काठमाडौ—नेपालकै एक मात्रै स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा रहेको कैलाली गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका छन् । बुधबार शिक्षा तथा खेलकूद मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेटले उपकुलपतिमा प्रा.डा. जोशीलाई नियुक्त गरेको हो ।
जोशी विश्वविद्यालयका संस्थापक उपकुलपति पनि हुन् । संस्थापक उपकुलपतिका रहँदा उनले सक्रियताका साथ काम गर्दै विश्वविद्यालय सञ्चालनका लागि बलियो आधार तयार पारेका थिए । जसमा विश्वविद्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार, ९ वटा आवश्यक कानुन पनि उनकै पालामा बनाइएको थियो । त्यसबाहेक प्रा.डा. जोशीले एमबीबीएससहित चिकित्सा शिक्षाका ४ वटा कार्यक्रम सञ्चालनका लागि पनि तयारी अगाडि बढाएका थिए ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति हुनुअघि प्रा. डा. जोशी काठमाडौं मेडिकल कलेजका कम्युनिटी मेडिसिनका प्राध्यापक थिए ।साथै, विभिन्न विश्वविद्यालयहरुमा भिजिटिङ प्रोफेसरका रुपमा समेत काम गर्दै आएका छन् । यसका अलावा डा. जोशीसँग लामो अनुसन्धानको अनुभव समेत छ । उनका अनुसन्धानहरु विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् ।
यस्तै, विश्वविद्यालयको राजिष्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन् । काठमाडौं मेडिकल कलेज स्थापना गर्न भूमिका खेलेका डा. चन्दले हस्पिटल म्यानेजमेन्टमा पिएचडी गरेका छन् । उनले काठमाडौं मेडिकल कलेजमा १६ वर्षसम्म प्रशासन प्रमुख, लेखा प्रमुख र प्रशासकीय प्रमुखका रुपमा काम गरेका थिए ।
डा. चन्दसँग एक कार्यकाल मेडिकल काउन्सिलको सदस्य भएर इथिकल कमिटीको संयोजकका रुपमा समेत काम गरेको अनुभव छ । उनी पछिल्ला १२ वर्षदेखि पिपुल्स डेन्टल कलेजको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को भूमिकामा थिए ।
उनले आफू शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुरुवाती समय शंकाराचार्यको समयदेखि नै गेटामा विश्वविद्यालयसँग जोडिएको बताए । ‘पछि मैले भौतिक पूर्वाधार निर्माणको टेक्नीकल कमिटीमा रहेर पनि काम गरे,’ उनले भने । पछिल्लो समय गेटालाई विश्वविद्यालयका बनाउनका लागि आफूले पहलकदमी लिएको पनि उनले जानकारी दिए ।
यसअघि डा. चन्द विश्वविद्यालयको कार्यकारी परिषद्मा समेत थिए । त्यहाँ रहँदा विश्वविद्यालयको ओएनएम र ९ वटा कानुन बनाउन पनि महत्वपूर्ण भूमिका निभाएका थिए ।
गत बैशाखमा सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारी पदमुक्त गरेको थियो । त्यसपछि सरकारले ढिलो गरी नयाँ पदाधिकारी नियुक्तिको लागि सिफारिस समिति गठन गरेको थियो । विश्विद्यालयको ऐनअनुसार गठित सिफारिस समितिमा प्रा.डा. जयराज अवस्थी, प्रा. डा. लोचना श्रेष्ठ र प्रा.डा. दिनेशकुमार लम्साल सदस्य रहेका थिए । उक्त समितिबाट प्रा.डा. लोचना श्रेष्ठले राजीनामा दिएपछि प्रा.डा. शैलु प्रधानलाई मनोनित गरिएको थियो ।
समितिले असार दोस्रो साता नै उपकुलपति र रजिष्ट्रार नियुिक्तका लागि सिफारिस गरेको थियो ।