काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले १०० दिनको प्रगति रिपोर्ट सार्वजनिक गरेकी छन् । शनिबार कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्री मेहताले आफ्नो प्रगति रिपोर्ट सार्वजनिक गरेकी हुन् ।
मेहताले स्वास्थ्य सेवामा ३० वर्षमा ९७७ नयाँ दरबन्दी थप गरिएको आफ्नो सबैभन्दा ठूलो उपलब्धिका रुपमा उल्लेख गरेकी छन् । यस्तै, २१७ अस्पतालमा ३ हजार २५५ शय्या निःशुल्क व्यवस्था गरेको, २ हजार २६२ विपन्न र लक्षिण वर्गलाई निःशुल्क उपचार उपलब्ध गराएको प्रगति विवरणमा उल्लेख छ ।
यस्तै, आयुर्वेदिक, होमियोप्याथी र नेचुरोप्याथी अध्ययन गरेका स्वास्थ्यकर्मीलाई दर्ता हुने व्यवस्था मिलाइएको, अस्पताल सेवा सुधार, जलन उपचार, र बिरामी प्रेषण निर्देशिकालगायत आठ वटा नयाँ कार्यविधि तथा मापदण्डहरू लागू गरिएको, सरकारी अस्पतालको अतिक्रमित जग्गा संरक्षण अभियान र कर्मचारी आचारसंहिता, २०८३ कार्यान्वयनमा ल्याइएको, ३२ ब्लड बैक अनलाइन गरिएको, बिरामीको स्वास्थ्य रिपोर्ट जुनसुकै अस्पतालबाट हेर्न सकिने डिजिटल प्रणाली स्वीकृत गरिएको, सुलभ फार्मेसी सेवा सुरु गरिएको, जलनका बिरामीका लागि २० करोडको कोष सुनिश्चित गरिएको प्रगति विवरणमा छ ।
मन्त्री मेहताले आपतकाली बिरामी उद्धारका लागि ११ हेलिकप्टर कम्पनीसँग सम्झौता गरिएको, स्वास्थ्य बीमाको १८ अर्ब ५८ करोड भुक्तानी दिइएको, मानसिक स्वास्थ्य र जनगुनासोका लागि हटलाइन सञ्चालनमा ल्याइएको र हाई अल्टिच्युड क्लिनिक स्थापनाको तयारी अगाडि बढेको आफ्नो उपलब्धिमा उल्लेख गरेकी छन् ।
मन्त्री मेहताका उपलब्धिहरू