जुम्ला—तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७७ मा देशभरका स्थानीय तहमा ५ देखि १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अघि सारेका थिए । सोहीअनुसार कर्णाली प्रदेशका ४१ स्थानीय तह ४२ वटा अस्पताल निर्माणका लागि छनोट भए ।
त्यसमा जुम्लाका ८ स्थानीय तहमध्ये कनकासुन्दरी र तिला गाउँपालिका छनोटमा परेका थिए । कनकासुन्दरीमा १५ र तिलामा १० शय्या क्षमताका अस्पताल निर्माण हुने निश्चित भयो ।
कनकासुन्दरी गाउँपालिकाका निवर्तमान अध्यक्ष नरवीर रावतले वि.सं. २०७७ मंसिरमा अस्पतालको शिलान्यास गरे । कनकासुन्दरी गाउँपालिकाको हाटसिंजामा निर्माण हुने गरी शिलान्यास भएको अस्पताल ७ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।
कुल १८ करोड ५० लाख रुपैयाँको लागत स्टमेट भएपनि निर्माण कम्पनीले १५ करोड रुपैयाँमा ठेक्का लियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएपनि ठेक्का लिएको टिडीआर लक्ष्मी मजदुर निर्माण सेवाले पेश्की रकमसमेत लिएर बदमासी गरेपछि लामो समयदेखि कामले गति लिन सकेको छैन ।
कनकासुन्दरी–५ का २२ जना स्थानीयले ३५ सय वर्गमिटर जग्गा निःशुल्क दिएर अस्पताल निर्माण कार्य थालनी भएपनि निर्माण व्यवसायीको लापरबाहीले काम अघि नबढ्दा अस्पताल निर्माण अलपत्र परेको छ । गाउँमै विशेषज्ञ सेवा पाउने आशामा रहेका कनकासुन्दरीवासी सात वर्ष बितिसक्दा पनि अस्पताल निर्माण नभएपछि निराश भएका छन् । सघन सहरी विकास तथा भवन निर्माणको आयोजनाले यसमा प्राविधिक सहयोग गरेको थियो । समग्र अस्पताल निर्माण तथा भुक्तानीको पूरा जिम्मेवारी पालिकाकै रहेको छ । एकातिर ठेकेदारको लापरवाही र अर्कोतिर गाउँपालिकाले ताकेता नगर्दा वर्षौंसम्म अस्पताल निर्माण भएन ।
वर्षौंदेखि अलपत्र अस्पताल निर्माणले अहिले गति लिएको कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले बताए । ‘म आउँदा नै अस्पताल निर्माण अलपत्र थियो । ठेकेदार सम्पर्कमा थिएनन्,’ उनले भने, ‘म आएलगत्तै बुझ्दा मुख्य ठेकेदारको मृत्यु भएका कारण पनि निर्माण कार्य ढिला भएको रहेछ । पछि जुम्लाकै निर्माण व्यवसायी अर्जुनसिंह कठायतले जिम्मेवारी लिएपछि कामले गति लिएको छ । पहिलो तला ढलान हुँदैछ ।’
कठायतले अख्तियारीसमेत ल्याएपछि काम अघि बढेको छ । सुरुमा निर्माण व्यवसायीले १ करोड २८ लाख पेश्की लिएर काम अलपत्र पारेको थियो । पहिलो रनिङ बिल १ करोड ४ लाख भुक्तानी भइसकेको र दोस्रो रनिङ बिल ५५ लाखको भुक्तानी प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । सुरुवाती चरणमा मुख्य ठेकेदारको बदमासीका कारण अस्पताल निर्माण धेरै ढिला भएपनि अहिले म्याद थप गरेर तीव्र गतिमा निर्माण भइरहेको कनकासुन्दरी गाउँपालिकाले जानकारी दिएको छ ।
यस्तै, तिला गाउँपालिका–३ कुडारीमा निर्माणाधिन १० शय्या क्षमताको अस्पताल पनि अझै सम्पन्न भएको छैन । तिलामा १० शय्याको अस्पताल तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले २१ मंसिर २०७७ मा शिलान्यास गरेका थिए । अस्पताल २०७९ माघ मसान्तसम्म निर्माण सम्पन्न हुने सम्झौता थियो । तर, अहिले सात वर्ष बितिसक्दा पनि अस्पताल पूर्ण रुपमा सम्पन्न भएको छैन ।
संघीय सरकारको १२ करोड रुपैयाँ बजेटबाट निर्माण हुने उक्त अस्पताल समयमै सम्पन्न नहुँदा तिलावासी पनि निराश भएका छन् । स्थानीय नागरिकहरु गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको पर्खाइमा छन् । सम्झौता मितिभन्दा धेरै समय ढिला भएपछि गाउँपालिकाले पटक–पटक म्याद थप गरेर काम अघि बढाएको छ ।
तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले आफू निर्वाचित भएर आइसकेपछि मात्रै दुई पटक म्याद थप गरेको बताए । उनका अनुसार अस्पताल निर्माणका लागि खानी खड्का जेभी निर्माण सेवा र कमल जीत जेभी निर्माण सेवाले काम गरिरहेका छन् । उनले भने, ‘अहिले अस्पताल अन्तिम चरणमा छ । चालु आवको असारसम्म हस्तान्तरण गर्ने निर्माण कम्पनीले भनेको छ । अझै झ्याल–ढोका जोड्ने, रङरोगन गर्ने काम बाँकी छ । सबै काम सकेर चालु आवमै हस्तान्तरण गर्ने गरी काम भइरहेको छ ।’