२०८३ साउन १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु


विराटनगर—विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गतको विराट क्यान्सर इन्स्टिच्युटले पूर्वी नेपालमै पहिलो पटक थोरासिक अंकोसर्जरी (फोक्सो तथा छाती सम्बन्धी क्यान्सरको शल्यक्रिया) सेवा सुरु गरेको छ ।

यससँगै फोक्सोको क्यान्सरका जटिल शल्यक्रियाका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता हट्ने हस्पिटलले जनाएको छ ।

यस सेवाको नेतृत्व जीआई–एचपीबी अंकोसर्जन, ब्रेस्ट अंकोसर्जन तथा साइटोरिडक्टीभ एण्ड हाइपेक सर्जन डा. शिवराज शर्माले गरेका छन् । उनले भारतको टाटा मेडिकल सेन्टर, कोलकताअन्तर्गतको थोरासिक अंकोसर्जरी विभाग र चीनको सांघाई पल्मोनरी अस्पतालबाट युनिपोर्टल भ्याट्स एण्ड ¥याट्स सम्बन्धि प्रतिष्ठित फेलोसीप तालिम सफलतापूर्वक सम्पन्न गरी विराट क्यान्सर इन्स्टिच्युटमा पुनः आफ्नो सेवा सुरु गरेका हुन् ।

हस्पिटलमा वरिष्ठ फोक्सो एवं श्वासप्रश्वास तथा निद्रा रोग विशेषज्ञका रुपमा प्रा. डा. पुरु कोइराला र डा. रेजिना शाही रहेका छन् । फेलोसीपबाट प्राप्त आधुनिक ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभवका आधारमा अब बीसीआईमा फोक्सोको क्यान्सरसँगै छाती सम्बन्धी विभिन्न क्यान्सरका जटिल शल्यक्रिया विशेषज्ञ सेवासहित उपलब्ध रहेको अस्पतालले जनाएको छ । टिममा अंको सर्जन डा. जगरनाथ चौधरी, अंको एनेस्थेसियोलोजिस्ट डा. रुजन बम र अंको–फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ रहेका छन् ।

विराट क्यान्सर इन्स्टिच्युटमा यसअघि नै सर्जिकल अंकोलोजी, मेडिकल अंकोलोजी तथा हेमाटोलोजी, क्लिनिकल अंकोलोजी, रेडिएसन अंकोलोजी, किमोथेरापी र न्युक्लियर मेडिसिन, इन्टरभेन्सनल रेडियोलोजीलगायतका सेवा सञ्चालनमा रहेका छन् । थोरासिक अंको सर्जरी सेवा थपिएसँगै संस्थाले पूर्वी नेपालका बिरामीलाई अझ व्यापक र समग्र क्यान्सर उपचार उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

फोक्सोको क्यान्सरको शल्यक्रिया दूरबिन (भ्याट्स) प्रविधिबाट गरिने र निकट भविष्यमा रोबोटिक सर्जरीसमेत सुरु गर्ने डा. शर्माले बताए । यसैगरी, श्वासप्रश्वास नली नजिकको गिर्खा पत्ता लगाउन इबस (EBUS) जाँच सेवा पनि उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा क्यान्सर सम्बन्धी अनुभवी चिकित्सकहरूको टिम रहेकाले अब पूर्वी नेपालका बिरामीले जटिल शल्यक्रियाका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने हस्पिटलको विश्वास छ ।

अस्पताल प्रशासनका अनुसार अन्तर्राष्ट्रियस्तरको फेलोसीप तालिम लिएका अंकोसर्जनदेखि अंको एनेस्थेसियोलोजिस्ट र अंको–फिजियोथेरापिस्टसम्मको समर्पित टिम एकै ठाउँमा उपलब्ध हुनु विराटको सबैभन्दा ठूलो विशेषता हो । साथै, सर्जिकल, मेडिकल, क्लिनिकल तथा रेडिएसन अंकोलोजी, किमोथेरापी, न्युक्लियर मेडिसिन र अब थोरासिक अंको सर्जरीसमेत एकै संस्थामा उपलब्ध हुँदा बिरामीलाई उपचारका लागि यता र त्यता धाउनुपर्ने झन्झट पर्दैन् । हस्पिटलमा फोक्सोको क्यान्सर, छातीको ट्युमर, खाद्य नली, पेट, पित्तनली र मलद्वारसम्बन्धी लगायत शल्यक्रिया गरिन्छ ।

दूरबिन (भ्याट्स) प्रविधिबाट हुने शल्यक्रिया र निकट भविष्यमा थपिने रोबोटिक सर्जरी सुविधाले ठूला सहरका अस्पतालमा मात्र पाइने आधुनिक उपचार अब पूर्वी नेपालमै सुलभ बनाएको छ । इबस जस्ता जाँच सेवाले फोक्सो तथा श्वासप्रश्वास नली नजिकको गिर्खा प्रारम्भिक अवस्थामै पत्ता लगाउन सघाउने भएकाले उपचार सफलताको सम्भावना पनि बढ्ने चिकित्सकहरूको भनाइ छ । यसबाहेक, काठमाडौं वा विदेश धाउनु नपर्दा बिरामी र तिनका परिवारको यात्रा खर्च, समय र मानसिक तनाव समेत घट्ने हस्पिटलको दाबी छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ