नयाँदिल्लीस्थित मेदान्तको आकर्षक जागिर छाडेर स्वदेश फर्किएका डा. वीरेन्द्र भगत रोबोटिक तथा ल्याप्रोस्कोपिक गाइनोकोलोजिस्ट तथा गाइनो–अंकोलोजिष्ट (महिला प्रजनन अंगसम्बन्धी क्यान्सर रोग विशेषज्ञ) हुन् । नेपालीहरुको सेवा गर्ने उद्देश्यका साथ फर्किएका उनको महिला स्वास्थ्य, महिला प्रजनन अंगसँग सम्बन्धित क्यान्सरको उपचार, जटिल शल्यक्रिया तथा अत्याधुनिक रोबोटिक सर्जरीमा विशेष दक्षता छ । युवा उमेरमै उत्कृष्ट शैक्षिक उपलब्धि, अन्तर्राष्ट्रिय अनुभव, अत्याधुनिक रोबोटिक शल्यक्रियामा विशेषज्ञता तथा नेपालमै गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिबद्धताका कारण डा. भगत नेपाली रोबोटिक गाइनोकोलोजिकल सर्जरीका क्षेत्रमा आशालाग्दा विशेषज्ञ चिकित्सकका रूपमा स्थापित हुँदै गएका छन् ।
आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षित, प्रभावकारी र गुणस्तरीय उपचार प्रदान गर्दै आएका डा. भगतको जन्म वि.सं. २०४६ साल असार ७ गते धनुषा जिल्लाको बलवा नगरपालिका–२ मा भएको हो । लक्ष्मीनारायण भगत र इन्दिरा देवी भगतका चार सन्तानमध्ये उनी माइला हुन् । उनका बुवा कृषि ज्ञान केन्द्रमा सरकारी सेवामा कार्यरत थिए ।
डा. वीरेन्द्रले प्रारम्भिक शिक्षा धनुषास्थित मोनास्टिक हाइस्कुलबाट विशिष्ट श्रेणीमा उत्तीर्ण गरे । त्यसपछि काठमाडौंको निस्ट कलेज लैनचौरबाट विज्ञान संकायमा विशिष्ट श्रेणीसहित उच्च माध्यमिक शिक्षा पूरा गरे । उच्च माध्यमिक अध्ययनका क्रममा उनले गणित र बायोलोजी दुवै विषय अध्ययन गरेका थिए, जसले उनलाई इन्जिनियरिङ र चिकित्सा दुवै क्षेत्रमा अघि बढ्ने अवसर प्रदान गरेको थियो ।
उनको भारतको प्रतिष्ठित नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजीमा पूर्ण छात्रवृत्तिसहित इन्जिनियरिङ अध्ययनका लागि नाम निस्किएको थियो । तर, मानिसको प्रत्यक्ष सेवा गर्ने दृढ उद्देश्यका कारण डा. वीरेन्द्रले इन्जिनियरिङभन्दा चिकित्सा क्षेत्र रोजे । उनले सन् २००९ देखि २०१५ सम्म विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आंशिक छात्रवृत्तिमा एमबीबीएस अध्ययन पूरा गरे । एमबीबीएस सम्पन्न गरेको करिब तीन महिनामै पूर्ण छात्रवृत्तिमा एमडी अध्ययनका लागि पिजिआई चण्ढीगढमा नाम निकाल्न सफल भए ।
डा. भगत स्त्री तथा प्रसूति रोगमा पिजीआईमा पिजी अध्ययन सुरु गरे । स्त्रीरोग तथा प्रसूति रोगमा पिजीमा रोज्नुको कारण यसमा मेडिसिन र सर्जरी दुवै पक्षको समन्वय हुनु भएको उनी बताउँछन् । ‘बिरामीको उपचारदेखि जटिल शल्यक्रियासम्म प्रत्यक्ष भूमिका निर्वाह गर्न सकिने भएकाले मैले यो विषयलाई आफ्नो विशेषज्ञताको क्षेत्र बनाए,’ उनले भने ।
एमडी अध्ययन सम्पन्न गरेपछि सन् २०१८ मा डा. भगत नेपाल फर्किएर करिब डेढ वर्ष नेशनल मेडिकल कलेज वीरगन्जमा सह–प्राध्यापकका रूपमा सक्रिय रहे । त्यसपछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पूर्ण छात्रवृत्तिमा गाइनो–अंकोलोजी फेलोसिप गर्ने अवसर पाए । फेलोसिप सम्पन्न गरेपछि झण्डै दुई वर्ष उनले झापा विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा महिला क्यान्सर रोग विशेषज्ञका रूपमा सेवा पु¥याए ।
डा. वीरेन्द्र भारतको प्रतिष्ठित मेदान्त अस्पतालमा अनलाइन आवेदनमार्फत पूर्णकालीन कन्सल्टेन्ट गाइनो–अंकोलोजिष्टका रुपमा छनोट भए । त्यसपछि भारत पुगेका उनले मेदान्तमा दुई वर्ष बिताए । नेपाली चिकित्सकहरू प्रायः तालिम वा फेलोसिपका लागि मात्र विदेश जाने अवस्थामा डा. वीरेन्द्र भने कन्सल्ट्यान्टका रूपमा काम गर्न मेदान्त गएका थिए ।
मेदान्त अस्पतालमा कार्यरत रहँदा उनले रोबोटिक सर्जरी सम्बन्धी अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरे । त्यहाँ कार्यरत रहँदा उनले एसिया तथा अफ्रिकाका विभिन्न देशका बिरामीहरूको उपचार गर्ने अवसर पाए । मेदान्तमा काम गर्दा क्यान्सर ओपीडी तथा शल्यक्रियाका लागि आउने बिरामीमध्ये २० प्रतिशतभन्दा बढी नेपाली बिरामी रहने गरेको उनले बताए ।
आफ्नो ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभव नेपालमै प्रयोग गर्ने उद्देश्यका साथ डा. वीरेन्द्र दुई वर्ष मेदान्तमा काम गरेपछि नेपाल फर्किएका हुन् । नेपाल फर्किएको तीन महिनामै उनले चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । पछिल्ला दुई महिनामै उनको नेतृत्वमा चितवन मेडिकल कलेजमा क्यान्सर तथा नन–क्यान्सर गरी १० वटा सफल रोबोटिक शल्यक्रिया सम्पन्न भइसकेका छन् ।
यसका अतिरिक्त उनले धनुषा जिल्लामा आफ्नै अस्पताल सञ्चालन गरिरहेका छन् । प्रत्येक महिनामा दुई पटक धनुषा पुगेर स्थानीय बिरामीहरूलाई विशेषज्ञ सेवा प्रदान गर्नु उनको नियमित कार्यतालिकाको हिस्सा बनेको छ ।
निःसन्तान रोग विशेषज्ञ डा. स्वाती जैसवालसँग विवाह बन्धनमा बाँधिएका डा. भगतको एक छोरा छन् । चिकित्साशास्त्रको अध्ययनसँगै डा. भगत खेलकुदमा पनि उत्तिकै सक्रिय छन् । एमबीबीएसदेखि एमडी अध्ययन अवधिसम्म उनी आफ्नो क्रिकेट टोलीका कप्तान थिए । क्रिकेटबाहेक ब्याडमिन्टन, टेबल टेनिस तथा पौडी खेलप्रति पनि उनको विशेष रुचि छ ।