जुम्ला—मुगुको खत्याड गाउँपालिका–११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्र लामो समयदेखि डाक्टरविहीन हुँदा स्थानीय नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन थालेका छन् । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेपनि दुर्गम क्षेत्रका बासिन्दाले अझै सहज पहुँच पाउन सकेका छैनन् ।
खत्याड गाउँपालिका–११ का धनराज कार्कीले आफ्ना अपांगता भएका नातिका लागि चिकित्सकीय सिफारिस लिन स्वास्थ्य केन्द्र पुगे पनि त्यहाँ डाक्टर नहुँदा रित्तै फर्किनु परेको गुनासो गरेका छन् । डाक्टर अभावकै कारण सामान्य उपचारका लागि समेत बिरामीहरू घण्टौ हिँडेर जिल्ला सदरमुकाम गमगढी वा अन्य ठाउँ पुग्न बाध्य छन् ।
स्वास्थ्य केन्द्रमा रहेको एक्स—रेलगायत उपकरण पनि प्रयोगविहीन बनेका छन् । स्थानीय मायादेवी वडका अनुसार हाडजोर्नी तथा अन्य समस्या लिएर आउने बिरामीहरूले उचित जाँच नपाई फर्किनु परिरहेको छ ।
यसअघि स्वास्थ्य केन्द्रमा डा. विकास धिताल काजमा कार्यरत रहेका थिए। उनको काज अवधि सकिएपछि केन्द्र डाक्टरविहीन बनेको हो । स्थानीय चन्द्रबहादुर कार्कीका अनुसार डाक्टर अभावसँगै टेलिमेडिसिन र एक्स—रे सेवा समेत प्रभावित भएका छन् ।
हाल स्वास्थ्य केन्द्रमा दैनिक २० देखि ३० जना बिरामी आउने गरेका छन् । गर्मी बढेसँगै रुघाखोकी, ज्वरोलगायतका बिरामीको संख्या पनि बढ्दो छ । औषधि पर्याप्त भएपनि डाक्टर नहुँदा बिरामीहरू निजी मेडिकलमा महंगो शुल्क तिरेर उपचार गराउन बाध्य भएको गोकर्ण कार्कीले बताए ।
रातापानी स्वास्थ्य केन्द्रका सिनियर अहेब नारायण कार्कीका अनुसार डाक्टर अभाव भएको करिब एक महिना भइसकेको छ । यसबारे सम्बन्धित निकायलाई जानकारी गराई सकिएको उनले बताए । उनका अनुसार हाल प्राथमिक उपचार सेवा दिइएपनि जटिल समस्या भएका बिरामीलाई सेवा दिन समस्या भइरहेको छ ।
रातापानी स्वास्थ्य केन्द्रमा खत्याडका साथै छिमेकी जिल्ला बाजुरा र हुम्लाबाट समेत बिरामी आउने गरेका छन् । तर, डाक्टर अभावकै कारण धेरैजसो बिरामी उपचारविहीन फर्किन बाध्य छन् ।
दुर्गम क्षेत्रका नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन राज्यले दरबन्दीसहित स्वास्थ्यकर्मी तत्काल खटाउनुपर्ने माग स्थानीयवासीले गरेका छन् ।