काठमाडौं—विभिन्न १५ वटा मेडिकल कलेज तथा प्रतिष्ठानहरुले नेपाल मेडिकल काउन्सिलको २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको पाइएको छ । काउन्सिल स्रोतकाअनुसार १५ वटा मेडिकल कलेजले भर्ना वापत र अन्य विभिन्न शीर्षकमा काउन्सिलमा बुझाउनुपर्ने २ करोड ७५ लाख ५७ हजार रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।
हेल्थआवाजलाई प्राप्त विवरणअनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५८ लाख ७० हजार रुपैयाँ, चितवन मेडिकल कलेजले १२ लाख २० हजार रुपैयाँ, कलेज अफ मेडिकल साइन्सेज चितवनले ६८ लाख ७५ हजार रुपैयाँ, जानकी मेडिकल कलेजले २० लाख २० हजार रुपैयाँ, काठमाडौं मेडिकल कलेजले ७ लाख रुपैयाँ शुल्क काउन्सिललाई तिर्न बाँकी छ ।
यसैगरी, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजले १० लाख ७५ हजार रुपैयाँ, मणिपाल मेडिकल कलेजले १२ लाख ५१ हजार रुपैयाँ, किष्ट मेडिकल कलेजले २२ लाख ४२ हजार रुपैयाँ, एमबी केडिया डेन्टल कलेजले ४ लाख रुपैयाँ, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान २ लाख रुपैयाँ, नेपाल मेडिकल कलेजले १८ लाख ९५ हजार रुपैयाँ, नोबेल मेडिकल कलेजले ८ लाख ७५ हजार रुपैयाँ, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले १८ लाख ९९ हजार रुपैयाँ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ८ लाख ३६ हजार रुपैयाँ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ लाख २४ हजार काउन्सिललाई भुक्तानी दिन बाँकी छ ।
१८ जेठको काउन्सिलका पूर्ण बैठकले बर्क्यौता रकम नबुझाउने प्रतिष्ठान, मेडिकल कलेज तथा डेन्टल कलेजहरुलाई पुनः पत्राचार गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार काउन्सिलले तिर्नुपर्ने रकम समेत उल्लेख गरेर ताकेता गरिसकेको काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । यसअघि काउन्सिलले २७ चैत २०८२ र २४ बैशाख २०८३ मा पनि तिर्नुपर्ने रकम भुक्तानी गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो ।
तर, सार्वजनिक सूचना र पुनः पत्राचारलाई समेत वेवास्ता गरी केही प्रतिष्ठान, मेडिकल र डेन्टल कलेजले काउन्सिललाई तिर्नुपर्ने रकम तिरेका छैनन् । जसका कारण बिहीबार पुनः काउन्सिलले रकम भुक्तानी गर्न ताकेता गर्दै तोकिएको समयभित्र बाँकी बक्र्यौता रकम भुक्तानी नगर्ने प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरुको पूर्व सूचना बमोजिम नै सम्बन्धित कलेजका विद्यार्थीहरुको परीक्षण दर्ता, विदेशी नागरिक चिकित्सक, शिक्षकहरुको दर्ता प्रक्रिया रोक्का गर्ने चेतावनी काउन्सिलले दिएको छ ।
