२०८३ असार १९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारओपीडीको घडी र बिरामीको मुटुः चिकित्सा अभ्यासको कथा

ओपीडीको घडी र बिरामीको मुटुः चिकित्सा अभ्यासको कथा


चरक र सुश्रुतका पालामा घडी थिएन । सायद त्यसैले चिकित्सामा ‘समय’भन्दा बढी ‘संवेदना’को मूल्य थियो । तर, आज एक्काइसौं शताब्दीको आधुनिक ओपीडी कक्ष एउटा यस्तो अदृश्य कुरुक्षेत्र बनेको छ, जहाँ एकातिर समयको निर्मम सुई टिक–टिक गरिरहेको हुन्छ, अर्कोतिर रोग र त्रासले अत्तालिएको बिरामीको मुटु ढुकढुक गरिरहेको हुन्छ ।

चिकित्सकको मेचमा बस्दा मैले सधैँ एउटा अनौठो र निकै गहिरो विरोधाभास महसुस गर्ने गरेको छु । एउटा डाक्टरको ओपीडीको ढोका बाहिर र भित्रको संसार अत्यन्तै फरक र स्वार्थी हुन्छ । जबसम्म बिरामी ढोका बाहिर लाइनमा हुन्छ, उसलाई धेरै हतार हुन्छ । ‘अगाडिका बिरामीलाई डाक्टरले किन त्यति धेरै बेर हेरेको होला ? छिटो–छिटो सकाए मेरो पालो चाँडै आउँथ्यो ।’ भन्ने भावना प्रष्ट देखाइरहेका हुन्छन् । तर, जब त्यही बिरामी ढोका खोलेर भित्र पस्छ, उसको मनोविज्ञान १८० डिग्रीमा घुम्छ । अब उनी चाहन्छ, ‘डाक्टरले मेरा कुरा संसारकै सबैभन्दा फुर्सदिलो मान्छे बनेर सुनिदिऊन्, हतार नगरून्, नाडी छामुन् र मनको बह बिसाउन दिऊन् ।’

यो दोहोरो चरित्र हुनुमा बिरामीको दोष होइन, यो त मानवीय कमजोरी र स्वास्थ्यप्रतिको असुरक्षाको भावना हो । तर, यहीबाट चिकित्सा क्षेत्रको सबैभन्दा ठूलो संकट र संवादहीनता (कम्युनिकेशन ग्याप) को सुरुवात हुन्छ ।

समयको कसीमा अन्तर्राष्ट्रिय अभ्यास र हाम्रो धरातल

एउटा बिरामीलाई चिकित्सकले कति समय दिनैपर्छ ? यसको कुनै अकाट्य गणितीय सूत्र छैन । मैले ओपीडीमा नियमित बिमारी परीक्षण गर्छु । सबै बिमारीलाई उत्ति नै वा बराबर समय नचाहिदो रहेछ । कसैको गर्भमा रहेको बच्चाको धडकन सुन्न, अवस्था बुझ्न समय लाग्छ । कसैको पाठेघरको मुख (सर्भिक्स)को परीक्षण र त्यहाको अन्य परीक्षण्का लागि ‘स्याम्पल’ लिन समय लाग्ने हुन्छ । त्यसैलाई बढी त कसैलाई कम समय लाग्ने हुन्छ । चिकित्सा विज्ञानको इतिहास र अन्तर्राष्ट्रिय अभ्यासहरुले पनि केही मापदण्डहरू कोरेका छन् ।

सन् २०१७ मा बिएमजे ओपेन जर्नलमा मार्क कूक र उनका सहकर्मीहरूले संसारका ६७ देशका ओपीडी परामर्श समयको अध्ययन प्रकाशन गरेका थिए । ती अध्ययनका केलाउँदा विकसित र विकाशोन्मुख देशहरूबीचको खाडल डरलाग्दो देखिन्छ । विकसित मुलुकहरु (स्वीडेन, नर्वे र अमेरिकाजस्ता) मा स्वास्थ्य प्रणाली बलियो छ । त्यहाँ एकजना बिरामीका लागि औसत समय २० देखि २२ मिनेट सुरक्षित राखिन्छ । ‘युके’को राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा यो समय करिब १० मिनेट छ । त्यहाँ ‘अपोइन्टमेन्ट’ प्रणाली यति कडा हुन्छ कि चिकित्सकले आफ्नो दैनिक क्षमताभन्दा एकजना पनि बढी बिरामी हेर्नु पर्दैन ।

यसको ठीक विपरित, जनघनत्वको सुनामी झेलिरहेको दक्षिण एसियाको चित्र कहालीलाग्दो छ । उक्त अध्ययनकाअनुसार भारतका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा ओपीडी समय औसत दुई मिनेट छ । बंगलादेशमा त यो समय झरेर मात्र ४८ सेकेन्डमा खुम्चिएको छ । नेपालमा सरकारी र ठूला वा शिक्षण अस्पतालहरूको ओपीडीको यथार्थ हामीले अनुभव गरेकै छौं । बिहान ९ बजेदेखि दिउँसो करिब २ बजेसम्मको ५ घण्टा (३०० मिनेट)मा अन्य आकस्मिक कक्षका विमारी, अन्तरंग (वार्डका) बिमारी हेरेर पनि न्यूनतम ८० देखि १०० जना बिरामी जाँच्नुपर्ने बाध्यता छ । त्यसदिन आएका बिमारीलाई हेर्न पाइन भन्न पाउने अवस्था छैन । त्यसैले एउटा बिरामीको भागमा २–३ मिनेटभन्दा बढी समय पर्दैन । तीन मिनेटमा बिरामीको पुर्जी हेर्ने कि, इसारा बुझ्ने कि, रक्तचाप नाप्ने कि, औषधि लेख्ने कि, या काउन्सिलिङ गर्ने ? यो ‘फास्ट फुड’जस्तो ओपीडी अभ्यासले चिकित्साको गरिमा र बिरामीको स्वास्थ्य दुवैलाई धरापमा पारिरहेको छ भन्दा फरक नपर्ला ।

अनि यो समयको चेपुवामा अर्को समस्या पनि थपिन्छ । बिरामीको ‘अनावश्यक गन्थन’ । कतिपय बिरामीहरू ओपीडी कक्षमा छिरेपछि मुख्य लक्षण र समस्याहरु भन्नुको साटो, ‘१० वर्ष अगाडि माइत जाँदा देब्रे कोखा दुःखेको थियो, हिजो राती सपनामा ऐंठन भएको’जस्तो कथाहरु सुनाउन थाल्छन् । उनीहरूले अनावश्यक कुराले समय खाइदिन्छन् । चिकित्सकले जान्नैपर्ने ‘रगत कहिलेदेखि बगेको, छाती दुखेको वा ज्वरो आएको’जस्ता मुख्य कुरा भन्नै बिर्सिन्छन् वा अन्तिममा ढोकाबाट निस्कने बेला मात्र भन्छन् । यसले बिमारीको समय खाने र चिकित्सकलाई ‘इरिटेट’ गर्ने बाहेक केही गर्दैनन् ।

समस्या कहाँ छ त ?

हामीले ओपीडीलाई किन व्यवस्थित गर्न सकिरहेका छैनौँ त ? यसका पछाडि तीन वटा मुख्य नीतिगत र व्यवहारिक चुनौतीहरू छन् । पहिलो त रेफरल प्रणालीको व्यवस्थापन गर्न नसक्नु नै हो । सामान्य रुघाखोकी, ग्यास्ट्रिक वा हल्का ज्वरो आएको बिरामी पनि सिधैं मेडिकल कलेज वा सुपर–स्पेशलिष्ट कन्सल्टेन्ट कहाँ पुग्छन् । त्यस्ता केस प्राथमिक स्वास्थ्य केन्द्र, मेडिकल अफिसर वा जुनियर डाक्टरले सहजै व्यवस्थापन गर्न सक्थे । त्यस्ता केसहरु पनि सिनियरको टेबलमा पुग्ने गरेकाले भीड नियन्त्रण बाहिर गएको देखिन्छ ।

दोस्रो ‘टास्क सिफ्टिङ’ र सहयोगी जनशक्तिको खडेरी हो । डाक्टरको मुख्य काम रोगको निदान र उपचारको योजना बनाउनु हो । तर, नेपालमा धेरैजसो अवस्थामा बिरामीको रक्तचाप नाप्ने, तौल लिने, थप रगत तथा अन्य परिक्षणहरु गर्न कहाँ जाने ? औषधिको मात्रा कसरी खाने भनेर बुझाउने सबै काम डाक्टरकै थाप्लोमा राखिदिन्छन् । अझ विभिन्न कागजातमा सही गर्ने, सिफारिस गर्नेजस्ता काम पनि ओपीडीमा नै गर्नुपर्ने भइदिन्छ ।

तेस्रो बिमारीको गोपनीयता र मर्यादाको ख्याल राख्न नसक्नु पनि हो । हाम्रा अधिकांश सरकारी अस्पतालका ओपीडी कोठाहरूमा एउटा बिरामीको जाँच भइरहँदा झ्याल, ढोका र टेबलको वरिपरि अरू पाँचजना बिरामी पुर्जी लिएर उभिरहेका हुन्छन् । यस्तो वातावरणमा एउटा बिरामीले आफ्नो भित्री समस्या खुलेर डाक्टरलाई भन्नै सक्दैन् । अनि कतिपय प्रमुख कुरा बुझ्न र बिमारीको शारीरिक परीक्षण गर्न अप्ठ्यारो हुने हुन्छ ।

समाधानको मार्गचित्र

यो समस्याको समाधान केवल डाक्टरलाई गाली गरेर वा बिरामीलाई हप्काएर सम्भव छैन । यसका लागि हामीले प्रणालीमा नै ‘मांसपेशी’ भर्नुपर्छ । बिरामी कन्सल्टेन्टको कोठामा छिर्नुअघि नै एउटा प्रशिक्षित नर्स वा प्यारामेडिक्सको टोलीले उनको प्राथमिक जाँच गरिसक्नुपर्छ । बिरामीको उमेर, तौल, रक्तचाप, नाडीको गति र मुख्य समस्या एउटा संक्षिप्त ‘चेकलिस्ट’ मा रेकर्ड भइसकेको हुनुपर्छ । जब बिरामी यो फाइल बोकेर डाक्टर कहाँ पुग्छ, डाक्टरको प्रारम्भिक ५० प्रतिशत समय बचत भइसकेको हुन्छ र उनले सोझै मुख्य रोगमा केन्द्रित हुन पाउँछन् ।

यसले रोगको गम्भीरताअनुसार वर्गीकरण गर्न पनि मद्दत हुन्छ । यसका साथै मेडिकल अफिसर वा जुनियर डाक्टरहरूले बिरामीको स्क्रिनिङ गर्ने र जटिल वा आवश्यक केसहरूलाई मात्र सिनियर कन्सल्टेन्ट कहाँ रेफर गर्ने कानुनी र व्यवहारिक थिती बसाल्नुपर्छ । यसले जुनियर चिकित्सकहरूको क्लिनिकल क्षमता र समाजमा उनीहरूको विश्वास पनि बढाउँछ र सिनियरको टेबलमा अनावश्यक भीड पनि लाग्दैन ।

बिरामीहरुको ओपीडी साक्षरता बढाउनु पर्छ । अस्पतालको भित्ता र डिजिटल डिस्प्लेहरूमा ‘डाक्टरलाई भेट्दा समयको सदुपयोग कसरी गर्ने ?’ भन्नेबारे चेतनामूलक सन्देशहरू राख्नुपर्छ । ‘आफ्नो मुख्य समस्या पहिले भन्नुहोस्, खाइरहेको औषधिको लिस्ट र कागजातहरु साथै ल्याउनुहोस्’ जस्ता सामान्य कुराहरू बिरामीलाई बुझाउन सके, उनीहरूले भित्र छिरेर अनावश्यक गन्थनमा समय बर्बाद गर्दैनन् ।

सबैभन्दा महत्वपूर्ण ‘जति धेरै टिकट, उति धेरै पैसा’ भन्ने व्यापारिक मानसिकता वा ‘सबै आएका बिरामीलाई सरकारी अस्पतालमा त्यसै दिन जाँच्नुपर्ने’ राजनीतिक दबाब दुवै घातक हुन् । एउटा चिकित्सकले एक घण्टामा बढीमा ६ देखि ८ जना (औसत ७–१० मिनेट प्रति बिरामी)भन्दा बढी हेर्न नसक्ने गरी कोटा प्रणाली लागु गर्नुपर्छ । डाक्टरलाई हरेक बिमारीको परीक्षणपछि पाउज हुन पाउने समय दिइनु पर्छ । आधुनिक प्रविधिको प्रयोग गरी ‘अनलाइन अपोइन्टमेन्ट’ र निश्चित टाइम–स्लट दिने हो भने ओपीडीको भीड अस्पतालमा होइन, अनलाइनमै व्यवस्थापन हुन्छ । र हरेक ‘भिजिट’ गुणस्तरीय बन्छ ।

‘चिकित्सा केवल ‘स्टेथस्कोप र प्रेस्क्रिप्सन’को फलामे विज्ञान मात्र होइन, यो त दुई वटा मानवबीचको संवेदना र विश्वासको एउटा पुल हो,’ फ्रान्सका प्रख्यात दार्शनिक तथा लेखक भोल्टेयरले भनेका थिए ।

‘चिकित्सा विज्ञानको कला भनेको बिरामीको मन बहलाएर राख्नु हो, जबसम्म प्रकृतिले रोग आफैं निको पार्दैन ।’ अब मन बहलाउन मात्र त भन्न नमिल्ला । तर, ओपीडीमा आउने बिरामी कुनै निर्जीव ‘फाइल नम्बर’ वा ‘ओपीडी टिकट’ मात्र होइनन् । उनीहरू रोगको पीडा र मृत्युको भयले अत्तालिएका जीवित मानिस हुन् । डाक्टरको दुई मिनेटको शान्त र ध्यानपूर्ण श्रवण अनि एउटा आत्मीय मुस्कानले मात्रै पनि बिरामीको आधा रोग र मानसिक तनाव सन्चो भइसकेको हुन्छ भन्ने यर्थातलाई नकार्न सक्दैनौं ।

डाक्टर कुनै ‘सुपरह्युमन’ वा ढुङ्गाको मूर्ति होइनन् । बिरामीको अनियन्त्रित चापको सुनामीमा लगातार ५ घण्टा पौडी खेल्दा उनीहरूको पनि मानसिक र शारीरिक ऊर्जा ‘बर्नआउट’ हुन्छ । एकातिर ‘छिटो हेरिदियोस् तर धेरै समय दियोस्’ भन्ने बिरामीको विरोधाभाषी चाहना र अर्कोतिर ‘धेरै बिरामी हेरिदिनुपर्ने’ अस्पताल प्रशासनको रहरबीचको सन्तुलन मिलाउन आवश्यक छ । यसका लागि संरचनात्मक र नीतिगत शल्यक्रिया नै एकमात्र विकल्प हो ।

जबसम्म हामी ‘परिमाणभन्दा गुणस्तर’लाई अंगाल्न सक्दैनौं, तबसम्म हाम्रा ओपीडीहरू आत्मीय उपचारका मन्दिर होइन, केवल एउटा यान्त्रिक र व्यस्त बजार मात्र रहिरहनेछन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ