९ आना क्षेत्रफल जग्गामा एउटा भवन बनाउने योजना बनिरहेको थियो । १५ महिनाअघिबाट उक्त भवनलाई हस्पिटल बनाउने उद्देश्यअनुरुप निर्माण अगाडि बढाइयो । ‘भवन हस्पिटलकै सेपमा र हस्पिटलका लागि आवश्यक पर्ने सबै कुरा विचार गरेर बनाएका छौं,’ भट्टराई भन्छन् ।

केही महिनाअघि सात तले भवन निर्माण सकियो । निर्माण सकिएपछि भवनलाई भाडामा लिएर हस्पिटलको सेटअप सुरु भयो । गत महिनाबाट उक्त भवनमा भट्टराईको समूहले ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ सञ्चालनमा ल्याएको छ । हस्पिटलको सफ्ट ओपनिङ भएपनि ग्राण्ड ओपनिङ भने बाँकी नै छ । १५ चैतबाट हस्पिटलले लगभग सबै सेवाहरु प्रवाह गर्न थालिसकेको छ ।

१५ शय्याको अनुमति लिइएको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’मा ४ वटा इमर्जेन्सी शय्या, ४ वटा आईसीयु शय्या र ७ वटा जनरल शय्या छन् । ‘युरोलोजी र किड्नी सेवा हाम्रो प्राथमिकतामा हो,’ भट्टराई हस्पिटलको सेवा प्रवाहबारे भन्छन्, ‘तथापि जनरल हस्पिटल भएकाले सबै सेवाहरु दिन्छौं ।’ उनकाअनुसार हस्पिटलले अहिले स्त्री तथा प्रसूति रोग, बाल रोग, जनरल मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक्स र बाथ रोगलगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

तर, हस्पिटलका सञ्चालकमध्ये प्रमुख टिम सदस्य डा. विजय नै मिर्गौला प्रत्यारोपण सर्जन भएकाले नेफ्रोको एकदमै राम्रो टिम र युरोलोजीको पूर्ण टिम बनाउने योजनामा हस्पिटल व्यवस्थापन छ । ‘हाम्रो स्ट्रेन्थ नै युरोलोजी र किड्नीमा हो,’ भट्टराई कारण खोल्छन्, ‘त्यसैमा हामी विशेष केन्द्रीत भएर सेवा प्रवाह गर्छौ ।’

उत्कृष्ट प्रयोगशाला, युएसजी, एक्स—रेलगायतका रेडियोलोजीका सेवाहरु पनि हस्पिटलमा उपलब्ध छन् । निकट भविष्यमै हस्पिटलले सिटी स्क्यान मेसिन ल्याउने योजना बनाएको छ । हस्पिटलमा तीन वटा अत्याधुनिक शल्यक्रिया कक्ष सेटअप भइरहेका छन् । ‘मोर्डन र मोड्युलर ओटीहरु हुन्छन्, ओटीबाट इन्फेक्सन नहोस् भन्नेमा विशेष ध्यान दिएका छौं,’ उनले भने, ‘१५ शय्याको हस्पिटलमा सामान्यतयाः अन्य ठाउँमा नहुने किसिमको सेटअप गरेका छौं ।’

हस्पिटलजन्य संक्रमण रोक्नका लागि पनि ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ले विशेष ध्यान दिएको भट्टराई बताउँछन् । ‘हाम्रो हस्पिटलमा जुन मान्छे जे रोग लिएर आउँछ, त्यो रोग ठिक गरेर पठाउँछौं,’ उनले थपे, ‘हाम्रो हस्पिटलबाट बिरामीले अर्को रोग बोकेर जानु नपरोस भन्नेमा सचेत छौं ।’

१५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’मा ४० जनाले रोजगारी पाएका छन् । ९ जना विशेषज्ञ चिकित्सकको टिम छ, जुन केही समयमै १५ पुग्नेछ । भवनबाहेक हस्पिटलमा लगानी १२ करोड रुपैयाँ पुग्ने भट्टराईले बताए ।

जनरल हस्पिटलका रुपमा सञ्चालनमा आएको यो हस्पिटललाई कालान्तरमा युरोलोजी र किड्नी हस्पिटलका रुपमा विकास योजना व्यवस्थापनको छ । ‘अहिले बिरामीहरु खर्च ठूलो हुने तर गुणस्तरीय सेवा नपाउने गुनासोलाई हामीले सम्बोधन गर्न खोजेका छौं,’ उनले कुराको बिट मार्नुपूर्व भने, ‘गुणस्तरीय र सुलभ सेवा प्रदान गर्ने हस्पिटलका रुपमा विकास गरेर लैजान्छौं ।’


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ