२०८३ असार ५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने

अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने


काठमाडौं—मुलुककै सबैभन्दा ठूलो मुटु रोग केन्द्रका रुपमा रहेको बाँसबारीस्थित शहीद गंगालाल हृद्धय केन्द्रले स्टेन्ट लगाउनुपर्ने बिरामीबाट १ लाख रुपैयाँ बाध्यकारी रुपमा अग्रिम जम्मा गर्नुपर्ने नियम लागु गरेको छ । विपन्न र असहाय नागरिकहरुका लागि भरोसाको केन्द्रमा रुपमा चिनिएको गंगालालले स्टेन्ट हाल्नुपर्ने बिरामीबाट प्रति स्टेन्ट १ लाख रुपैयाँ अग्रिम जम्मा गर्नुपर्ने बाध्यकारी नियम बनाइदिएको हो ।

२५ जेठमा केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमलाले आन्तरिक सर्कुलर जारी गर्दै प्रति स्टेन्ट १ लाख रुपैयाँ, २ वटा स्टेन्टका लागि २ लाख रुपैयाँ र ३ वटा स्टेन्टका लागि २ लाख ५० हजार रुपैयाँ अग्रिम जम्मा गर्नुपर्ने बाध्यकारी नियम बनाइदिएका हुन् । यसअघि गंगालाल हृद्धय केन्द्रमा स्टेन्ट राखिसकेपछि मात्रै बिरामीले भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको थियो ।

तर, डा. तिमला निमित्त कार्यकारी निर्देशक बनेर आएपछि एउटा स्टेन्ट राख्ने बिरामीले फार्मेसीमा एक लाख रुपैयाँ डिपोजिट गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । ‘यसअघि स्टेन्ट प्रयोग गरिसकेपछि मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था थियो,’ अस्पताल निकट स्रोतले हेल्थआवाजसँग भन्यो, ‘तर, उहाँ आएपछि प्रयोग हुनुभन्दा अगाडि नै एक लाख रुपैयाँ डिपोजिट लिनुपर्ने बाध्यकारी नियम बनाउनुभएको छ । अग्रिम लिने भएपनि सामानको मुल्य बराबर डिपोजिट लिनुपर्ने हो । तर, बिरामीलाई झण्डै १७ हजार अतिरिक्त भार थपिने गरी किन निर्णय गर्नुभयो थाहा भएन ।’

अस्पताल स्रोतकाअनुसार मुटुमा हालिने स्टेन्टको न्यूनमत ६३ हजार रुपैयाँदेखि अधिकतम ८३ हजार रुपैयाँसम्म मुल्य पर्ने गर्छ । निमित्त कार्यकारी निर्देशक डा. तिमलाले स्टेन्टको अधिकतम मुल्यभन्दा झण्डै १७ हजार बढी रुपैयाँ अग्रिम डिपोजिट गर्ने बाध्यता बिरामीमाथि थोपरिदिएका छन् । ‘यसले बिरामीलाई अग्रिम रुपमै अधिकतम खर्च जुटाउनुपर्ने बाध्यता सिर्जना गरिदिएको छ,’ अस्पताले स्रोतले भन्यो ।

निमित्त कार्यकारी निर्देशक डा. तिमलाले भने स्टेन्टको शुल्क तिर्ने कुरामा समस्या भएपछि यो व्यवस्था लागु गरिएको जानकारी दिए । ‘पछि पैसा नतिर्नेलगायतका समस्या भएपछि हामीले यो व्यवस्था लागु गरेका हौं,’ उनले भने, ‘पहिले पैसा तिर्नु र पछि पैसा तिर्नु उस्तै त हो ।’ डा. तिमलाले स्टेन्टको अधिकतम मूल्यभन्दा बढी अग्रिम डिपोजिट लिइएको विषयमा प्रश्न गर्दा बाँकी रकम पछि फिर्ता हुने भएकाले यसले बिरामीलाई कुनै समस्या नहुने तर्क गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ