२०८३ जेठ १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं

५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं

अत्याधुनिक प्रविधिसहित २०० शय्यामा अस्पताल सञ्चालनमा आउँदा थप २०० जनाले रोजगारी पाउने


काठमाडौं—धुम्बाराहीस्थित १०० शय्याको ह्याम्स अस्पताललाई ५० करोड रुपैयाँ लगानी थप गरेर २०० शय्यामा स्तरोन्नती गरिने भएको छ । अस्पतालले अत्याधुनिक प्रविधिसहित २०० शय्यामा स्तरोन्नतीका लागि झण्डै दुई रोपनी क्षेत्रफलमा अन्डरग्राउण्डसहित ८ तलाको नयाँ भवन निर्माण द्रुत गतिमा गरिरहेको छ ।

बिरामीको चाप, नयाँ टेक्नोलोजीसहित विभागहरुको विस्तार र लिजका घरबाट सञ्चालन रहेका सेवाहरु आफ्नै भवनमा व्यवस्थापन गर्नका लागि ५० हजार स्वाक्यर फिटमा अहिलेको मुख्य भवनसँगै नयाँ भवन निर्माण भइरहेको ह्याम्सका अध्यक्ष आर.एस. भण्डारीले जानकारी दिए । ‘बिरामीको चाप, शय्या अभाव र अहिलेको आधुनिक रोबर्टलगायतका नयाँ टेक्नोलोजीसहित विभाग एक्पान्सनका लागि भौतिक पूर्वाधार आवश्यक परेकाले हामीले नयाँ भवन बनाइरहेका छौं,’ उनले भने, ‘अहिले १०० शय्यामा रहेको अस्पताललाई २०० शय्या बनाउने उद्देश्यका साथ ५० हजार स्क्वायर फिटमा नयाँ एक्स्पान्स गरिरहेका छौं ।’

तीन महिनाअघिदेखि ह्याम्स अस्पतालले एक अन्डरग्राउण्डसहित ८ तलाको भवन निर्माण गरिरहेको छ । ‘तीन महिनादेखि हामीले अस्पतालको नयाँ भवन निर्माण गरिरहेका छौं,’ अध्यक्ष भण्डारीले भने, ‘आगामी चार महिनाभित्र निर्माण सकेर नयाँ भवनबाट विभागको सेवा प्रवाह गर्ने तयारी छ ।’

ह्याम्स व्यवस्थापनकाअनुसार नयाँ भवन निर्माणमा २५ देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यसबाहेक टेक्नोलोजी विस्तार गर्दा लगानी झण्डै ५० करोड रुपैयाँ हाराहारीमा पुग्ने अध्यक्ष भण्डारीले जानकारी दिए । ‘यसका लागि लगानीकर्ताबाट ह्याम्सले झण्डै ३५ करोड रुपैयाँ जुटाएको छ । त्यसबाहेक ह्याम्सको आईपीओ लाइनमा छ । त्यसबाट पनि २४ करोड रुपैयाँ जुटाउने योजना छ,’ उनले थपे ।

ह्याम्सले दुई वर्षअघि नै आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिइसकेको छ । ‘नेपालको इतिहासमा सेबोनको सबै मापदण्ड पूरा गरेर आईपीओ निष्कासनका लागि अनुमति माग्ने हामी पहिलो हस्पिटल हौं,’ आइतबार भण्डारीले हेल्थआवाजसँग भने, ‘हामीले आवेदन दिएको दुई वर्ष भइसक्यो । तर, अहिलेसम्म त्यो फाइल सेबोनमै छ । निर्णय भइसकेको छैन ।’ सबै मापदण्डहरु पूरा गरेर दर्ता गरिसकेपछि त्यसलाई अगाडि बढाउने कुरा सेबोनको रहेको र आफूहरु त्यसको प्रतीक्षामा रहेको उनको भनाइ छ ।

नयाँ भवनबाट सेवा सञ्चालनमा आएर अस्पताल २०० शय्यामा स्तरोन्नती भएपछि विभागहरुको एक्स्पान्सन, आईसीयु शय्या विस्तार, क्याबिन रुम थप र बाहिर लिजको भवनमा रहेका अस्पतालका संरचनाहरु नयाँ भवनमा स्थानान्तरण हुनेछन् । ‘अहिले भइरहेका केही विभागहरुमा एक्स्पान्सन चाहिएको छ,’ उनले भने, ‘गाइने विभागका शय्याहरु कम छन् । एउटा फ्लोर गाइने मात्रै राख्छौं, त्यहाँ लेबर रुमदेखि पेडियाट्रिक ओपीडीसम्मका सबै सुविधाहरु हुनेछन् । अहिले दिइरहेको सेवालाई अलि बृहत बनाएर लैजान्छौं ।’

अहिले ह्याम्समा सिंगल रुम पनि कम रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । नयाँ भवन सञ्चालनमा आएसँगै दुई फ्लोरमा २५—३० वटा सिंगल रुमहरु थप्ने योजना व्यवस्थापनको छ भने अहिलेको १९ शय्याको आईसीयुलाई विस्तार गर्ने उनले जानकारी दिए । त्यसबाहेक अहिले लिजको भवनमा रहेका वेलनेस, ड्रमा, फिजियोथेरापी, डेन्टल र प्रशासनिक ब्लकलाई पनि नयाँ भवनमा व्यवस्थापन गरिनेछ ।

ह्याम्सले अहिले २५ विभागमार्फत विशिष्टीकृत स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । अस्पतालमा हाल ८०० कर्मचारी कार्यरत छन् । नयाँ भवनसहित अस्पताल २०० शय्यामा स्तरोन्नती भएर सञ्चालनमा आउँदा थप २०० कर्मचारी थपिनेछन् ।

अध्यक्ष भण्डारीकाअनुसार १ लाख स्वाक्यर फिटमा रहेको हालको ह्याम्स अस्पतालको पूर्वाधारमा कोभिड—१९ का बेला पनि शय्या अभाव भएको थियो । ‘कोभिड—१९ का बेला पनि शय्या अभाव भयो,’ उनले भने, ‘अहिले पनि बिरामीको चापका कारण शय्या अभाव रहेकाले विस्तार अनिवार्य बन्न पुग्यो ।’ त्यही कारण ५० करोड रुपैयाँ लगानी थपेर अस्पतालको स्तरोन्नती गर्न लागेको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ